राप्रपा कसैले रोक्न नसक्ने गरी अघि बढ्यो, चुनावमा पहिलो शक्ति बन्न सक्छौं : राजेन्द्र लिङदेन (भिडिओ) – Nepal Press

राप्रपा कसैले रोक्न नसक्ने गरी अघि बढ्यो, चुनावमा पहिलो शक्ति बन्न सक्छौं : राजेन्द्र लिङदेन (भिडिओ)

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् ।

आज विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै उनले अब चुनावमा पहिलो बन्ने उद्घोष गरेका हुन् ।

एकता घोषणा समारोहमा लिङदेनले काठमाडौंका मेयर बालेन्द्र साहले चुनाव जितेको उदाहरण पेश गरेका थिए ।

‘कसले ठानेको थियो, बालेन्द्रले चुनाव जित्छन् भन्ने ?’ उनले भने, ‘कांग्रेस–एमालेले उनलाई मतदान अघिसम्म खिसिट्यूरी गरिरहेका थिए । तर, जब बाकस खोलियो अनि बल्ल उनीहरू झस्किए ।’

लिङदेनले आगामी चुनावमा पनि जनताले विश्वासिलो विकल्प खोजिरहेको बताए ।

‘तीन दशकदेखि प्रजातन्त्र र गणतन्त्रको नाममा जारी लुटतन्त्रको अन्त्य देशले खोजिरहेको छ । खाली विश्वासिलो शक्तिको आवश्यकता छ । अहिले त्यस्तो विकल्प खोज्नेहरूले राप्रपालाई आशाको नजरले हेरिरहेका छन्,’ उनले भने ।

राप्रपा अब कसैले रोक्न नसक्ने गरी अगाडि बढेको उनले बताए ।

‘राप्रपा अब अगाडि बढ्यो, बढ्यो, यसको गतिलाई अब कसैले चाहेर पनि रोक्न सक्दैन,’ लिङदेनले भने ।

राप्रपा अब संसद्मा धेरै सिट ल्याउने होइन, पहिलो सिट ल्याउने सङ्कल्पका साथ अघि बढ्ने लिङ्देनले उद्घोष गरे ।

‘एक–डेढ महिनाभित्र विश्वस्त ढंगले आफ्नो क्रियाकलाप अगाडि बढाउन सके हामीसँग अवसर छ । जनता परिवर्तनको पक्षमा छन् भन्ने काठमाडौं र धरानको मतदाताले देखाइदिए नि । विगतमा हामी आफ्नै गलत व्यवस्थापनका कारण पटकपटक हार्याैँ । त्यसैले चुनाव जितिन्छ र ? भन्ने हीन मानसिकता अहिले पनि बाँकी छ । त्यसलाई निकालौँ । हामी पहिलो शक्ति बन्न सक्छौँ ।’
अरू पार्टीका मान्छेहरूले पनि यसपालि भोट राप्रपालाई हाल्नुपर्ने लिङदेनको भनाइ छ । उनले अरू बेला कांग्रेस र एमाले भनेर चिनिए पनि भोट हाल्नेबेलामा हलोमा हाल्न आग्रह गरे ।

‘कांग्रेस, एमाले, माओवादीमै बसेर पनि यसपालि हलोमा भोट दिन पाइन्छ । कांग्रेस–एमाले जिन्दावाद भनेर हिँड्ने, हाल्दा हलोमा हाल्ने । गन्दा मात्रै नेताले थाहा पाओस्,’ उनले भने ।

लिङदनले मिश्रसहित पार्टीमा आएका नेताहरूले कत्ति पनि असहजता महसुस गर्नु नपर्ने प्रत्याभूति दिलाए । आफूहरूले पदका लागि राजनीति नगरेको भन्दै उनले भोलि पनि पदकै कारण झगडा नगर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर