सीमावर्ती बजारमा नेपालीकाे दसैं किनमेल : वारि सुखा, पारि ठेलमठेल – Nepal Press

सीमावर्ती बजारमा नेपालीकाे दसैं किनमेल : वारि सुखा, पारि ठेलमठेल

रुपन्देही । चाडपर्व लागेसँगै सीमा क्षेत्रका भारतीय बजार गुल्जार हुन थालेका छन् । दसैं सुरु भएसँगै भारतीय बजारको रौनक नै बेग्लै छ । तर सीमा क्षेत्रकै नेपाली बजारमा चहलपहल देखिँदैन ।

रुपन्देहीको मात्रै भारतसँग ६० किलोमिटर खुला सीमा छ । रुपन्देहीलगायत आसपासका जिल्लाका सर्वसाधारण दसैंको किनमेलका लागि दिनहुँ सीमावर्ती भारतीय बजार धाइरहेका छन् । चाडबाडको बेला भारतीय बजारमा पाइला टेक्ने ठाउँसम्म हुँदैन ।

स्थानीयका अनुसार सुनौलीको मुख्य सडकमै ठेलमठेल हुने गरेको छ । बजारमा ओहोरदोहोर गर्ने ग्राहकका कारण सवारीसाधन घण्टौं जाममा पर्छ । भारतका मुख्य र भित्री पसलमा नेपाली ग्राहकबीच धकेलाधकेलसम्म हुन्छ । गएको शनिबारयता सुनौलीमा थामिनसक्नु भीड लागेको छ ।

‘एकदिनमै करोडौं रुपैयाँ बाहिरियो’, भैरहवाबाट सुनौली बजार किनमेलमा गएका सुशान्त घिमिरे भन्छन्, ‘केही सस्तो पाइने लोभमा म पनि आएँ । तर, सोचेजस्तो छैन ।’

भैरहवाका व्यवसायी मंगल भण्डारी भारतीय र नेपाली बजारमा एउटै सामानको मूल्यमा धेरै अन्तर भएकाले उपभोक्ता बाहिरिने गरेको बताउँछन् । ‘सुनौलीमा पाँच सयमा पाइने साडीको मूल्य भैरहवामा तेब्बर जस्तो पर्छ’, उनले भने, ‘जसले गर्दा ग्राहक रोक्न सम्भव हुँदैन ।’

भारतबाट समान ल्याउँदा लागेको भन्सार र अन्य राजस्व जोडेर सुहाउँदो मूल्यमा बिक्री गरे ग्राहक रोक्न सकिने उनले बताए । ‘अहिले त सुनौलीमा दैनिक मेला लाग्ने गरेको छ’, उनले भने, ‘यता मूल्य समायोजन नगरी ग्राहक रोक्न सकिने अवस्था देख्दिनँ ।’

सुनौली बजारमा रूपन्देहीबाहेक पाल्पा, गुल्मी, अर्घाखाँचीसम्मका मानिस आउने गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले खुला सिमानाले बढाएको तस्करीका कारण नेपाली व्यवसायी धराशायी भएको बताए ।

‘चिनीको मूल्य हेरेर सम्पूर्ण सामान सुनौलीदेखि ल्याउने प्रवृत्तिले यताको व्यापारमा निराशा छाएको छ’, उनले भने, ‘हामीले भन्सार कार्यालयलाई पारि गएर सामान किन्ने नेपालीलाई लाइनमा राखी नाम, ठेगाना, फोन नम्बरमात्र सोधिदिनुस् भनेका छौं । जसले सीमापारि जाने प्रवृत्तिमा कमी आओस् ।’

भारतीय बजारमा जाने उपभोक्तालाइै लक्षित गरे नेपालका विभिन्न व्यवसायिक संस्थाहरुले दसैं बजार तथा अन्य कार्यक्रम चलाएका छन् । तर, उपभोक्ताको ध्यान अझै भारतीय बजारमै छ । तीनै तहका सरकारले निजी क्षेत्रको सहकार्यमा आवश्यक नीति तय नगरेसम्म यसलाई रोक्न नसकिने व्यवसायीहरुको भनाइ छ ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले नीतिगत रुपमै यसलाई व्यवस्थापन नगरे नेपाली उद्योगी-व्यवसायी चल्नै नसकिने अवस्थामा पुग्ने बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीले विशेष गरी चाडपर्वलाई मध्यनजर गर्दै बेलहियालगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

त्यस्तै न्यूनतम १ हजारभन्दा माथिको सामान ल्याउँदा अनिवार्य भन्सार गराउनुपर्ने, खुला सीमालगायत भन्सार नाकामा सीसीटीभी क्यामेरा चौबीसै घण्टा चालु अवस्थामा राख्नुपर्ने तथा सीमा नाकामा एकतर्फबाट जाने र अर्कोतर्फबाट आउने व्यवस्था गर्नुपर्ने संगठनले माग गरेको छ ।

त्यसैगरी घरायसी सामानको एकद्वार प्रणालीमार्फत छिटो र सहज तरिकाले भन्सार प्रज्ञापनपत्र भरी ल्याउने व्यवस्था मिलाउनुपर्ने, भारतीय बजारबाट प्रवेश गर्दा ल्याइएको सामानको अनिवार्य रुपमा चेकजाँच गराउनुपर्ने र भारतबाट ल्याइएका सबै सामानहरुको (भन्सार गरेका र नगरेका) अभिलेख राख्नुपर्ने संगठनको माग छ ।

विवाह, व्रतबन्ध, चाडपर्वलगायत अनेक बहानामा सीमापारि गएर सामान ल्याउनेको लर्को नै लाग्ने गरेको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए ।

उनले भने, ‘यहाँका व्यवसायीलाई दिनभरि पसल कुर्नमात्र भएको छ भने सीमापारि सुनौली बजारमा सामान किन्नेको जात्रा जस्तै छ । त्यसैले गर्दा यहाँको व्यापार व्यवसाय पनि सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आवश्यक छ । नत्र उद्योगी व्यवसायीहरुले सम्पूर्ण कारोबार बन्द गर्ने अवस्था सिर्जना हुन्छ ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेले उपभोक्तालाई सीमापारि जान नदिन व्यवसायीले स्वदेशी बजारमा सस्तो मूल्यमा सामान पाइन्छ भन्ने सन्देश दिनुपर्ने बताए ।

खुला सीमा तथा उपभोक्ताले कम मूल्यमा किन्न पाउने अधिकार भए पनि त्यसको वास्तविक मूल्य तथा त्यसको गुणस्तरबारे जान्न नपाउँदा भ्रममा रहेको उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठक बताउँछन् । उनले तीनै तहका सरकारले उपभोक्ताको सचेतना, व्यापारीलाई वास्तविक मूल्यसूचिको व्यवस्थापन तथा बजार अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *