सन्दीपले भनेः अस्वस्थताका कारण आइसाेलेसनमा छु, चाँडै नेपाल फर्केर झूटा उजुरीको प्रतिवाद गर्नेछु – Nepal Press

सन्दीपले भनेः अस्वस्थताका कारण आइसाेलेसनमा छु, चाँडै नेपाल फर्केर झूटा उजुरीको प्रतिवाद गर्नेछु

काठमाडौं। प्रहरीको खोजीमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन् ।

आफू रहेको स्थान नखुलाइकन सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सन्दीपले यस्तो बताएका हुन् । उनले कसुर प्रमाणित नभइकन आफूलाई अपराधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन्

आफू विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएको उनले बताएका छन् । ‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी  सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ सन्दीपले भनेका छन् । यी सबै कुराले आफूलाई मानसिक असर परेको र खराब स्वास्थ्यका कारण आफूलाई आइसोलेसनमा राखेर बसेको उनले बताएका छन् ।

‘झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ । जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ उनले भनेका छन् ।

आफू एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको पनि सन्दीपले बताएका छन् । आफूmलाई अपराधी साबित गराउने झुट्टा जाहेरी र प्रपञ्चहरूको कानुनी लडाइँ लड्ने उनको भनाइ छ ।

‘मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुर दार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धी हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु,’ उनले भनेका छन् । आफूविरुद्द अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन उनले सबैमा अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर