उपभोक्ता ठग्ने ८७ फर्मलाई कारबाही, ११ लाखभन्दा बढी जरिबाना – Nepal Press

उपभोक्ता ठग्ने ८७ फर्मलाई कारबाही, ११ लाखभन्दा बढी जरिबाना

काठमाडौं । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको दसैँलक्षित अनुगमनअन्तर्गत असोज १ यता काठमाडौं उपत्यकाका ६५ फर्म कारबाहीमा परेका छन् । यो अवधिमा उपत्यकाबाहिरका २२ फर्मलाई कारबाही गरिएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए ।

मूल्य, गुणस्तरलगायतमा उपभोक्तालाई ठगी गर्ने ती फर्मबाट ११ लाख रूपैयाँभन्दा बढी जरिबाना तिराइएको छ । अहिले विभागले दैनिक १० टोलीमार्फत बजार अनुगमन गरिरहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

पछिल्लो एक सातामा विभागले उपत्यकाभित्र २७२ फर्ममाथि अनुगमन गरेको छ ।

अनुगमनका क्रममा खरिद बिल नराखेको, दर्ता प्रमाणपत्र देखिने गरी नराखेको, मूल्यसूची नराखेको पाइएकोमा त्यस्तालाई अधिकांश ५ हजार जरिबाना गरिएको छ । कारबाहीमा परेका फर्मलाई दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल लिई विभागमा उपस्थित हुन, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ ।

विभागले खाद्य वस्तु, तरकारी फलफूल, मिनी मार्ट, फार्मेसी, माछामासु, सूर्तीजन्य एवं मदिरा, डेरी प्रोडक्ट, तयारी तथा थान कपडा पसल, कस्मेटिक तथा मिठाइ पसलमा अनुगमन गरेको थियो । यस पटक क्षेत्रगत विज्ञसमेतलाई साथमा लिएर विभागले अनुगमन गरिरहेको छ ।

शनिबार विभागले काभ्रे, धुलिखेल, धादिङ, नौबिसेलगायतका ठाउँमा विशेषज्ञ टोलीमार्फत अनुगमन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर