टिकट अरू दललाई भाग लाए गठबन्धन नगर्ने बैतडी कांग्रेसको निर्णय – Nepal Press

टिकट अरू दललाई भाग लाए गठबन्धन नगर्ने बैतडी कांग्रेसको निर्णय

कैलाली । नेपाली कांग्रेस बैतडी जिल्ला समितिले गठबन्धनका अन्य कुनै दललाई बैतडी जिल्ला जिम्मा लगाएर गठबन्धन नगर्ने निर्णय गरेको छ । सोमबार काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले गठबन्धनको नाममा बैतडी जिल्ला अन्य पार्टीको भागमा पारे त्यसको विरुद्धमा एकल उम्मेदवारी दर्ता गराउने निर्णय गरिएको हो ।

जिल्ला सभापति चतुर बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले जनमतका आधारमा संघीय सांसदको कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

‘यहाँ हामी बलियो अवस्थामा छौँ । त्यस कारण पनि हामीले यो क्षेत्र पाउनु पर्छ’ उनले नेपाल प्रेसलाई भने, ‘हामीले पाएनौँ भने यहाँ गठबन्धन हुँदैन । कांग्रेस एक्लै निर्वाचनमा होमिन्छौँ र जित्छौँ पनि ।’

बैतडीमा कांग्रेसको सङ्गठन बलियो रहेको भन्दै गठबन्धन नगर्दा यहाँ आफूहरूको विजय सुनिश्चित भएको जोशीले दाबी गरे ।
प्रतिनिधि सभा तर्फ एक मात्रै क्षेत्र रहेको यस जिल्लामा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार दामोदर भण्डारी विजयी भएका थिए ।

बैतडीमा वाम गठबन्धनका दामोदर भण्डारी विजयी भएका छन्। उनले ३९५२४ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नरबहादुर भण्डारीले २८२९१ मत पाएका थिए ।

अहिले भण्डारी एमालेका प्रदेश अध्यक्ष हुन् । उनी यस पटक पनि एमालेको तर्फबाट उम्मेदवार बन्ने पक्का हुँदा गठबन्धन भित्र नेपाली कांग्रेस र माओवादी केन्द्रले सशक्त दाबी गरिरहेका छन् । पछिल्लो समय बैतडी माओवादी केन्द्रको भागमा पर्ने सम्भावना बढेपछि कांग्रेसले विरोध जनाएको हो ।

‘जिल्ला समन्वय समिति पनि कांग्रेसकै नेतृत्वमा छ । यहाँ माओवादी भन्दा हामी बलियो छौँ । हामीले जित्ने आधारहरू यी हुन् भन्दै पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छौँ’ उनले भने भने ‘स्थानीय तहको गठबन्धनमा फाइदा भएन, यस पटक कांग्रेसलाइनै सिट दिनु पर्छ भन्ने हाम्रो निर्णय हो ।’

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले केही दिन पहिले जिल्ला पार्टी सभापति चन्द र पूर्व मन्त्री केशव बहादुर चन्दलाई बोलाएर बैतडी कांग्रेसको भागमा पर्ने प्रयास भइरहेको जानकारी दिएका थिए । कांग्रेसले यो क्षेत्र पाउनु पर्छ भन्ने दाबी गरेको बताउने पार्टी सचिव जोशीले उम्मेदवार को बन्ने भन्ने बारे त्यसपछि छलफल हुने जनाए ।

प्रतिनिधि सभामा कांग्रेसको जिल्ला समितिले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।

महिला, खस–आर्य, दलित सबै कोटामा बैतडीबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरिएको हो। बैठकमा काठमाडौँमा उपलब्ध जिल्ला कार्यसमितिका पदाधिकारीका लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर