एमाले चियापानमा कमल थापाको अर्थपूर्ण ‘इन्ट्री’ – Nepal Press

एमाले चियापानमा कमल थापाको अर्थपूर्ण ‘इन्ट्री’

हेटौँडा । नेकपा एमाले मकवानपुरले बिहिबार हेटौँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा भाई गणेश थापा सहितका कार्यकर्ताहरु लिएर एमाले पार्टी कार्यालय पुष्पलाल पार्क प्रवेश गरेपछि एमाले कार्यकर्ताहरु चकित परे ।
एमालेसँग तालमेलको गाँईगुँई सुनेका कार्याकर्ताहरुलाई थापाको एमाले पार्टी कार्यालय प्रवेशबाट मकवानपुरको क्षेत्र नंबर १ मा थापानै उम्मेदवार हुने कुरा यर्थात रहेको भन्ने पुष्टि गर्ने महत्वपूर्ण आधार बन्यो ।

चियापानमा थापा पुगेपछि उनीसँग फोटो खिचाउने र भेटनेहरुको जमात बढेको देखियो । फोटोसेसनमा एमालेका केन्द्रीय नेतादेखि कार्यकर्तासम्म रहे । थापालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘बचन’ दिएपछि केहि निरास भएका सोहि क्षेत्रबाट उम्मेदवारको लागि सिफारिस परेका रामेश्वर राना भने सामूहिक फोटोसेसनमा देखिएनन् ।

तर सो क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नविन सिग्देल सहितको टोलीले थापासँग सामुहिक तस्बिर खिचेर शुभकामना आदानप्रपाद गरे ।

निकै प्रफुल्ल मुद्रामा देखिएका थापाले एमालेका नेता तथा कार्यकर्तासँग शुभकामना आदानप्रदानको मौकामा ‘वान टु वान’ भेटेर केहि कुरा गरे भने सन्चो विसन्चो सोधे । सार्वजनिक भाषणको कार्यक्रम नभएपनि एमालेको यसभन्दा अघिका चियापानमा उपस्थित नभएका थापा चुनावको मुखमा भएको चियापानमा उपस्थित हुनुलाई एमाले कार्यकर्ताहरुले अर्थपूर्ण ढंगबाट हेरेका छन् ।

चियापानमा थापाको ‘इन्ट्री’बारे नेपालप्रेसको जिज्ञासामा एमाले मकवानपुरका सचिव नविन सिग्देलले शुभकामना आदानप्रदानमा आउनु आश्चर्यको विषय नभएको बताए । उनले आफुहरु निर्वाचनको तयारीमा जुटेको र एमालेसँग तालमेलको विषयमा अहिलेसम्म औपचारिक जानकारी नआएको दाबी गरे ।

राप्रपाका महामन्त्री राजाराम बर्तोलाले भने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको निमन्त्रणमा आफुहरु चियापान तथा शुभकामना आदानप्रदानमा सहभागी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर