रोमानिया जानेका लागि अस्थायी रोमानियन मिसन स्थापना – Nepal Press

रोमानिया जानेका लागि अस्थायी रोमानियन मिसन स्थापना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगार कार्यालय ताहाचलको परिसरमा अस्थायी रुपमा रोमानियन मिसन स्थापना गरेको छ । नेपाली नागरिकले रोमानियामा प्राप्त गरेका रोजगारी गुम्न नदिन र रोमानिया प्रवेशका लागि आवश्यक भीषा प्रकयालाई सरल, सहज र पहुँचयोग्य बनाउन रोमानियन मिशन स्थापना गरिएको हो ।

उक्त मिशनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहने नेपाली नागरिकको भीषा आवेदन प्रक्रियाको सहजिकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार रोमानियन मिशनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ ।

साथै मन्त्रालयले नेपालबाट रोमानियामा वैदेशिक रोजगारीको सन्दर्भमा जान चाहने नेपाली नागरिकले नेपालमा अस्थायी रुपमा स्थापना गरिएको रोमानियन मिशनले तोकेको भीषा शुल्कबाहेक कहीँकतै कुनै प्रकारको रकम नबुझाउन, वा अन्य कुनै पनि प्रकारका प्रलोभनमा नपर्न पनि आग्रह गरेको छ ।

रोमानियन अधिकारीसँग चिनजान छ भनी वा अन्य कुनै प्रकारबाट नेपाली नागरिकलाई प्रलोभनमा पारी कुनै प्रकारबाट ठगी गरेमा वा रकम असुल गरेमा प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने मन्त्रालयका प्रवक्ता घिमिरेले बताए । यदि कोही कसैले पनि यस्ता गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा मन्त्रालयलाई जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ । सूचना दिने व्यक्तिको पहिचान पूर्णरुपमा गोप्य राखिने जनाइएको छ ।

अहिलेसम्म रोमानियामा वैदेशिक रोजगारीमा जान चाहाने नेपाली नागरिकले त्यहाँबाट रोजगारी सम्झौता प्राप्त गरिसकेपछि भीषा प्राप्तिका लागि आवेदन गर्न छिमेकी मुलुक भारतमा रहेको रोमानियन राजदूतावासमा जानुपर्ने अवस्था थियो । जसले गर्दा धेरै नेपालीको अतिरिक्त समय र पैसा खर्च हुदैँ आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *