लन्डनमा मनाइयो मोती जयन्ती – Nepal Press

लन्डनमा मनाइयो मोती जयन्ती

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले १५६औं मोती जयन्ती तथा दसैंतिहार २०७९ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका सहभागी साहित्यकारहरुले एकापसमा विजया दशमी तथा दीपावलीको शुभकामना साटासाट गर्दै आआफ्ना मुक्तक तथा गजल वाचन गरेका थिए ।

भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने प्रमुख अतिथि थिए । चर्चित गजलकार शितल कादम्बिनी र गजल गायक राज सिग्देल विशिष्ट अतिथि रहेको कार्यक्रममा गजलकार शितल कादम्बिनीले आफ्नो चर्चित गजल ‘कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ’ लगायतका ३ वटा गजल वाचन गरेकी थिइन् ।

कार्यक्रमकै लागि बेलायतमा रहेका गजल गायक राज सिग्देलले डा. रुपक श्रेष्ठको रचना रहेको आफ्नै गजल ‘झझल्कोमात्र उनको आउँदा पनि दुख्छ’ गाएका थिए ।

प्रतिष्ठानका सदस्य कुमार केसीका अनुसार कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कोषाध्यक्ष निशा केसी, सदस्य गुप्तबहादुर श्रेष्ठ र नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं १ का अध्यक्ष बाबुराम पोख्रेलले आआफ्नो गजल तथा मुक्तक वाचन गरेका थिए ।

यस्तै नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा केसी, सल्लाहकारत्रय डा. रुपक श्रेष्ठ, विनोद अधिकारी, सुमलकुमार गुरुङ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राज श्रेष्ठ, सदस्यहरु जीत बुढाथोकी छन्त्याल, कुमार केसी, नानु राना थापा, गंगा भण्डारी, अहिल्या कुँवर र कृष गुरुङले आआफ्नो रचना वाचन गरेका थिए ।

प्रतिष्ठानको बेलायत शाखाले नेपालबाट प्रकाशन हुने शारदा तथा मुक्तक सागर पत्रिकामा हरेक वर्ष प्रणय विशेष मुक्तक विशेषांक प्रकाशन गर्दै आएको छ । प्रतिष्ठानले हालै वरिष्ठ साहित्यकार सरुभक्तको हालसम्म प्रकाशित मुक्तकहरुको संग्रह निकालेको सल्लाहकार डा. रुपक श्रेष्ठले बताए ।

नेपाल मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष राज श्रेष्ठले समापन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *