४० प्रतिशत मागेको शेखर-गगन समूहका दर्जन नेताको मात्र प्रत्यक्षमा ‘टिकट फिक्स’ – Nepal Press

४० प्रतिशत मागेको शेखर-गगन समूहका दर्जन नेताको मात्र प्रत्यक्षमा ‘टिकट फिक्स’

काठमाडौं । नेपाली कांग्रेसको शेखर-गगन समूहले समानुपातिक सूची सच्याउन र आफूहरूलाई ४० प्रतिशत भाग सुनिश्चित गर्न माग गर्दै आन्दोलन घोषणा गरिसकेको छ । शनिबार काठमाडौंमा खबरदारीसभा गरेका इतर समूहका दोस्रो तहका नेताहरू हिजो पुनः जुटेर भोलि (बुधबार) सानेपास्थित कांग्रेस मुख्यालयमा धर्ना दिने निर्णय गरेका छन् ।

सोही खबरदारीसभामा दोस्रो तहका नेताहरूले आफ्नै समूहका नेताहरू शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डेलगायतको नामै लिएर आफूमात्र सुरक्षित हुन खोजिए देशब्यापी विद्रोह हुने चेतावनी दिएका थिए । स्रोतका अनुसार शेखर पक्षका दोस्रो तहका नेताहरूले देशभर स्वतन्त्र उठ्ने उम्मेदवारको सूचीसमेत बनाइरहेका छन् ।

शेखर समूहका केही नेताको टिकट फिक्स रहेकाले सो समूहमा लागेका धेरै नेता कार्यकर्ताको टिकट खोसिएको अवस्थामा के गर्ने ? उनीहरूले त्यो अवस्थामा शेखर गगनहरूले टिकट देउवालाई फिर्ता दिएर कार्यकर्तासँगै विद्रोहमा आउनुपर्ने बताइसकेका छन् ।

हिजै मात्र अन्य दललाई टिकट भाग लगाए तालमेल नगर्ने बैतडी कांग्रेसले निर्णय गरेको छ । गठबन्धनको सीट बाँडफाँट कार्यदलमा रहेका कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको गृहजिल्ला भोजपुर कांग्रेसका सभापित विनोद बान्तवा कार्यकर्ता र मतदाताको दबाब थामिनसक्नु भएको बताउँछन् ।

‘गठबन्धनको बारेमा भोजपुरका साथीहरूको उपल्लो गुनासो उत्तर दिन नै नसकिने उफ् जय नेपाल !’, उनले सामाजिक सञ्जालमा समेत लेखेका छन् ।

‘शेरबहादुर र प्रचण्डजीले स्वार्थका निम्ति पदलोलुप भएर, भागबण्डा लाएर कार्यकर्तालाई दिग्भ्रमित पार्न सक्नुहुन्छ । उहाँहरूले धरातल बुझ्नुभएको छैन । भाग लिएर आउनेले पनि तल के छ आफ्नो खुट्टा हेर्नुपर्छ’, उनले केही दिनअघि नेपाल प्रेससँग भनेका थिए ।

संस्थापनसँग ४० प्रतिशतभन्दा एक सीट तलमा पनि सम्झौता नगर्ने अडानमा रहेको शेखर-गगन समूहमा प्रत्यक्षतर्फ देशभरबाट बढीमा १२ जना मात्र ‘सेफ जोन’ मा देखिएका छन् । पाँचदलीय गठबन्धनमा सीट बाँडफाँट गर्दा कांग्रेसको भागमा ८०-८३ पर्छ । यसको आधारमा टिकट सुरक्षित भएका नेताहरूको प्रतिशत १४.४५ मात्र हुन आउँछ ।

हेर्नुस् कांग्रेस उच्च स्रोतले उपलब्ध गराएको टिकट ‘पक्कापक्की’ भएका इतर समूहका नेताहरूको सूची-

यी नेताको टिकट खोसिँदै

गठबन्धनका कारण सबै दललाई भागबण्डा गर्नुपर्ने र आफ्नै समूहका नेताहरू मिलाउनुपर्ने बाध्यता देउवालाई छ । यसले इतर समूहका प्रभावशाली नेताहरूकै टिकट खोसिँदैछ । मिनेन्द्र रिजालको मोरङ २ मा सुजाता कोइरालालाई उक्साइएको छ । ७४ मा वाम गठबन्धन हुँदा पनि रिजालले यो क्षेत्र जितेका थिए । यसपटक सुजाता कोइरालाले गिरिजाप्रसाद कोइरालाको विरासत रहेको क्षेत्रमा आफू उम्मेदवार बन्ने भन्दै देउवालाई सीट सुरक्षितका लागि दबाब बढाएकी छन् ।

देउवाले न सुजातालाई रोक्न चाहेका छन् न त रिजाललाई नै हुँदैन भन्न सकेका छन् । त्यस्तै सोलुखुम्बुमा माओवादीलाई दिनुपर्ने हुँदा बलबहादुर केसी ‘आउट’ हुँदैछन् । कांग्रेसले पाउँदा पनि देउवा पक्षका आङगेलु शेर्पाको एकल नाम जिल्लाबाट सिफारिस गरेर केसीलाई रोक्न खोजिएको छ ।

उता देउवा पक्षकै अर्का प्रभावशाली नेताहरू अर्जुन नरसिंह केसी र डा. रामशरण महतको पनि टिकट निश्चित छैन । रामशरणको क्षेत्र माओवादीले पाउने र नपाए पनि सो क्षेत्रबाट अझै पनि प्रकाशशरणले प्रयास गरेका छन् ।

नुवाकोट-२ मा कांग्रेसबाटै देउवा पक्षधर ठेकेदार बहादुर सिंह लामाले टिकट पाउने र अर्जुन नरसिंहलाई रोक्ने प्रयास छ । केसीको नामा जिल्लाबाट समानुपातिकमा सिफारिस भएको थियो । जगदिश नरसिंह केसीले पनि टिकट नपाउने भएका छन् ।

महेश आचार्य, गुरुराज घिमिरे, भुपेन्द्रजंग शाहीलगायतका नेताको पनि टिकट निश्चित छैन ।धनुषाका रामकृष्ण यादवको क्षेत्र नेकपा एस वा जसपालाई दिइदैछ भने सीतादेवी यादवले पनि सिराहाबाट टिकट पाउने सम्भावना छैन ।

सोही समूहका राजेन्द्र बजगाईलाई गोरखा २ बाट छेक्न सो क्षेत्र बाबुराम भट्टराईलाई छाड्ने चर्चाले कांग्रेसमा विद्रोहको माहौल छ ।
झापा २ मा दावी गरेकी सरिता प्रसाईलाई पनि टिकट पाउन मुस्किल देखिएको छ भने कैलाली ४ मा दावी गरिरहेका नेविसंघका पूर्व उपाध्यक्ष क्षितिज भण्डारीको ठाउँमा डोटीबाट विरवहादुर बलायरलाई ल्याएर उठाउने तयारी छ ।

यही बुझेर सकेसम्म धेरै सीट लिन प्रयास गर्ने तर नदिएमा आत्मसमर्पण गर्ने, शेख-गगनसहितले टिकट फिर्ता गर्ने र रुखमा भोट हाल्छौं भनी चुप बस्ने, असन्तुष्ट कार्यकर्ताको विद्रोहलाई नेतृत्व गर्दै अलग उम्मेदवारी दिने र एमालेसँग सीटको तालमेल गर्ने रणनीतिमा यो समूह छ ।

त्यही अनुरूप जिल्लादेखि शीर्ष तहका केही नेता एमालेको केन्द्रदेखि जिल्लासम्मै निरन्तर सम्पर्कमा छन् । देउवालाई मात्र नभएर गठबन्धनका अन्य दलका नेताकहाँ यो सन्देश पुगिसकेको छ । कांग्रेसको आन्तरिक ‘लफडा’ ले माओवादी र नेकपा एस झस्किएका छन् ।

नेपाली कांग्रेसको नेता भरत खड्का शेखर कोइराला समूहले ७७ वटै जिल्लामा उम्मेदवारी दिने हैसियत राख्नुपर्नेमा जोड दिन्छन् । अर्का नेता गुरुराज घिमिरेले कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण सुरू भएको बताउँछन् ।

‘बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सीट जितिँदैन’, घिमिरेले खबरदारी सभामा भनेका थिए ।

टिकट बाँडफाँटमा विभेद हुने बुझेको इतर पक्षमा ७७ वटै जिल्लामा बागी उम्मेदवारी दिने, समूहबाट कोही नउठेर रुखमा मात्र मतदान गर्ने तथा गठबन्धनका अन्य दलकालाई भोट नदिने र समानुपातिक तर्फमात्र मतदान गर्नेसम्मका दबाब छन् । तर, शेखर-गगन लगायत नेतृत्वकर्तालाई थामथुम पारेर देउवाले चुप बनाइदिने हुन् कि भन्ने चिन्ताका साथ अभियान ‘तुहिने’ चिन्ता रहेको एक जिल्ला सभापति बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर