एसएलसी पास नभएका १ लाख ३८ हजार म्यादी प्रहरीका आवेदक – Nepal Press

एसएलसी पास नभएका १ लाख ३८ हजार म्यादी प्रहरीका आवेदक

काठमाडौं । म्यादी प्रहरीका आवेदन दिनेहरुमध्ये सबैभन्दा बढी एक लाख ३८ हजार ४५२ जना साधारण लेखपढ गर्न जान्नेमात्रै रहेका छन् ।

त्यस्तै २२ हजार ३८६ जना प्लस टु उत्तीर्ण, ७१ हजार ९६२ जना एसएलसी उत्तीर्ण र ३११ जनामात्रै स्नातक उत्तीर्ण रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको दरखास्त आह्वान गरेको थियो । जसमा २ लाख ३३ हजार १०९ जनाले आवेदन दिएका थिए । यसमध्ये एक लाख १५ हजार छनोट हुने पैहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्नातक उत्तीर्णमध्ये प्रदेश १ मा ३७, मधेसमा ५३, बागमतीमा ३०, गण्डकीमा २५, लुम्बिनीमा ६२, कर्णालीमा ८, सुदूरपश्चिममा ३० र काठमाडौं उपत्यकामा ६६ जनाले आवेदन दिएका छन् ।

आवेदकको उमेरअनुसार २० वर्षसम्मका ७० हजार ९३८, २०-३० वर्षका एक लाख १५ हजार ३११ जना, ३०-४० वर्षका ३४ हजार ३३ र ४०-५४ वर्षका १२ हजार ६२७ जना रहेका छन् ।

गत स्थानीय तह निर्वाचनभन्दा ६० हजार कम आवेदन म्यादी प्रहरी भर्नाका लागि परेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा एक लाख म्यादी प्रहरीका लागि २ लाख ९३ हजार जनाले आवेदन दिएका थिए ।

म्यादी प्रहरी भर्ना हुन असोज ६ गतेसम्म आवेदनको समय तोकिएको थियो । असोज १४ सम्म छनोट सम्पन्न गरेर असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तयारी प्रहरीको छ । म्यादी प्रहरीको तालिम असोज ३० देखि कात्तिक ८ गतेसम्म सञ्चालन हुने प्रहरीले बताएको छ ।

यसपटक झन्डै ७० हजार पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले आवेदन दिएका छन् । पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीलाई छनोटमा पहिलो प्राथमिकता दिइने तयारी छ ।

४० दिनका लागि भर्ना हुने म्यादी प्रहरीले तलबबापत ३४ हजार ७६० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै खाद्यान्नबापत ७ हजार २००, पोशाक खर्चबापत ६ हजार र यातायात खर्चबापत एक हजार रुपैयाँ पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *