शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै नगरपालिकामा तोडफोड (भिडिओ) – Nepal Press

शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै नगरपालिकामा तोडफोड (भिडिओ)

जनकपुरधाम । रौतहटको बौधिमाई नगरपालिकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूले आक्रमण गरेका छन् । शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै आक्रोशित विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

सयौँको संख्यामा नगरपालिका पुगेका विद्यार्थीहरूले मेयर प्रदीप यादव चढ्ने ना१ झ १६९३ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । गाडी क्षतिग्रस्त बनेको छ । यस्तै उनीहरू कार्यालयको कुर्सी, सोफा, टेबुल लगायतका समान पनि तोडफोड गरेको बुझिएको छ ।

मेयर यादवले कार्यालयमा काम गरिरहेको बेला विद्यार्थीहरूको समूह पुगेर अचानक आक्रमण गरेको बताए । उनले भने, ‘म चढ्ने गाडी मात्र होइन, कार्यालयमा समेत तोडफोड गरी करोडौँको क्षति पुर्‍याएका छन् ।’

‘विद्यार्थीहरूको हुलमा बाहिरका मान्छे पनि थिए’, उनले भने, ‘ममाथि समेत आक्रमणको प्रयास गरे । तर जसोतसो ज्यान जोगाए ।’ उनीहरू किन तोडफोड तथा आक्रमण गरेको कुरा थाहा नभएको बताए ।

मेयर यादवका अनुसार तीन दिन अगाडि विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि बजेट माग्न आएका थिए । तर नगर परिषद् नभएकाले तत्काल बजेट दिन नसक्ने र परिषद् भएपछि बजेट उपलब्ध गराउने भनेर सम्झाई बुझाई पठाएको थिए । तर आज नगरपालिकामा आएर अचानक आक्रमण गरे ।

नगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्षमा जसपाबाट निर्वाचित नरेन्द्र सिन्हाका दाइ प्रधानाध्यापक हरेन्द्र प्रसाद कुशवाहाको निर्देशनमा विद्यार्थीहरू आक्रमण गरेको मेयर यादवले आरोप लगाए । मेयरमा यादव नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।

सुरक्षाका लागि पुगेका प्रहरीमाथि समेत विद्यार्थीहरू ढुंगामुडा गर्दा पटक पटक झडप भएको छ । नेपाल र सशस्त्र प्रहरीले सात राउण्ड अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएका छन् ।

झडपका क्रममा नेपाल प्रहरीका असई सुनिल यादवसहित २ जना र सशस्त्र प्रहरीका ३ जवान घाइते भएका रौतहटका एसपी वीर बहादुर बुढाथोकीले जानकारी दिए । झडपमा केहि विद्यार्थी पनि घाइते भएका छन् । तर एसपी बुढाथोकीले विद्यार्थी घाइते भएको विवरण नआएको बताए ‌।

उनका अनुसार आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । ‘पक्राउ परेकाहरू आउट ड्रेसमा छन् । त्यसैले विद्यार्थी हुन् कि बाहिरका मान्छे त्यो थाहा भएन । अनुसन्धान भइरहेको छ’, एसपी बुढाथोकीले नेपाल प्रेसलाई बताए । अहिले त्यहाँको स्थिति सामान्य बनेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर