दसैँको मुखमा व्यवसायीलाई चन्दाको रिमाइन्डर कल – Nepal Press
चुनाव-७९

दसैँको मुखमा व्यवसायीलाई चन्दाको रिमाइन्डर कल

काठमाडौं । चुनाव आउन अब ५२ दिन बाँकी छ । दलहरू उम्मेदवार छान्न व्यस्त छन् भने आकांक्षीहरू टिकटको दौडधुपमा । चुनावसँगै नेता र पार्टी खर्चको जोहोमा पनि लागेका छन् । र, यसको मुख्य स्रोत भनेको उद्योगी-व्यवसायी नै हुन् । पार्टी र नेतालाई खर्चबर्च गर्ने नै सांसद/मन्त्री बनाइएका पनि छन् ।

चुनाव नजिकिँदै गर्दा व्यापारी तथा व्यवसायीलाई भने ‘चिन्ता’ सुरू भएको छ । अघिपछि बारम्बार फोन गर्दा पनि नउठाउने तिनै नेताको नम्बरले अहिले व्यापारीलाई हैरान पारेको छ । अहिले उम्मेदवारको फोनले स्वीच अफ गर्नै बाध्य हुने एक व्यवसायी बताउँछन् ।

‘रिङ बज्यो कि तर्सिन्छौं । नयाँ नम्बरको फोन त झन् उठाउनै छाडेका छौं । म चुनावमा उठ्दै छु, सहयोग गर्न तयार हुनुस् भन्दै फोन आउन थालेको छ’, ती व्यवसायीले नेपाल प्रेससँग भने ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल उम्मेदवार र नेतालाई सहयोग गरेपछि व्यवसायीलाई पनि करमा छुट पाउनुपर्नेमा जोड दिन्छन् । यस पटकको सहयोग बैंकिङ प्रणालीमार्फत पारदर्शी बनाउनुपर्ने उनको राय छ ।

अर्का व्यवसायी राजेशकाजी श्रेष्ठ व्यापारीहरू चन्दा दिने हैसियतमा नभएको भन्दै उल्टै नेताबाटै व्यापारीले चन्दा माग्ने अवस्था आएको बताउँछन् ।

चुनाव खर्चिलो बनेको स्वयं नेताहरूले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । जसरी पनि जित्नै पर्ने र त्यसका लागि जति पनि खर्च गर्न तयार देखिने उम्मेदवारहरूले लोभ/त्रास देखाएर चन्दा माग्छन् । खर्च अत्यधिक हुने भएकै कारण केही नेता भने पैसा अभाव देखाउँदै टिकटको रेसबाट बाहिर छन् । एजेण्डाभन्दा पैसाले मतदाता प्रभावित पार्ने विकृति राजनीतिमा मौलाउँदै गएको टिप्पणी पनि हुने गर्छ ।

ठुला दलका प्रभावशाली नेतालाई त व्यापारी आफैँ पनि सहयोग गर्न तम्सिन्छन् । कुर्सीमा नपुगेपनि उनीहरूको प्रभाव रहने र लाभ लिन सकिने आशमा व्यापारीहरू चन्दा दिन राजी हुने गरेका छन् । एक व्यापारी भन्छन्, ‘अहिले सहयोग गर्न तयार रहनुस् भन्दै फोन आउन सुरू मात्र भएको छ । अब कात्तिक लागेपछि पैसा लिन आउलान । थेग्न नसक्ने भए भने म त फोन नलाग्ने गरी विदेश जान्छु ।’

कोरोनाका कारण थलिएका उद्योगी व्यवसायी अझै तंग्रिन नसकेको गुनासो गरिरहेका छन् । महँगी अचाक्ली छ । उपभोक्ताको क्रय शक्तिमै ह्रास आइरहेको बेला दसैँमा व्यापारमा लगानी बढाउने बेला चन्दाको ताकेताले चेपुवामा परेको उद्योगी-व्यवसायी संघसंगठनका नेता बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर