राष्ट्रपतिको राष्ट्रभक्तिपूर्ण क्षेप्यास्त्र र पञ्झाक्रीहरुको स्त्रीद्वेषी प्रलाप – Nepal Press

राष्ट्रपतिको राष्ट्रभक्तिपूर्ण क्षेप्यास्त्र र पञ्झाक्रीहरुको स्त्रीद्वेषी प्रलाप

राष्ट्रपतिको देशभक्तिपूर्ण मिसाइलबाट घायल लेण्डुप दोर्जेका नेपाली संस्करण

सामाजिक सञ्जालमा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासबाट बालकोट पठाउने धम्की दिएको भिडिओ भाइरल भइरहेको रहेछ । यस्ता दुर्वाच्य विद्या भण्डारीको सन्दर्भमा नयाँ होइनन् । रामकुमारी झाँक्रीहरु र पञ्चा सिंहहरुको सांस्कृतिकस्तर र चेतनाबाट व्यक्त हुने यस्ता विकारहरु यसअघि पनि समाजको रछ्यानमा छरपस्ट भएकै हुन् ।

सबैलाई थाहा छ, विद्यादेवी भण्डारी शीतल निवासमा राष्ट्रपतिको हैसियतमा बस्नुभएको हो र कार्यकाल सकिएपछि सम्भवतः चपलीस्थित आफ्नो निजी निवासमा सर्नुहुन्छ अथवा नयाँ बानेश्वरस्थित जननेता मदनकुमार भण्डारीको भाइको घरमा जहाँ उहाँ राष्ट्रपति हुनुभन्दा अगाडिसम्म बस्नुहुन्थ्यो त्यही फर्किनुहोला ।

तर, बारम्बार रामकुमारी झाँक्री र पञ्चा सिंहहरुका मुखबाट यो समाजको विकृति ह्वास्स बाहिर दुर्गन्धित भइरहेको हुन्छ । एकल महिलामाथि हुने हिंसा र चरित्र हत्याको सिलसिला विद्या भण्डारीले जननेता मदन भण्डारी बितेको करीब ३० वर्षको बीचमा कति झेल्नुभयो होला ? हामी अनुमानमात्र गर्न सक्छौं ।

विद्यार्थी आन्दोलनको नेतृत्व गरिसकेका र जिम्मेवार कम्युनिस्ट कार्यकर्ता ठानिएका झाँक्री र पञ्चाहरुको सांस्कृतिकस्तर एउटी महिलामाथि चरित्र हत्याको अस्त्र प्रयोग गर्ने छ भने अरुबाट के अपेक्षा गर्ने ? प्रस्ट छ देशको सर्वोच्च पदमा एकजना सक्षम र देशभक्त महिला आसीन हुँदा सबैभन्दा पीडा कथित नागरिक अभियन्तादेखि यस्तै जमातलाई भएको छ ।

संविधानको धारा १० बमोजिम प्रादेशिक पहिचानसहितको नागरिकता विधेयक ल्याउ भन्नु राष्ट्रपतिको असंवैधानिक काम हो ? लैंगिक समानता र वैवाहिक अंगीकृत नागरिकतामा निश्चित अवधि राख भन्नु संविधानको उल्लंघन हो ?

आज विद्या भण्डारीले देशभक्तिको मिसाल कायम गर्दा रामकुमारी झाँक्रीदेखि पञ्चा सिंहसम्मका छद्म वामपन्थी र मोहना अन्सारीदेखि इन्द्र अधिकारीसम्मका सम्भ्रान्त चारतारे अभियन्ताहरु एकल महिलामाथि चरित्रहत्याको विषालु हतियार प्रहार गर्दैछन् । महिलाकै अनुहारका यस्ता स्त्रीद्वेषी कुपात्रहरु इतिहासमा विभिन्न नाम र अनुहारमा प्रकट भइरहन्छन् ।

यो प्रहार विद्या भण्डारी सक्रिय राजनीतिमा लागेदेखि सुरु भएको थियो र परपीडकहरुको जमात अन्तिम हमला गर्न संगठित छ । उनीहरुको प्रहार रोक्न नेपालको देशभक्त जनता सामाजिक सञ्जालदेखि आवश्यक परे सडकमा पनि ढाल बनेर खडा हुन तयार छन् ।

राष्ट्रपतिले पठाएको कुन बुँदा असंवैधानिक छ ?

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका १५ बुँदामा कुन चाहिं गलत हो भनेर यिनीहरु बोल्न र लेख्न सक्दैनन् । आज पाँचदलीय सत्ता गठबन्धनको छैटौं घटक सर्वोच्च अदालत र सातौं घटक कथित मूलधारका मिडिया उनीहरुसँगै छन् । आफ्नो पक्षधरताका आधारमा एकोहोरो राष्ट्रपतिको राजीनामा मागेर सम्पादकीय लेख्नेदेखि चरित्रहत्या गर्नेसम्मका संगठित अभियानमा मिडिया प्रयोग भएको पनि देखियो ।

राष्ट्रपतिले नागरिकता विधेयक फिर्तासँगै पठाएको सन्देशमा उल्लेखित कुन चाहिं बुँदा देशको हित र जनताको हितविपरीत छन् भनेर यिनीहरुले लेख्दैनन्, बोल्दैनन् । संविधानको धारा १० बमोजिम प्रादेशिक पहिचानसहितको नागरिकता विधेयक ल्याउ भन्नु राष्ट्रपतिको असंवैधानिक काम हो ? लैंगिक समानता र वैवाहिक अंगीकृत नागरिकतामा निश्चित अवधि राख भन्नु संविधानको उल्लंघन हो ?

गठबन्धन पक्षधर भएपछि पदमुक्त भएको सभामुख र उपसभामुखले संसद सचिवालय चलाए पनि कोही बोल्दैन । सर्वोच्च अदालतको बहालवाला प्रधानन्यायाधीशलाई नजरबन्द गरेर अदालत कब्जा गर्दा स्वतन्त्र न्यायपालिकाको पक्षमा यिनीहरु कोही बोल्दैनन् र लेख्दैनन् ।

आज देशमा गठबन्धनको बलमिच्याइ र एक प्रकारले गुण्डाराज चलेको छ । संविधान, कानून र विधि एमाले वा एमालेको लिगेसी बोक्ने राष्ट्रपति, राष्ट्रियसभा अध्यक्षदेखि गाउँपालिकाका जनप्रतिनिधिसम्मलाई मात्र लाग्छ ।

गठबन्धन पक्षधर भएपछि पदमुक्त भएको सभामुख र उपसभामुखले संसद सचिवालय चलाए पनि कोही बोल्दैन । सर्वोच्च अदालतको बहालवाला प्रधानन्यायाधीशलाई नजरबन्द गरेर अदालत कब्जा गर्दा स्वतन्त्र न्यायपालिकाको पक्षमा यिनीहरु कोही बोल्दैनन् र लेख्दैनन् । यो सबै वर्ग पक्षधरताका आधारमा संविधानको हुर्मत लिने र गुण्डागर्दीमा देश चलाउने काम भइरहेको छ ।

सत्ता, अदालत र मिडिया मिल्नु भनेको डरलाग्दो सिन्डिकेट हो र लोकतन्त्रका लागि खतरा त हुँदै हो । राष्ट्रियतामाथि समेत संकटको क्षण हो । सरकार, अदालत, मिडिया र ह्वाइटकलर नागरिक अभियन्ताको कम्फरटेबल गठबन्धनले देशविरुद्ध राष्ट्रघाती विधेयक तथा प्रस्तावहरु संसदमा लगेर पारित गर्दा जसले त्यसको विरोध गर्छ त्यसको चरित्रहत्या गरिन्छ । त्यसको शिकार आज राष्ट्रपति बन्नु परेको छ ।

यो विदेशीको डिजाइनमा अदालतले सत्तासीन गराइदिएको परमादेशी कम्फरटेबल गठबन्धनले सत्तामा आउनासाथ एमसीसी पारित ग¥यो । एसपीपीको मस्यौदा तयार छ र चुनावपछि पारित गर्ने वचन अमेरिकीहरुलाई दिइसकेको छ । यस्ता कुरामा राष्ट्रपति असन्तुष्ट भए पनि विधेयक नभएकाले रोक्ने संवैधानिक ठाउँ थिएन ।

जब यिनीहरु भारतमा प्रचण्ड र आरजु देउवाबीच गराइएको ‘७ बुँदे सम्झौता’अनुसार नागरिकता विधेयक पारित गर्न अघि सरे, त्यसमा राष्ट्रपतिले संविधानले दिएको अधिकार प्रयोग गर्नुभयो । प्रचण्ड स्वयंले भारतीयले आफू र आरजुबीच गराइदिएको सम्झौताबाट चीन चिढिएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयकमा उठाएको लैंगिक समानताको विषय यसअघि अहिलेको मूलधारका भनिएका मिडिया, कथित नागरिक अभियन्ता र ‘स्युडो फेमिनिस्ट’हरुले चर्को आवाजमा सम्पादकीय लेख्ने र बोल्ने गरेका थिए । किनकि त्यतिवेला एमाले र केपी ओली सत्तामा थिए, उनीहरुले ठूलै एजेण्डा बनाएका थिए ।

जब गठबन्धन सरकारले त्यो लैंगिक समानता स्वीकार नगरी विधेयक पारित गर्‍यो यी गठबन्धनका मतियार मिडिया र अभियन्ताहरु चुपचाप बसे । किनकि यो विधेयक एमालेले ल्याएको थिएन, आफ्नै गठबन्धनले ल्याएको थियो । राष्ट्रपतिले लैंगिक समानताको प्रश्न उठाउनासाथ यिनीहरु राष्ट्रपतिको चरित्रहत्यामा उत्रिए, राजीनामा माग्न थाले । यसबाट पनि यिनीहरुका सबै एजेण्डा प्रायोजित हुन्छन् भन्ने नांगेझार भएको छ ।

कम्फरटेबल अदालत र हत्या अभियुक्त सभामुखले बनाइदिएको संसदको कृत्रिम बहुमत देखाएर एमसीसी र एसपीपी जस्तै राष्ट्रघाती नागरिकता विधेयक पारित गर्ने र विदेशी खुशी बनाउने गठबन्धनको षड्यन्त्र असफल पारेकोमा राष्ट्रपतिलाई युगयुगसम्म देशभक्त नेपालीले सम्झिनेछन् ।

एमालेले अध्यादेश ल्याउँदा रोक्ने को ?

जहाँसम्म जन्मसिद्ध नागरिकता पाएका बाबुआमाका नेपाली सन्तानले नागरिकता नपाएर समस्यामा परेको कुरा छ, उनीहरुमाथि ज्यादती भएकै हो । बाबुआमाले जसरी जुन प्रावधानबाट नागरिकता पाए पनि उनीहरुका छोराछोरी यहाँ जन्मिएपछि उनीहरुले वंशजको नागरिकता पाउनुपर्छ ।

उनीहरुलाई नागरिकता दिलाउन तत्कालीन केपी अ‍ोली सरकारले अध्यादेश ल्याउँदा अदालतबाट रोक्ने यिनै गठबन्धन होइनन् ? नत्र आज ती सबैले नागरिकता पाइसकेका हुने थिए । हिजो अध्यादेश ल्याइएकै उनीहरुलाई नागरिकता दिलाउन र उच्च शिक्षा अध्ययनलगायत उनीहरुको अधिकार संरक्षणका लागि थियो ।

त्यसबेला मुद्दा हालेर अध्यादेश रोक्नेहरु, राँको बालेर विरोध गर्नेहरु आज एमालेलाई मधेसविरोधी भन्दैछन् । त्यसवेला उनीहरु मधेसविरोधी थिए त्यसो भए ? वैवाहित अंगीकृत, लैंगिक समानतालगायतका विषयमा संसदबाट विधेयक पारित गर्ने गरी त्यसबेला सरकारले जन्मसिद्धका सन्तानलाई नागरिकता दिनमात्र बाटो फुकाउन खोजेको थियो ।

अहिले आएर गठबन्धनका मतियारहरु हिजो अध्यादेशको प्रावधान र अहिले विधेयकको प्रावधान एउटै थियो भन्दै भ्रम फिजाइरहेका छन् । अध्यादेश तत्काल काम चलाउन जुन प्रावधानका लागि चाहिएको थियो त्यसका लागिमात्र ल्याइएको थियो भन्ने कुरा उनीहरुले जति भ्रम फैलाए पनि लुक्दैन ।

लेण्डुप दोर्जेका नेपाली संस्करणको कोकोहोलो

राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि संसदमा पुनः छलफल गरेर संविधानबमोजिमका प्रावधान राख्न कसले रोकेको थियो यिनीहरुलाई ? जबकि बाहिरको माहोल र सामाजिक सञ्जालको मुड हेरेर प्रतिक्रिया दिने गगन थापासमेतले राष्ट्रपतिले उठाएका प्रश्न जायज रहेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

संसदमा बहुमत त लेण्डुप दोर्जेको पनि थियो । त्यही बहुमत संख्याले सिक्किम एउटा स्वतन्त्र देशलाई भारतमा विलय गराएको थियो ।

राष्ट्रपतिले संविधानबमोजिम पठाएको सन्देशमाथि छलफल नगर्ने गठबन्धनको संसदले प्रतिशोधमा पारित गरेर पठाएको राष्ट्रघाती नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नु भनेको राष्ट्रमाथिको घात हुने थियो । जुन राष्ट्रघात देशभक्त छोरी विद्या भण्डारीबाट हुन सम्भव थिएन र भएन । यसले गर्दा आज देशभक्त नेपालीले गर्वका साथ राष्ट्रपतिलाई आफ्नो वास्तविक अभिभावक महसुस गरेका छन् ।

कम्फरटेबल अदालत र हत्या अभियुक्त सभामुखले बनाइदिएको संसदको कृत्रिम बहुमत देखाएर एमसीसी र एसपीपी जस्तै राष्ट्रघाती नागरिकता विधेयक पारित गर्ने र विदेशी खुशी बनाउने गठबन्धनको षड्यन्त्र असफल पारेकोमा राष्ट्रपतिलाई युगयुगसम्म देशभक्त नेपालीले सम्झिनेछन् । संसदमा बहुमत त लेण्डुप दोर्जेको पनि थियो । त्यही बहुमत संख्याले सिक्किम एउटा स्वतन्त्र देशलाई भारतमा विलय गराएको थियो ।

आज लेण्डुप दोर्जेका नेपाली संस्करणहरु राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा संविधानको रक्षकबाटै संविधान मिचिएको कोकोहोलो मच्चाइरहेका छन् । देश र जनताको पक्षमा संविधान मिच्नुपर्छ भने एकपटक होइन पटकपटक संविधान मिचेर देश जोगाउने विद्या भण्डारीहरु चाहिएको छ यो देशमा ।

देशका लागि संविधान कि, संविधानका लागि देश ?

संविधान त कागजमा लेखिएको दस्तावेज हो । यो भोलि परिवर्तन हुनसक्छ । तर, यो देशको सिमाना र देशको अस्तित्व फेरिन सक्दैन । त्यसैले देश जोगाउने मूल्यमा संविधान उल्लंघन गर्नुपरे विनाहिच्किचाहट गर्नुपर्छ । देशभन्दा ठूलो संविधान होइन । संविधानबमोजिम नै राष्ट्रपतिले अहिले राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएन । आवश्यक पर्छ भने देश जोगाउन संविधान उल्लंघनमात्र होइन च्यात्न पनि तयार हुनुपर्छ ।

जुन भूमिकामा विद्या भण्डारी खरो उत्रिनुभएको छ, उहाँलाई गठबन्धनका मतियारबाहेक बहुसंख्यक नेपाली जनताको साथ छ ।

जननेता मदन भण्डारीले भन्नुभएको छ- सिद्धान्तका लागि जीवन कि जीवनका लागि सिद्धान्त ? आज जननेताकी धर्मपत्नीले देशका लागि संविधान कि संविधानका लागि देश भन्ने प्रश्नको उत्तर दिनुभएको छ । देश रहे यस्ता संविधान त ९ पटक बनिसके अब दशौं पटक फेरि बन्ला ।

लेण्डुप दोर्जेका नेपाली संस्करण पाँच दलीय गठबन्धन र त्यसका मिडिया तथा कथित बुद्धिजीवी सिण्डिकेटको विरोधबाट राष्ट्रपति विचलित हुनुहुन्न । यिनले सक्ने भए उहिल्यै महाअभियोग लगाएर हटाइसक्थे । यिनीहरुसँग हिम्मत भए राष्ट्रघाती नागरिकता विधेयकलाई चुनावी मुद्दा बनाएर जनतामा गए हुन्छ । जनताले लेण्डुप दोर्जेका नेपाली संस्करणलाई फूलमालाले स्वागत गर्छन् कि जुत्ताको मालाले गर्छन्, हामी पनि गाउँमै छौं, किनारामा बसेर हेरौंला ।

अन्तमा, जननेता मदनले भन्नुभएको छ- हाम्रा भगवान भनेका नबोल्ने ढुंगाका मूर्ति होइनन्, जीवित जनता हुन् । हामीले परिकल्पना गरेको राष्ट्रपति राष्ट्रघात हुँदा पनि नबोल्ने कथित सेरेमोनियल राष्ट्रप्रमुख होइन, देशभक्तिको कुरा आउँदा संविधानभन्दा माथि उठेर राष्ट्र र जनता जोगाउने राष्ट्रनायक हो ।

जुन भूमिकामा विद्या भण्डारी खरो उत्रिनुभएको छ, उहाँलाई गठबन्धनका मतियारबाहेक बहुसंख्यक नेपाली जनताको साथ छ । आवश्यक परेमा देशले प्रथम महिला प्रधानमन्त्रीको भूमिकामा फेरि विद्या भण्डारीको खोजी गरेमा उहाँ हामीबीचमै रहनुहुनेछ ।

लेखक लिखु गाउँपालिका (ओखलढुंगा)की उपाध्यक्ष हुन्


प्रतिक्रिया

2 thoughts on “राष्ट्रपतिको राष्ट्रभक्तिपूर्ण क्षेप्यास्त्र र पञ्झाक्रीहरुको स्त्रीद्वेषी प्रलाप

  1. साह्रै राम्रो र विश्लेषणात्मक लेख

  2. Nepali Congress netritwa ko sarkaar hudaa naagarikata bidheyak pass vayo vane madhes maa feri pani Congress nai baliyo hunxa, hamile vote badhauna sakdainaun vanera emaale ki raastrapati laai uchalera timrai olikaa Paula paalamaa lyaayeko adhyaadesh jastai bidheyak laai firtaa pathaako…..janatalaai jhuto kura bolera ullu banaune kaam ta jaanekaa xau timiharu raastraghaati khokre emaale harule….

Leave a Reply

Your email address will not be published. Required fields are marked *