बैंकको चर्को व्याजले व्यवसाय धान्न सक्दैनौँ: पर्यटन व्यवसायी – Nepal Press

बैंकको चर्को व्याजले व्यवसाय धान्न सक्दैनौँ: पर्यटन व्यवसायी

पोखरा । वित्तीय चर्को ब्याजले व्यवसाय धान्न नसक्ने जनाउँदै एक अङ्कमा झारेर ऋण प्रवाह गर्न पर्यटन व्यवसायीले माग गरेका छन् ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले व्यवसायमा सङ्कट आएको पर्यटन व्यवसाय लयमा फर्किन अझै समय लाग्ने भन्दै एक अङ्कको ब्याजमा ऋण उपलब्ध गराएर सहजता प्रदान गर्नुपर्ने बताएका हुन् ।

उनले पछिल्लो समय वित्तीय संस्थाले व्याज बढाउँदा व्यवसायीमा थप आर्थिक सङ्कट निम्त्याएर व्यवसायबाट पलायन हुने स्थितिमा पु¥याउन लागेको बताए ।

निकै ठूलो लगानी रहेको पर्यटन क्षेत्रलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर व्यवसायीलाई सहुलियतरूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन उनले आग्रह गरे । उनले आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटन मैत्रीनीति अवलम्बन गर्न सरकारले निकै ढिला गरेको गुनासो गरे। यस क्षेत्रका समस्यालाई यथाश्क्य सम्बोधन गर्न उनको आग्रह थियो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले पछिल्लो समय व्यवसायमा महिलाको सहभागिता निकै बढ्दै गएको र यसले आर्थिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेलेको धारणा राखे। उनले महिलाको आर्थिक सशक्तीकरणका लागि सङ्घले पर्यटन व्यवसायी महिलासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सबैको साझा सोच र धारणाको आवश्यता औँल्याए । पर्यटन क्षेत्रमा महिलाको उपस्थिति र सहभागिता बढ्दै गए पनि निर्णायक तहमा अझै पुग्न नसकेको उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष पार्वती पाण्डेले महिला पर्यटन व्यवसायी कुनै कार्यक्रममको शोभा बढाइदिने जमातको रुपमा मात्र नलिएर उनीहरुको योगदानको मूल्याङ्कन गरेर फोरम उपलब्ध गराउनुपर्ने धारणा राखिन् । उनले महिलाको संस्था भन्दै पुरुषवादी सोचले हेर्दा अझै पनि कतिपय अवसरबाट बञ्चित हुनुपरेको यथार्थतालाई प्रस्तुत गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *