फेला परेकी छैनन् गायिका जेरुसा, प्रहरीका यी दुई आशंका – Nepal Press

फेला परेकी छैनन् गायिका जेरुसा, प्रहरीका यी दुई आशंका

काठमाडौं । गत बिहीबार साँझ ललितपुरको धोवीघाटस्थित घरबाट सम्पर्कविहीन गायिका जेरुसा राईबारे प्रहरीले अहिलेसम्म कुनै क्लु भेटाउन सकेको छैन ।

साँझ ७ बजे राई कोठामा नभेटिएपछि उनको खोजी सुरु भएको थियो । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार त्यस दिन राति ८ बजेको आसपासमा उनी कीर्तिपुरस्थित सुन्दरीघाट क्षेत्रमा ललितपुर र काठमाडौं जोड्ने बागमती खोलाको झोलुङ्गे पुलमा देखिएकी थिइन् ।

‘हामीले गरेको प्राविधिक अनुसन्धानमा उनी अन्तिमपटक सुन्दरीघाटमा रहेको सीसीटीभी फुटेजमा देखिन्छिन् । तर, त्यहाँबाट कहाँ गइन् भन्ने कुनै क्लु फेला पार्न सकेको छैन’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । प्रहरीले बागमती नदी बग्ने क्षेत्रमा खोजी गरे पनि जेरुसालाई भेट्न सकेको छैन ।

त्यसबाहेक प्रहरीले डग शाखाबाट तालिमप्राप्त कुकुरसमेत ल्याएर खोजीमा प्रयोग गरेको थियो । तर, कुकुरले समेत कुनै संकेत दिन नसकेको ती अधिकारीले बताए । प्रहरीका अनुसार जेरुसाले मोबाइल घरमै छाडेर गएकी छन् । जसले अनुसन्धानमा समस्या भएको प्रहरी अधिकारी बताउँछन् । ‘मोबाइल साथमा भएको भए केही सजिलो हुने थियो’, उनले भने ।

प्रारम्भिक अनुसन्धानमा जेरुसा डिप्रेसनको बिरामी भएको पाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘जेरुसाले डिप्रेसनको औषधि सेवन गरिरहेकी थिइन् ।’

घरबाट निस्कनुअघि ३० वर्षीय जेरुसाले आफ्नो कोठामा नोट लेखेर छाडेको पाइएको छ । अंग्रेजीमा लेखिएको उक्त नोटमा जेरुसाले आफूले बाँच्नुपर्ने जीवन बाँचिसकेको उल्लेख गरेकी छन् । यही आधारमा प्रहरीले जेरुसा आत्महत्या गर्न निस्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ ।

‘तर, बागमतीमा हाम्रो टोलीले यत्रो दिनसम्म खोज्दा भेटिएको छैन । यसको मतलब यदि आत्महत्या गरेको हो भने कुनै अन्य एकान्त ठाउँमा भएको हुनसक्छ । त्यसबाहेक उनी विरक्तिएर कुनै ठाउँमा बसिरहेको पनि हुन सक्छिन् । यी दुवै सम्भावनालाई नकार्न सकिँदैन’, अनुसन्धान अधिकारी भन्छन् ।

जेरुसाको खोजीमा उनकै आफन्त र साथीभाइको टोली पनि लगातार जुटिरहेको छ । सामाजिक सञ्जालका विभिन्न समूहहरुमा ‘तपाईंले हाम्रो जेरुसालाई देख्नुभयो’ लेखिएका पोस्टहरु छ्यापछ्याप्ती देख्न सकिन्छ।

डिभोर्सपछि डिप्रेसनमा

जेरुसाका बुबा भूपू ब्रिटिस आर्मी हुन्। उनका बुबाआमा डिभोर्स भएर बेग्लाबेग्लै बस्दै आएका छन् । आमा धोबीघाटस्थित घरमा एक्लै बस्छिन् भने बुबा बेलायतमै बस्छन् । बेलायतमा बुबासँगै लामो समय बसेकी जेरुसा केही वर्षयता अमेरिकामा थिइन् ।

अमेरिकामा रहँदा नेपाली युवकसँग विवाह गरेकी उनी सम्बन्ध राम्रो नभएपछि डिभोर्सको अवस्थामा पुगेकी थिइन् । डिभोर्सपछि उनी मानसिक समस्यामा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जेरुसा डेढ महिनाअघि मात्र अमेरिकाबाट फर्किएर धोबीघाटमा आमासँग बस्दै आएकी थिइन् । उनी कभर गीतहरु गाएर चर्चामा आएकी थिइन् । जेरुसाका गीतहरु पनि चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *