जसपा छाडेका नेताहरु राखेर माओवादी-जसपा एकीकरण गरिएपछि तीव्र विवाद – Nepal Press

जसपा छाडेका नेताहरु राखेर माओवादी-जसपा एकीकरण गरिएपछि तीव्र विवाद

माओवादीले आफ्नो पार्टीको बदनाम गराएको भन्दै जसपा आक्रोशित

रुपन्देही । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच पार्टी एकीकरण भएको विषयमा तीव्र विवाद सुरु भएको छ । सोमबार बुटवलमा माओवादीले माओवादी र जसपा लुम्बिनीको एकीकरण भन्दै साउन १५ मा जसपा छोडेर बाबुराम भट्टराईले बनाएको नेसपा प्रवेश गरेका नेताहरुलाई प्रवेश गराएर स्वागत कार्यक्रम गरेपछि जसपा लुम्बिनीले आपत्ति जनाएको छ । नेपाल प्रेसले साउन १६ गते लुम्बिनीबाट जसपाका बहुमत नेताहरु नेसपा रोजेको समाचार प्रकाशन गरेको थियो ।

सोमबार बुटवलमा दुवै पार्टी कमिटीले संयुक्त कार्यक्रम गरेर पार्टी एकीकरण गरेको घोषणा गरेपनि यसरी प्रवेश गर्नेहरु अधिकांश नेसपाको कमिटीमा रहेकाहरु नै छन् । तर माओवादीले जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्यसचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरु टोपबहादुर कार्की, गीता यादवलगायत १८ जना प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्ताहरुबीच एकीकरण भएको जनाएको छ । उनीहरुलाई माओवादी केन्द्रका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (वलदेव)ले स्वागत गरेका थिए ।

नेता कार्यकर्तालाई स्वागत गर्दै नेता बलदेवले कम्युनिष्ट पार्टीहरु जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने बताए । माओवादीले पार्टी सदस्य संख्या बढाउँदै गएको र ठूलो कम्युनिष्ट पार्टी बनाउन माओवादीले नेतृत्वदायी भूमिका खेलिरहेको उनले दाबी गरे ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती, माओवादी प्रवेश गर्ने अतिउल्लाह खां, यज्ञ पोखरेल लगायतले धारणा राख्दै अब प्रगतिशील विचार बोक्ने पार्टीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
तर उनीहरुमध्ये खाँ बाहेक अरु कोही पनि अहिले जसपामा आवद्ध नै छैनन् ।

जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले माओवादीले झुटको खेती गरेर आफ्नो पार्टीको बदनाम गरेको भन्दै आक्रोश पोखेका छन् । ‘यतिसारो राजनीतिक बैमानी पनि गर्नुहुन्छ, साउन १५ मा उहाँहरुले जसपा छोडेको भनेर प्रचार गर्नुभएको छ, अहिले माओवादीको नेतृत्वले यस्तो बदनाम गराएर कसरी सहकार्य हुनसक्छ ?’, उनले भने ।

यो विषयमा नेकपा माओवादीका नेताहरुले पार्टी नेतृत्वले कुनै जानकारी नै नदिई पार्टी प्रवेश कार्यक्रम राखेको र रुपन्देहीमै रहेका माओवादीका केन्द्रीय नेताहरुलाई समेत नबोलाई सुटुक्क गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । रुपन्देहीमा माओवादीको प्रवेश कार्यक्रम रुपन्देहीको पार्टी नेतृत्वले नै बहिस्कार गरेजस्तो देखिएको छ । सो कार्यक्रममा माओवादी रुपन्देही संयोजक निर्मल शर्मा तथा इन्जार्ज हक्कीकुल्ला खाँ, नेता विनोद पहाडी तथा रुपन्देहीका कुने नेताहरु सहभागी भएनन् ।

‘बलदेव र सुदर्शनले रुपन्देहीको नेतृत्वलाई वेवास्ता गरेर एकलौटी रुपमा यो कार्यक्रम गर्नुभयो अनि हामी कसरी जाने ? यसरी अहिले प्रवेश गरेकाले पार्टी कसरी चलाउन सक्छन् ? यसरी पार्टी थप बदनाम हुन्छ, जसपामै नभएकालाई राखेर पार्टी एकीकरण भनेर ब्यानर बनाएर केन्द्रका नेताहरु सहभागी भएर झन् ठूलो बेइज्जत भयो’, माओवादी रुपन्देहीका नेताले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर