राष्ट्रको झन्डा छातीमा राखेर धेरैपछि खेल्न पाएँ खुशी छु :अन्जन विष्ट – Nepal Press

राष्ट्रको झन्डा छातीमा राखेर धेरैपछि खेल्न पाएँ खुशी छु :अन्जन विष्ट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले लामो समयपछि राष्ट्रको झन्डा छातीमा राखेर खेल्न पाउँदा आफू खुशी भएको बताएका छन् । मंगलबार दशरथ रंगाशालामा सम्पन्न बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका अन्जनले पोष्ट म्याच कन्फरेन्समा बोल्दै आजको जित सम्पूर्ण दर्शकलाई दसैं उपाहार भएको प्रतिक्रिया दिए ।

‘यो एउटा खेल मात्रै थिएन । धेरैपछि फेरि राष्ट्रको झण्डा छातीमा राखेर खेल्न पाएँ धेरै खुशी छु । आजको खेल, आजको जित सम्पूर्ण नेपालीलाई आउँदै गरेको दसैंको उपहारको रुपमा समर्पित गर्न चाहान्छु’, उनले भने ।

गत मार्चमा थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि अन्जनले राष्ट्रिय टिमबाट खेलेका थिएनन् । गत वैशाखमा नेपालका पूर्वप्रशिक्षक अबदुल्लाह अल्मुताईरीले एसियन कप छनोटको बन्द प्रशिक्षणका दौरान टिमबाट निकालेका १० खेलाडीमध्ये एकमा पर्छन् अन्जन विष्ट । करिब पाँच महिनापछि मैदान फर्किएका अन्जनले त्यसबीच जे भएपनि आफूलाई कुनै गुनासो नभएको बताए । यस्तै, उनले यो समयलाई जीवनको उतारचढावको रुपमा लिँदै आफूले त्यो क्षणबाट धेरै पाठ सिकेको बताए ।

‘विगतमा के भयो त्यसलाई जिवनको उतारचढावको रुपमा लिएको छु । त्यो क्षणबाट धेरै पाठ सिकेँ । पहिला जुन जोसले खेल्थे आज पनि त्यस्तै जोसका साथ खेले र अगामी दिनमा पनि देशका लागि यही जोसका साथ खेल्छु । ह्याट्रिक गर्दाको क्षण शब्दमा बयान गर्न सक्दिन,’ उनले भने ।

अन्जनको ह्याट्रिकमा नेपालले बंगलादेशलाई ३-१ गोलको नतिजामा पराजित गरेको थियो । उक्त खेलकमा ह्याट्रिक गरेका अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १० पुर्याए भने ‘प्लेयर अफ दी म्याच’ पनि घोषीत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर