बुटबलमा मनाइयो विश्व मुटु दिवस – Nepal Press

बुटबलमा मनाइयो विश्व मुटु दिवस

रूपन्देही । विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामूलक र्‍याली निकालिएको छ । सन् १९९९ मा पहिलो पटक मनाउन सुरु गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मनाउने गरिन्छ । सोहीअनुसार यसवर्ष ‘आफ्नो मुटु पनि स्वस्थ राखौं र अरुको मुटु पनि स्वस्थ राखौं’ भन्ने नारासहित बुटवलमा पनि मुटु दिवस मनाइएको हो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको आयोजनामा निकालिएको र्‍यालीमा रुपन्देहीमा रहेका विभिन्न रोटरी तथा रोट्र्‍याक्ट क्लब तथा सामाजिक संघसंस्थाहरुको सहभागिता थियो ।

बुटवल र तिलोत्तमा नगरपालिकाको संगमस्थल योगीकुटीचोकबाट व्याण्डबाजासहित निकालिएको र्‍याली राजमार्ग चौराह, मिलनचोक हुँदै नयाँ बसपार्कमा समापन गरिएको थियो । र्‍यालीमा सहभागीहरुले मुटुरोग तथा हृदयघातबाट कसरी जोगिन सकिन्छ भनी लेखिएका विभिन्न सचेतनामूलक प्लेकार्ड बोकेका थिए ।

र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समीर गौतमले आफ्नो जीवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए ।

पछिल्लो समय नेपालमा मुटुरोगीहरुको संख्या बढ्दै गएको उनको भनाइ छ । धूमपान मुटुरोगको मुख्य कारण बन्दै गएको उल्लेख गर्दै डा. गौतमले धूमपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोसोलगायतको सेवनलाई रोक्न सके मुटुरोग लाग्नबाट जोगिन सकिने स्पष्ट पारे ।

डा. गौतमले धूमपानसँगै चिल्लो, गुलियो र नुनिलो यी तीन चिजलाई कम गर्न सके मुटुरोग लाग्नबाट धेरै हदसम्म जोगिन सकिने बताए । मुटुरोगको लागि बढावा दिने मधुमेह र मोटोपनको समस्या छ भने त्यसको पनि समयमै उपचार गर्न उनले सुझाव दिए ।

अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तिमा एकपटक भए पनि स्वास्थ्य परीक्षण गरी भविष्यमा हुनसक्ने स्वास्थ्य समस्याबाट सचेत बन्न आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अहिले नसर्ने रोगसँगै विभिन्न प्रकारका सर्ने रोगहरुका कारण मानिसहरु आक्रान्त भइरहेको उल्लेख गरिन् । सबै प्रकारका रोगहरुलाई कम गर्न सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मुटु दिवसको अवसरमा बुधवार बुटवलमा म्याराथन दौडसमेत आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *