अख्तियार हेटौँडामा एक वर्षमा १६ सय उजुरी, स्थानीय तहको मात्रै ३३ प्रतिशत – Nepal Press

अख्तियार हेटौँडामा एक वर्षमा १६ सय उजुरी, स्थानीय तहको मात्रै ३३ प्रतिशत

हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ६ सय उजुरी परेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को ३२ औं वार्षिक प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पेश गर्दै तथ्याङ्क सार्वजनिक गरेको हो ।

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले प्रमुख शर्मालाई हस्तान्तरण गरेको प्रतिवेदनमा हेटौँडा कार्यालयले हेर्ने बागमती प्रदेशको ८ जिल्ला तथा मधेश प्रदेशको तीन जिल्ला गरी ११ जिल्लाबाट १ हजार ६ सय उजुरी परेको उल्लेख छ ।

प्रतिवेदन अनुसार सबैभन्दा धेरै उजुरी स्थानीय तह अन्तर्गत परेको छ । संङ्‍घीय मामिलासँग सम्बन्धित ३३.१ प्रतिशत रहेका छन् ।

शिक्षा (स्थानीय तहसमेत) १५.३ प्रतिशत, भूमि प्रशासन ७.७ प्रतिशत, वन तथा वातावरण ४.६ प्रतिशत, स्वास्थ्य तथा जनसंख्या ३.९ प्रतिशत, भौतिक पूर्वाधार तथा यातायात ३.८ प्रतिशत, गृह प्रशासन ३.७ प्रतिशत, पर्यटन, उद्योग तथा वाणिज्य ३.२ प्रतिशत, ऊर्जा, जलस्रोत तथा सिँचाई ३.१ प्रतिशत, खानेपानी तथा शहरी विकास २.९ प्रतिशत उजुरी परेको छ ।

अर्थ १.९ प्रतिशत, कृषि तथा पशुपक्षी १.९ प्रतिशत र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित ०.९ प्रतिशत उजुरी रहेका छन्।

त्यसै गरी, नक्कली शैक्षिक प्रमाणपत्र ५.७ प्रतिशत, गैरकानूनी सम्पत्ति आर्जन ४.८ प्रतिशत र अन्य निकाय र क्षेत्रसँग सम्बन्धित उजुरीहरू ३ प्रतिशत रहेको कार्यालयले बुझाएको तथ्याङ्कमा उल्लेख छ ।

हेटौँडा कार्यालयको कार्यक्षेत्रमा रहेको जिल्लाहरू मध्ये सबैभन्दा धेरै उजुरी बारा जिल्लाबाट परेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बाराबाट ३९१ वटा रौतहटबाट ३७४ वटा मकवानपुरबाट ३१० वटा, पर्साबाट २८६ वटा र चितवनबाट २६१ वटा उजुरीहरू परेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले गत आर्थिक वर्षमा १३१ वटा आरोप पत्र विशेष अदालतमा दर्ता गरेको जनाएको छ । आयोगले दर्ता गरेकोमध्ये सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित ३५ वटा, गैरकानूनी लाभ हानिसँग सम्बन्धित ३४ वटा, घुस र रिसवतसँग सम्बन्धित ३२ वटा, गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ७ वटा, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी ६ वटा, राजस्व चुहावटसम्बन्धी ५ वटा र विविध विषयका १२ वटा रहेका जनाएको छ ।

प्रतिवेदन पेश गर्दै अख्तियार हेटौँडा कार्यालयका प्रमुख घिमिरेले कार्यालय मातहतको जिल्लामा सुशासन कायम गर्नको लागि आफूहरू चनाखो भएर काम गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर