सिन्धुपाल्चोक-१ : एमालेमा नेपाल बन्धुको विकल्पमा तेस्रो पात्रको इन्ट्री – Nepal Press

सिन्धुपाल्चोक-१ : एमालेमा नेपाल बन्धुको विकल्पमा तेस्रो पात्रको इन्ट्री

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर-१ मा गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र माओवादीको दाबी कायमै रहँदा एमालेभित्र पनि चहलपहल बढेको छ । सिन्धुपाल्चोक १ अन्तिममा माओवादीले पाएमा उम्मेदवार ‘काका’ हुने कि ‘भतिज’ हुने झनै अन्येलमा छ ।

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधिसभा-१ का लागि पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल, नेताहरू भरत पराजुली र बादल तामाङको नाम सिफारिस गरेको छ ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभामा माओवादीबाट अग्निप्रसाद सापकोटा उम्मेदवार भएका थिए भने नेपाल दाजुभाइ क्रमश: प्रदेश ‘क’ र प्रदेश ‘ख’ मा उमेदवार भएर जित हाँसिल गरेका थिए ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार भएर २०७० मा ३१ मतले पराजित भएका थिए एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल । २०७४ मा प्रदेशसभा ‘ख’ बाट विजयी भएपछि नेपाल झण्डै तीन वर्ष वागमती प्रदेशसभामा मन्त्रीसमेत भएका थिए ।

भूगोलको राजनीतिमा कम सक्रिय भएको अरुण नेपाललाई आरोप लाग्ने गरेपनि २०६४ देखि भने नेपाल निरन्तर भूगोलमा नै छन् । उनी मन्त्री हुँदा उनको प्रदेशमा अरबौंको विकास बजेटसमेत हाल्न सफल भएका थिए ।

प्रदेशमा मात्रै होइन प्रदेश ‘ख’ मा पनि उनको प्रभाव बाक्लो छ । जुगल गाउँपालिकाबाहेक अन्यत्र उनको प्रभाव बाक्लो रहेको छ, त्यसैले पनि नेपालले यो पटक फेरि प्रतिनिधिसभामा उम्मेदवार हुने योजनाका साथ भेटघाट र छलफललाई तीव्र बनाएका छन् । उनी एमालेका ‘१० भाइ’ नेताहरूसँगै नेकपा एसमा नगएर एमालेमा नै बसेका थिए ।

एमाले केन्द्रीय सदस्य सरेश नेपाल गाविस अध्यक्ष हुँदै एक कार्यकाल तत्कालीन जिल्ला विकास समितिको उपसभापति र एक कार्यकाल जिल्ला सभापति भइसकेका छन् । त्यसैगरी २०७४ को निर्वाचनमा उनी प्रतिनिधिसभा-१ प्रदेशसभा ‘ख’ बाट विजयी भएका थिए । २०७४ मा वाम गठबन्धनबाट विजयी भएका पाँच उम्मेदवारमध्ये ‘लोकप्रिय’ मतमा उनी पहिलो भएका थिए ।

वागमती प्रदेशसभामा अरुण नेपालले मन्त्री पदबाट राजीनामा दिएपछि सोही पदमा उनी केही समय मन्त्री भएका थिए । उनी मन्त्री र सांसद हुँदा सिन्धुपाल्चोकको विकट गाउँपालिकाको रूपमा चिनिएको जुगललाई बढी प्राथमिकतामा राखेर काम गरेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा पनि नेपाल दाजुभाइको नै दाबी थियो । अन्तिम समयमा अरुण ले टिकट पाएपछि सरेश नेपाल रुष्ट भएका थिए । उम्मेदवार मनोनयनमा नै सरेश नेपाल उपस्थिति भएका थिएनन् । त्यतिबेला सरेशको असहयोगले अरुण थोरै मतले पराजय हुनु परेको अरुण पक्षधर नेता-कार्यकर्ताहरुले अहिलेसम्म पनि आरोप लगाउँदै आएका छन् । तर, नेता सरेश भने त्यसलाई मान्न तयार छैनन् ।

यो पटक दुवै दाजुभाइलाई ब्याक गराएर तेस्रो पक्षलाई अगाडि बढाउन जिल्लाका केही नेता सक्रिय भएका छन् । टिकटमा दुवै नेताको दाबेदारी बलियो नै छ । एकले अर्कालाई छाड्दा एक जना ब्याक हुनुपर्ने अवस्था छ । दुवैले टिकटका लागि बलियो लबिङ गरिरहेका छन् ।

टिकटमा दुई नेताको अडान कायम नै रहँदा एमाले नेता कार्यकर्ताहरू भने नेपाल दाजुभाइको विकल्पमा तेस्रो व्यक्ति खोजिरहेका छन् । तेस्रो व्यक्ति को त ? यसको जवाफमा एमाले सिन्धुपाल्चोकका एक नेता भन्छन्, ‘दाजुभाइबीच सर्वसम्मत हुन नसके जिल्लाबाट सिफारिस भएका चारमध्ये भरत पराजुलीलाई अगाडि ल्याउनुपर्छ ।’

पराजुली एमाले सिन्धुपाल्चोकका पुराना नेता भए पनि कमिटीगत जिम्मेवारीमा खासै छैनन् । तर, एमालेका हरेक अभियानहरूमा पराजुलीको सक्रिय सहभागिता रहँदै आएको छ । जलविद्युत क्षेत्रको व्यवसायमा आबद्ध पराजुलीको नेतृत्वमा जुगल गाउँपालिकाभित्र मात्रै १५० भन्दा बढी मेगावाटको जलविद्युत आयोजनाहरू निर्माण हुने क्रममा रहेका छन् ।

बलेफी गाउँपालिकाका स्थायी बासिन्दा पराजुलीको बलेफीमा पनि पकड रहेको छ । खानेपानी र शिक्षा क्षेत्रमा कार्यरत रहँदा १ नम्बर क्षेत्रका अन्य बस्तीहरूमा समेत पराजुलीको पहिचान राम्रो छ । टिकटका लागि उनले एमाले केन्द्रीय नेताहरूसँग बाक्लो सम्बन्ध बढाइरहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत यस्तो छ-

निर्वाचन क्षेत्र नं. १

कांग्रेस-३४,९६१

एमाले-२६,५५९

माओवादी-१९,३३४

समाजवादी-२,३९१

राप्रपा-१,२११

निर्वाचन क्षेत्र नं. १ ‘क’

कांग्रेस-१४,७५५

एमाले-१०,३६६

माओवादी-४,७८९

समाजवादी-८,९१

राप्रपा-७,८९

निर्वाचन क्षेत्र नं. १ ‘ख’

कांग्रेस-२०,२०६

एमाले-१६,१९३

माओवादी-१४,५५४

समाजवादी-१,५००

राप्रपा-४,२२


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर