लुम्बिनी : डेंगुको तथ्यांकमा स्वास्थ्य मन्त्रालय नै बेखबर – Nepal Press

लुम्बिनी : डेंगुको तथ्यांकमा स्वास्थ्य मन्त्रालय नै बेखबर

रुपन्देही । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा छ प्रदेशको स्वास्थ्य मन्त्रालय । तर, मन्त्रालयनजिकै डेंगुबाट मृत्यु भएका व्यक्तिहरूको समेत तथ्यांक छैन मन्त्रालयमा । दुई दिनअघि मन्त्रालयले कार्यक्रम गरेर प्रदेशभरको डेंगुको विवरण हचुवाको भरमा सार्वजनिक गर्‍यो ।

साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ । त्यो संख्यामा तीन साताअघि मन्त्रालयको ५ सय मिटरमा पर्ने कालिकानगरमा मृत्यु भएका पूर्वगाविस उपाध्यक्ष चुरामणि आचार्यको नाम ठेगाना नै छैन भने रुपन्देहीको देवदह ५ खैरेनीमा केही दिनअघि डेंगुबाटै मृत्यु भएका ७२ वर्षीय दुर्गाप्रसाद सुवेदीको नाम ठेगाना उल्लेख छैन । कालिकानगरमा मृत्यु भएका आचार्य र खैरेनीमा मृत्यु भएका सुवेदीबारे अखबारमा खबर आएका थिए । प्रहरी, स्वास्थ्य कार्यालय तथा स्थानीय तहले चासो राखेको ती घटनामा मन्त्रालयको पनि बेवास्ता पाइयो ।

‘हामीले सूचना दिने ठाउँमा सूचना दिएका हौं, सरकारले कम व्यक्तिको मृत्यु भएको भनेर सूचना लुकाउन यस्तो गरेको होला, नियन्त्रणका काम गरेका छौं भनेर यस्तो सूचना लुकाएर हुन्छ ? सबै नागरिकलाई डेंगुको अवस्था कस्तो छ, सरकारले के गरेको छ भन्ने प्रष्ट छ’- चुरामणिका आफन्तले भने । मन्त्रालयले भने निजी अस्पतालमा भएका तथ्यांकहरू नभएको गैरजिम्मेवार जवाफ दिएर उम्कने प्रयास गरेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २ हजार ७ सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तर, यो तथ्यांक कुनै पनि अस्पतालको तथ्यांकसँग मिल्दैन । निजी अस्पतालको त कुनै तथ्यांक नै बाहिर आएको छैन ।

प्रदेशको स्वास्थ्य मन्त्रालयसँग पाल्पा, दाङ र बर्दियामा एक÷एक जनाको डेंगु संक्रमणबाट मृत्यु भएको मात्र तथ्यांक रहेको प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिए ।
मृत्यु हुनेमा पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूषको त्यस्तै भदौ २७ गते दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिलाको र बर्दियाका ८६ वर्षीय वृद्धको पनि डेंगु संक्रमणबाट मृत्यु पौडेलले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशका दाङमा १ हजार १ सय ८० सबैभन्दा बढी, रुपन्देहीमा ७ सय, गुल्मीमा २ सय ९८, अर्घाखाँचीमा १ सय ३८, पाल्पा ९८, नवलपरासी ६२ संक्रमित भएका छन् भने ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न अस्पतालहरुमा दैनिक ४० जनासम्म डेंगु संक्रमित आउने पौडेलले बताए ।
साउन मसान्तसम्म करिब ४ सय जनामा डेंगुको संक्रमण पुष्टि भएकोमा भदौमा मात्र २२ सयभन्दा बढी संक्रमित थपिएको डा पौडेलले बताए । मन्त्रालयका अनुसार प्रदेशमा हाल २ हजार ७ सय ८ जना संक्रमितहरु रहेको र महामारीजन्य रोग अन्तरगत रहेर काम अघि बढाएको उनको भनाइ छ ।

ठुला अस्पताल १३ जना बिरामी रहेको प्रदेशमा सैया अभाव नरहेको बताए । उनले स्वस्थ्य सेवाको क्षेत्रमा रहेर स्थानीय तहसंग समन्वय गरि काम निरन्तरता अभियान संञ्चालन गरेको बताए ।
उनले सरकारी अस्पतालको तथ्याकमा मन्त्रालयसंग रहेको बताउदै निजी क्लिनिकमा उपचार गर्नेहरुको तथ्याक पाउन नसकेको वताए । डा. पौडेलले सरकारले ४ वटा रणनीतिहरु तयार गरिकाम गरेको बताउँदै नियमित निगरानी, खोजतलास गर्ने, समयमा नै निदान र अभिमुखीकरण, हरेक पालिका तहमा रोगकारण लामखुट्टेको पहिचान र रोकथामको काम गर्ने रहेको वताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले खोज र नष्ट अभियान पालिकाहरूमा चलाएको दाबी गरे ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले घरभित्रै भएको सफा पानीमा डेगीको लार्भा विकास हुने हुदा यसतर्फ सचेत हुनुपर्ने बताए । यो एउटा भाइरल भएको भन्दै संगै यसमा संक्रमितमा अन्य रोगहरु देखापरेमा स्वस्थ्य समस्या देखिने डा. देवकोटाले बताए ।

उनले लामखुट्टेको टोकाइबाट बच्नुबाहेक अरु उपाय नरहेको बताउँदै अस्पतालमा उपचारका लागि तयारी अवस्थामा राखिएको वताए । सचिव देवकोटाले बिस्तारै संक्रमण घटेको देखिएपनि अझै २ महिना अवस्था सामान्य नहुने भएकाले सर्तक रहन आग्रह गरे । प्रदेश स्वस्थ्यमन्त्री इन्द्रजित थारुले सचेतना अभियानलाई निरन्तरता दिएको भन्दै संक्रमण बढेपछि वृहत रोकथामका लागि कार्यक्रम गरिएको दाबी गरे ।

मन्त्री चौधरी र स्वास्थ्य सचिव देवकोटाको योजनामा स्वास्थ्य मन्त्रालय दाङमा राखिएपनि मन्त्रालयको काम भने बुटवलबाटै गरिएको छ । कर्मचारी व्यवस्थापन, स्थानीय पालिकासँगको समन्वय अभावका कारण यो मन्त्रालय अलपत्रजस्तै परेको छ । यसअघि यही मन्त्रालयमा राज्यमन्त्री रहेकी विमला वली खत्री विवादमा परेपछि अहिले राजीनामा दिएर बसेकी छन् ।


प्रतिक्रिया

One thought on “लुम्बिनी : डेंगुको तथ्यांकमा स्वास्थ्य मन्त्रालय नै बेखबर

  1. ठगहरूको झुण्ड हो यो गठबन्धन । यसलाई काम गर्ने, जनताको सेवा गर्ने भन्ने कुरा नै छैन । प्रदेश लुटन आएकाहरू हुन् यी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर