दशैंको मुखमा घरआँगनमै भत्ता पाउँदा खुशी भए ज्येष्ठ नागिरक – Nepal Press

दशैंको मुखमा घरआँगनमै भत्ता पाउँदा खुशी भए ज्येष्ठ नागिरक

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका- ५ की ९२ वर्षीया गजे तामाङले हरेक तीन–तीन महिनामा सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बुझ्दै आएकी छन् । गाउँ विकास समिति हुँदा वडा सचिवमार्फत उनले घरमै भत्ता बुझेकी थिइन् । यसबीच सरकारले बैंकमार्फत भत्ता प्रदान गर्ने निर्णय गरेपछि भने उनलाई खाडीचौरस्थित सिन्धु विकास बैंक पुग्नुपर्ने बाध्यता आइलाग्यो ।

सुनकोसी गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भने ज्येष्ठ नागरिकहरुलाई यस वर्षदेखि सम्बन्धित वडाबाटै भत्ता वितरण सुरु गरेको छ । बैंकमा पुगेर भत्ता लिन झन्झटिलो भएको गुनासो बढेपछि जनप्रतिनिधिहरुले वडाबाटै सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय लिएका हुन् ।

जसले गर्दा तामाङले विनाझन्झट आफ्नै वडाबाट तीन महिना को १२ हजार बुझेका छन् । आफ्नै घरआँगनमनै भत्ता बुझ्दा तामाङ खुशी छिन् ।

सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले तामाङलाई पहिलो तीन महिनाको १२ हजार रुपैयाँ भत्ता प्रदान गरेर वडाबाटै भत्ता वितरण सुरु गरेका छन् । ‘आफैले भोट दिएको मान्छेको हातबाट घरमै भत्ता पाएँ । एकदमै खुशी लागेको छ’, अध्यक्ष तिमिल्सिनाको हातबाट भत्ता बुझेपछि खुसी हुँदै तामाङले भनिन् ।

सुनकोसी- ५ रतनकोटकी ९१ वर्षीया उरुमा डोल्मा तामाङले पनि आफ्नै घरआँगनमा तीन महिनाको भत्ता उपाध्यक्ष कान्छी तामाङको हातबाट मात्रै बुझिनन् भत्ता लिन लठ्ठी टेक्दै वडा कार्यालयसम्म आइपुगेकी तामाङलाई गाउँपालिकाको गाडीले घरसम्मै छोडेपछि खुशीले गदगद भइन् ।

बैंकमार्फत भत्ता बुझ्दा बुढाबुढी, अपांगता भएकाहरुलाई समस्या र झण्झटिलो भएपछि गाउँपालिकाले बैंकसँग समन्वय गरेर सम्बन्धित वडाबाटै भत्ता वितरण गर्ने निर्णय गरेको सुनकोसी गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

सुनकोसीका ७ वटा वडामध्ये ४, ५ र ६ मा बैंक टाढा रहेको छ । यी वडामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको उनले बताए ।

गाउँपालिका उपाध्यक्ष तामाङले आगामी वर्षदेखि सकेसम्म सम्बन्धित व्यक्तिहरुलाई घरमै पुगेर भत्ता वितरण गर्ने योजना रहेको सुनाइन् ।

गाउँपालिकाभित्र सरकारले वर्गीकरण गरेको २ हजार ६८४ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए । वडा नम्बर १ देखि ५ सम्म सिन्धु विकास बैंक र ६ तथा ७ मा लक्ष्मी बैंकमार्फत भत्ता वितरण गर्ने गरिएको उनले बताए ।

वडा नम्बर १ देखि ३ सम्म सिन्धु विकास बैंक नजिकै भएकाले सम्बन्धित बैंकमार्फत नै वितरण हुने र ७ मा पनि लक्ष्मी बैक नजिकै भएकाले त्यो वडामा पनि बैंकबाटै भत्ता वितरण हुने दुलालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर