इङ्ल्यान्डमाथि पाकिस्तानको रोमान्चक जित, डेब्यू चम्किए जमाल – Nepal Press

इङ्ल्यान्डमाथि पाकिस्तानको रोमान्चक जित, डेब्यू चम्किए जमाल

लाहोर। इङ्ल्यान्डविरुद्ध जारी ७ खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाचौँ खेलमा बुधबार राती ६ रनको रोमान्चक जित हात पार्दै पाकिस्तानले ३-२ ले अग्रता लिएको छ।

लाहोरमा भएको खेलमा इङ्ल्यान्डले केवल एक सय ४६ रनको लक्ष्य पाएपनि पुरा गर्न सकेन। पाकिस्तानले इङ्ल्यान्डलाई निर्धारित २० ओभरमा ७ विकेट लिएर एक सय ३९ रनमा सिमित गरेको थियो। इङ्ल्यान्डलाई अन्तिम ओभरमा ओभरमा १५ रन आवश्यक रहेको थियो। मोइन अलीले शानदार प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।

अन्तिम तीन बलमा ८ रन आवश्यक रहेका बेला अलीले चौथो बलमा रन जोड्न सकेनन् भने पाचौँ बलमा एक रन मात्र लिए। अन्तिम बलमा डेभिड विलीले रन जोड्न सकेनन्। पाकिस्तानका आमर जमालले डेब्यु खेलमा राम्रो छाप छाडे।

बलरका भूमिकामा रहेपनि उनलाई १५ औँ ओभरमा मात्र बलिङ गर्न दिइएको थियो। आफ्नो पहिलो ओभरमा एक विकेट लिएर ५ रन दिएका जमालले निर्णायक देखिएको अन्तिम ओभरमा पनि बलिङ गर्ने जिम्मा पाएका थिए। उनले दुई ओभरमा १३ रन खर्चिए।

इङ्ल्यान्डका अलीले ३७ बलमा दुई छक्का र चार चौकासहित अविजित ५१ रन बनाए। डेभिड मलानले ३६ र साम कुरानले १७ रन बनाए। पाकिस्तानका हरिस रौफले दुई तथा मोहम्मद नवाज, सदाब खान, इफ्तिकर अहमद र मोहम्मद वासिमले एक एक विकेट लिए। त्यसअघि कमजोर सुरुवात गरेको पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवान एक्लैले ६३ रन जोडेका थिए।

उनले ४६ बलमा तीन छक्का र दुई चौका प्रहार गरे। इफ्तिकरले १५ र जमालले १० रनबाहेक अन्य ब्याट्सम्याानले दोहोरो अंकमा रन जोड्न सकेनन्। रिजवानले ८ औँ विकेटका लागि जमालसँग १८ र वासिमसँग १३ रनको साझेदारी गरेका थिए। पाकिस्तानले अन्तिम विकेटका लागि १४ रनको साझेदारी गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *