सिमरामा सञ्चालनमा आयो १८ करोड लागतको केएसआर मल्टिप्लेक्स सिनेमा घर – Nepal Press

सिमरामा सञ्चालनमा आयो १८ करोड लागतको केएसआर मल्टिप्लेक्स सिनेमा घर

सिमरा । बाराको सिमरामा जिल्लाकै पहिलो मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ । करिब १८ करोड रुपैयाँ लागतमा निर्माण भएको केएसआर मुभिज दसैंको अवसर पारेर घटस्थापनादेखि सञ्चालनमा आएको सञ्चालक राजन उप्रेतीले जानकारी दिए ।

अहिले प्रदर्शनमा रहेको चलचित्र ‘प्रेमगीत ३’ का कलाकार टोली, पूर्वश्रममन्त्री किसान श्रेष्ठ, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, हास्य कलाकार किरण केसी, सन्दीप क्षेत्रीलगायतले एकसाथ उद्घाटन गरेका थिए ।

सिमराका व्यवसायी कासिम मियाँ, रोसित उन्निथान, राजन उप्रेती र सुदीप लामाको संयुक्त लगानीमा सञ्चालनमा आएको केएसआर मुभिज मधेस प्रदेशकै पहिलो सुविधा सम्पन्न हल रहेको सञ्चालकको दाबी छ । यसअघि यस क्षेत्रबाट चलचित्र हेर्न दर्शकलाई वीरगञ्ज र हेटौंडासम्म पुग्नुपर्ने बाध्यता थियो ।

सिनेमा घरको उद्घाटनका क्रममा पूर्व श्रममन्त्री श्रेष्ठले शहरोन्मुख सिमरामा सिनेमा घर सञ्चालनमा आउनु चलचित्रप्रेमीका लागि मात्र नभई सम्पूर्ण क्षेत्रका लागि गौरवको विषय भएको बताए । विकसित शहरको रुपमा रुपान्तरित हुँदै गएको सिमरामा लगानीकर्ताको आकर्षण बढ्दो अवस्थामा रहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

उद्घाटन कार्यक्रममा उपस्थित ‘प्रेमगीत ३’ का नायक प्रदीप खड्काले राजधानी बाहिर सुविधा सम्पन्न सिनेमा घर सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे । सिनेमा घरको उद्घाटनपछि नायक खड्काले दर्शकसँग बसेर चलचित्र हेरेका थिए । उनीसँगै नायिका क्रिष्टिना गुरुङ, निर्देशक सन्तोष सेनलगायतका कलाकार सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर