सुनिताको ‘एमपी थिएटर’चुनावी प्रतिबद्धता पूरा हुँदै, बसन्तपुर डबलीमा संगीत साँझको पुनर्जीवन – Nepal Press

सुनिताको ‘एमपी थिएटर’चुनावी प्रतिबद्धता पूरा हुँदै, बसन्तपुर डबलीमा संगीत साँझको पुनर्जीवन

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार बन्दै गर्दा सुनिता डंगोलले भनेकी थिइन्, ‘रिभाइभ काठमाडौं र बिल्ड काठमाडौंअन्तर्गत वसन्तपुरको परम्परागत डबलीलाई एमपी थिएटरका रुपमा रिभाइभ गरिनेछ । र्‍यापरदेखि सबैखाले कलाकारलाई हामीले जितेपछि आह्वान गरेर बोलाउनेछौं । जहाँ उहाँहरु आउनुहुन्छ र कला प्रस्तुत गर्नुहुन्छ ।’

उपमेयरको चुनाव जितेपछिको पहिलो अन्तर्वार्ता पनि डंगोलले नेपाल प्रेसमै दिएकी थिइन् र भनेकी थिइन्, ‘नेकपा एमालेको मेयरसहित चुनाव जितेको भए कार्यकारी अधिकार हामीमा हुन्थ्यो । त्यस अवस्थामा पुरानो डबलीलाई पुनर्जीवन दिने र डबलीको आधुनिक रूप एमपी थियटर बनाएर कला, साहित्य र संगीत क्षेत्रलाई प्रोत्साहन दिने योजना थियो । सो कार्यका लागि नेपालका कला, साहित्य र संगीत क्षेत्रका विशिष्ट कलाकारहरूसमेतलाई बोलाएर सांगीतिक कार्यक्रम गर्ने योजनाअनुसार मैले कलाकारहरूलाई गीत गाउन आह्वान गर्छु भनेकी थिएँ । सायद मेरो यो योजनालाई अहिले निर्वाचित महानगरपालिकाको नेतृत्वले पूरा गर्छ भन्ने मैले विश्वास गरेकी छु ।’

नभन्दै बालेन्द्र शाह बालेन नेतृत्वको महानगरपालिकाले उपमेयर डंगोलको चुनावी घोषणापत्रको सो एजेण्डालाई समेटेर एमपी थिएटर नीति तथा कार्यक्रम र बजेटमा पनि समेट्यो । बिहीबार साँझ उपमेयर डंगोल आफ्नो चुनावी घोषणाको सो प्रतिबद्धता पूरा गर्न एकसय जना वाद्यवादकहरुका बीच बसन्तपुर डबलीमा देखिइन् ।

साँझको संगीतमय माहोलमा बसन्तपुरको परम्परागत डबलीमा काठमाडौंको नेवाः सभ्यता झल्किने पोशाकसहित कलाकार र संस्कृतिमा रुचि राख्नेहरु भेला भए । उपमेयर डंगोलले सुकुन्दामा बत्ती बालेर ‘रिभाइभ डबली’को उद्घाटन गरिन् ।

विश्व पर्यटन दिवसको अवसरमा दिउँसो पनि उनले बसन्तुपरको डबली संस्कृतिलाई पुनःस्थापित गर्ने बताएकी थिइन् । साँझ उनी डबलीमा आफैं उपस्थित भएर आफ्नो एउटा चुनावी एजेण्डालाई व्यवहारमा कार्यान्वयनमा ल्याइन् । सायद अब मेयर बालेन कुनै दिन उपस्थित भएर डबलीमा र्‍याप गाउनेछन् ।

उपमेयर डंगोलले नेपाल प्रेससँग भनिन्, ‘परम्परागत दबू वा दबुलि भन्नु वा बसन्तपुर डबली यसको रिभाइभ गर्ने मेरो घोषणा थियो । काठमाडौं महानगरपालिकाको पहलमा यो सुरु भएको छ । अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डबली हो । यसबाट प्रदर्शन हुने कलाले सहरलाई जीवन्त बनाउँछ, विश्वभर परिचित पनि गराउँछ । हामी रिभाइभ डबलीको सोचलाई पर्यटनसँग जोडेर यो वर्षभर काम गर्छौं ।’

उपमेयर डंगोलले परिकल्पना गरेको एमपी थिएटरमा परम्परागत बाजागाजा तथा संस्कृतिका साथै आधुनिक गीत-संगीतमा आवद्ध कलाकारहरुले पनि आफ्नो कला प्रस्तुत गर्न सक्नेछन् । सांस्कृतिक रुपमा डबलीलाई एमपी थिएटरको रुपमा विकास गर्ने उनको योजना क्रमशः कार्यान्वयनमा आउने बताइएको छ ।

याे पनि पढ्नुस्ः काठमाडौंको नीति तथा कार्यक्रममा समेटियो सुनिताको ‘एमपी थिएटर’ योजना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर