महराले समानुपातिक रोजेपछि कसले पाउँछ दाङ २ ? – Nepal Press

महराले समानुपातिक रोजेपछि कसले पाउँछ दाङ २ ?

रुपन्देही । सत्ता गठबन्धन दलले दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई छोड्ने निश्चित थियो । तर, माओवादीले महराको नाम समानुपातिक सूचीमा राख्यो ।

गठबन्धन दलमा माओवादीपछि यो क्षेत्रमा नेपाली कांग्रेसले दाबी गरेकाे छ । महराको नाम समानुपातिकमा चढेसँगै २०७४ को निर्वाचनमा उनै महरासँग पराजित कांग्रेस नेता राजु खनालले अहिले यहाँ आफ्नो दाबी पेश गरेका छन् ।

गठबन्धन दलबीच दाङका ३ निर्वाचन क्षेत्रमध्ये १ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, २ मा माओवादीका महरा र ३ मा कांग्रेसका दीपक गिरीलाई उम्मेदवार बनाउने अनौपचारिक सहमति भएको थियो । तर, महराले समानुपातिक रोजेपछि खनालले दाबी गरेको कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले बताए । उनका अनुसार महराबाहेक माओवादीका अरु नेतालाई कांग्रेसले स्वीकार गर्नेछैन ।

माओवादीले यस क्षेत्रको लागि महरासँगै स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा र पोलिटव्युरो सदस्य निर्मल आचार्यलाई सिफारिस गरेको छ । तर, शर्मा र आचार्यलाई एमाले महासचिव शंकर पोखरेलसँगको प्रतिस्पर्धामा जिताउन नसकिने कांग्रेसको तर्क छ । प्रतिनिधिसभाको बदलामा माओवादीलाई दाङमा प्रदेशसभाको तीन सीट दिने पक्षमा कांग्रेस रहेको बुझिएको छ ।

दाङ २ मा एमालेबाट महासचिव पोखरेलको एकल नाम सिफारिस भएको छ । एमालेले उनलाई भावी अर्थमन्त्रीको रुपमा प्रचार गरिरहेको छ । एमालेले प्रदेश राजधानी दाङमा ल्याउन तत्कालीन मुख्यमन्त्री पोखरेलले निर्वाह गरेको भूमिका, महराले मैदान छाडेकोजस्ता विषयलाई मुद्दा बनाएको छ ।

दाङ २ मा तीन स्थानीय तह छन् । जसमा घोराही उपमहानगरका १९ मध्ये १, २, ३, ५ बाहेक सबै वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । तुलसीपुर उपमहानगरका १६, १७, १८ र १९ वडा तथा बंगलाचुली गाउँपालिका पूरै यस क्षेत्रमा पर्छ । स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालिका प्रमुख माओवादीले र उपप्रमुख कांग्रेसले जितेको छ । ८ मध्ये माओवादी र कांग्रेसले ४/४ वटा वडा जितेका छन् ।

एमालेले घोराहीको प्रमुख र उपप्रमुखसहित यस क्षेत्रमा पर्ने १५ मध्ये १० वटा वडा जितेको छ । यहाँ कांग्रेसले ४ वटा जित्दा माओवादीले एउटामात्रै वडा जितेको छ । तुलसीपुरको प्रमुख र उप्रमुखसहित यस क्षेत्रमा पर्ने ४ मध्ये एमालेले २ वडा जितेको छ । एउटा कांग्रेसले जित्दा अर्को स्वतन्त्रले जितेका छन् ।

दाङ २ मा एमाले र गठबन्धनको मत बराबरीजस्तै छ । वडा अध्यक्षको मतभारमा एमाले एक्लैको ३६ हजार २६१ मत छ । कांग्रेसको २२ हजार ७६९, माओवादीको १० हजार ४७८ र एकीकृत समाजवादीको २ हजार ९४२ मत छ । गठबन्धनको कुल ३६ हजार १८९ मत देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर