टिकटका लागि जसपा प्रवेश गर्न लागेका गंगारामलाई रामचन्द्रले भने- गठबन्धनमा समर्थन माग्ने तपाईसँग नैतिक आधार छैन – Nepal Press

टिकटका लागि जसपा प्रवेश गर्न लागेका गंगारामलाई रामचन्द्रले भने- गठबन्धनमा समर्थन माग्ने तपाईसँग नैतिक आधार छैन

जनकपुरधाम । धनुषा २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनाउने सर्तमा जनता समाजवादी पार्टी (जसपा)ले भित्र्याउन लागेका नेता गंगाराम यादव संकटमा फस्ने देखिएको छ ।

एमाले परित्याग गरेका नेता यादव टिकटकै लोभमा आज उपेन्द्र यादवको हातबाट जसपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् । यसैबीच नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उनीमाथि आक्रोश पोखेका छन् ।

२०७४ को निर्वाचनमा आफूलाई अन्तर्घात गरेको आरोप लगाउँदै नेता झाले यादवलाई भनेका छन्, ‘अरुसँग समर्थन माग्न तपाईंसँग नैतिक आधार छैन ।’

गत निर्वाचनमा झा तत्कालीन संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भएका थिए । १४ हजार बढी मतान्तरले निर्वाचित अरगरिया केही दिन अगाडि मात्र एमालेमा प्रवेश गरेका छन् । उनी यसपटक एमालेबाट चुनावी मैदानमा उत्रने निश्चित छ । अरगरियालाई एमालेले टिकट दिने भएपछि नेता यादव एमाले परित्याग गरी जसपा प्रवेश गर्न लागेका हुन् ।

जसपाले धनुषा २ क्षेत्र पाएर नेता यादवलाई उम्मेदवार बनाए पनि नेकपा एकीकृत समाजवादीको सहयोग नहुने सो पार्टीका नेता झाको अभिव्यक्तिले स्पष्ट भएको छ ।

२०७४ मा एमाले र माओवादीको गठबन्धन थियो । त्यतिवेला गंगाराम यादव एमालेमा थिए र झा माओवादीबाट चुनाव उठेका थिए । त्यतिवेला यादवलगायत केही व्यक्तिहरु आफूलाई खुला रुपमा अन्तर्घात गरेको सामाजिक सञ्चालमा झाले आक्रोश पोखेका छन् ।

झाले यादवलाई प्रश्न गरेका छन्, ‘तपाईं आफ्नै पार्टीबाट वा गठबन्धनबाट जोसुकै उठे पनि अन्तर्घात गर्ने ? अनि तपाईंलाई अरुले समर्थन गर्नुपर्ने ?’

विगतमा अरगरियालाई समर्थन गरेको संकेत गर्दै झाले यादवलाई सुझाएका छन्, ‘अरगरियालाई नै क्षेत्र खाली गरेर सघाउन भन्नुस् ।’

नेता झा पनि एकीकृत समाजवादीको तर्फबाट सत्ता गठबन्धनको उम्मेदवार बन्ने आकांक्षी हुन् । नेपाली कांग्रेसका रामकृष्ण यादव पनि यो क्षेत्र छाड्न तयार देखिँदैनन् । धनुषाका चारमध्ये क्षेत्र नम्बर २ मै सत्ता गठबन्धनमा टिकटका लागि मारामार देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर