गोल गरेपछि मेस्सीलाई जब एक समर्थकले मैदान छिरेर ढाडमा अटोग्राफ मागे – Nepal Press

गोल गरेपछि मेस्सीलाई जब एक समर्थकले मैदान छिरेर ढाडमा अटोग्राफ मागे

काठमाडौं । जमैकाविरुद्ध बुधबार बिहान भएको मैत्रिपूर्ण अन्तराष्ट्रिय खेलमा अर्जेन्टिनाले पहिलो रोजाईका केही खेलाडीलाई सुरुवाती–११ मा राखेको थिएन। तीमध्ये लियोनल मेस्सी पनि एक थिए।

मेस्सी दोस्रो हाफमा मात्र मैदान छिरे जतिबेला अर्जेन्टिना १–० गोलले अगाडि थियो। खेलको अन्तिम समयमा अर्जेन्टिना र मेस्सी दुवै आक्रामक देखिए। ८७ औं मिनेटमा मेस्सीले डी–बक्सबाहिरबाट पहिलो बार च्यापेर गरेको प्रहार गोल भएको थियो। त्यसपछि एक समर्थक दौडँदै मैदान छिरेर मेस्सी नजिक पुगेका थिए।

ती समर्थक कम्मरभन्दा माथि कपडा नलगाई, हातमा मार्कर बोकेर मेस्सीकहाँ पुगेका थिए। उनले मेस्सीलाई मार्कर दिँदै ढाड फर्काएर अटोग्राफ मागे। मेस्सीले के लेख्न मात्र सुरु गरेका थिए, सुरक्षाकर्मीले ती समर्थकलाई लछारपछार पारे। मेस्सी केही हुत्तिएको देखियो। मेस्सीले त्यसपछि वास्ता गरेनन्। उनले लगत्तै ८९ औं मिनेटमा डी–बक्सबाहिरबाटै फ्रिकिक गोल गरेका थिए।

मेस्सीले यसै साता होन्डुरसविरुद्ध पनि दुई गोल गरेका थिए। मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो(११७) र इरानका अलि दाई (१०९) भन्दा मात्र पछाडि रहेका मेस्सीको ९० गोल पुगेको छ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *