प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा पत्रकार सिलवालद्वारा १० हजार सहयोग – Nepal Press

प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा पत्रकार सिलवालद्वारा १० हजार सहयोग

चितवन । प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय समाचार समितिका सिनियर रिपोर्टर प्रकाश सिलवालले नगद दश हजार आर्थिक सहयोग गरेका छन् ।

शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्षसमेत रहेका सिलवालले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गरेका हुन् । पत्रकार सिलवालले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागिता जनाएको बताए ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य सिलवालले पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पुर्‍याउन तथा संस्थागत उन्नयनमा कल्याणकारी कोषले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले अग्रज पत्रकार सिलवालले गरेको आर्थिक सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दै सन्देशका हिसाबले महत्त्वपूर्ण भएको बताए ।

चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । कोषमा हालसम्म ७५ हजार १ सय ५५ रकम संकलन भैसकेको छ ।

प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन, संगठन सुदृढीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न, पत्रकारहरू बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा आर्थिक सहयोग गर्न कोष स्थापना गरेको हो । साथै चौतारीमा आबद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्ने कल्याणकारी कोष कार्यविधिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर