डेंगुको देशव्यापी प्रकोप : कोभिडभन्दा कति समान, कति फरक ? – Nepal Press

डेंगुको देशव्यापी प्रकोप : कोभिडभन्दा कति समान, कति फरक ?

७६ जिल्लामा फैलियो डेंगु

काठमाडौं । डेंगुको संक्रमण बढेको र अस्पताल भरिएको समाचार त सुनिरहेकै थिए जोरपाटीका महेश श्रेष्ठले । तर, खासै वास्ता गरेनन् । एक साताअघि उनलाई ज्वरोसँगै कमजोर महसुस हुन थाल्यो ।

सिटामोल खाँदासमेत १०२ डिग्री भन्दा तल ज्वरो घटेन । सँगै शरीर अत्यधिक दुख्न थाल्यो । आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने हुन थाल्यो । यसअघि पनि कोरोना संक्रमण हुँदा पनि उनलाई यस्तै लक्षण देखिएको थियो ।

अवस्था गम्भीर बन्दै गएपछि उनी अस्पताल नै भर्ना भए । टेस्ट गर्दा डेंगु भएको पुष्टि भयो । अस्पतालको पाँच दिनको बसाइपछि घर फिरे तर १० मिनेट समेत उभिन नसक्ने गरी गलेका थिए । उनी अझै पूर्णरूपमा ठीक भइसकेका छैनन् ।

श्रेष्ठ भन्छन्, ‘डेंगुलाई खेलाँची गर्न नहुने रहेछ । मलाई त ज्यान नै जाला जस्तो भएको थियो ।’

अहिले डेंगुबाट संक्रमित भएर निको भएकाहरूले सामाजिक संजालमा आआफ्ना अनुभव सेयर गरिरहेका छन् । धेरैले भन्छन्- कोरोनाभन्दा पनि गाह्रो बनाउँदो रहेछ ।

डेंगु बिरामीलाई टाउको, आँखाका गेडी, मांशपेशी, जोर्नी, पिडौला, ढाड सबैतिर दुखाइ हुनछ । बान्ता आउने, खानामा अरुची हुने जस्ता लक्षणहरू पनि देखिन्छन् । डेंगु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दागहरू देखा पर्छन् ।

आजभोलि यस्ता लक्षण देखिएका बिरामी घरघरमा भेटिन थालेका छन् । साथै अस्पताल पुग्ने विरामीको चाप बढ्दो छ । डेंगुबाट सबै उमेरका मानिसहरू संक्रमित भइरहेका छन् । कोरोना महामारी नियन्त्रणमा अब्बल ठहरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाकालको जस्तै तनाव छ ।

कतिपय मानिसहरू कोरोनाको लक्षण देखिएको भन्दै अस्पताल पुग्छन् र उनीहरूमा डेंगु संक्रमण पाइने गरेको छ । भदौयता कोरोना संक्रमितले भन्दा डेंगुका विरामीले अस्पताल भरिएको छ ।

कोरोना भर्सेस डेंगु

कोरोना संक्रमण हुँदाको सुरूको लक्षण र डेंगुको लक्षणमा धेरै समानता छन् । कोरोनाको चौथो लहर सुरू हुनु र डेंगु फैलनु एकैपटक जस्तो भएको थियो ।

चौथो लहरको ग्राफ उकालो लाग्दा उपत्यकालगायत देशभर डेंगुको संक्रमण फाट्टफुट्ट थियो । अहिले कोरोना संक्रमण घटेर दैनिक ५० मा पुगेको छ भने मृत्युदर शून्यमा झरेको छ । तर, डेंगु भने भयावह रूपले अवस्थामा फैलिएको छ ।

डेंगु र कोभिडको मिल्दोजुल्दो लक्षण भनेको मुख्यत त ज्वरो नै हो । टाउको दुख्ने, ज्वरो आउने, हल्का जीउ दुख्ने लक्षणहरू दुवै संक्रमणमा मिल्दाजुल्दा हुन्छन् । तर, केही लक्षणहरूका आधारमा डेंगु र कोभिड छुट्याउन सकिन्छ ।

शुक्रराज तथा सरुवा रोग अस्पतालकाविशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुमा सहनै नसकिने गरी शारीरिक पीडा हुन्छ । कोभिडमा भने सामान्यतया रुघाखोकी जस्ता लक्षणहरू बढी हुन्छन् ।

पुनले भने, ‘धेरैजसो मान्छेहरू अस्पताल आउँदा शरीरमा अत्यधिक पीडा भएको सुनाउँछन् । ज्वरो आएपनि नआएपनि हामी टेस्ट गछौं र डेंगु पुष्टि हुन्छ । अब कसैलाई खोकी लाग्यो, घाँटी खसखस गर्यो, नाकबाट सिंगान बग्यो भने त्यो चाहिँ कोभिडतिर जान्छ ।’

डेंगु र कोभिडको अर्को मुख्य भिन्नता भनेको कोभिडजसरी सजिलै डेंगु व्यक्ति-व्यक्तिबाट सर्दैन । तर, एउटै घरमा धेरैलाई डेंगु देखिएका पनि प्रशस्त उदाहरण छन् ।

डा. पुन भन्छन्, ‘घरकै मान्छे एकपछि अर्को बिरामी हुँदै जाँदा धेरैको मनमा यो पनि सरुवा रोग हो कि भन्ने प्रश्न आइरहेको छ । डेंगु मान्छेबाट सर्ने होइन, लामखुट्टेबाट हो । उसको घर, विद्यालय वा कार्यालयमा त्यो लामखुट्टै रहेछ भन्ने बुझ्नुपर्छ ।’

एकपटक डेंगु भएको व्यक्तिलाई चार पटकसम्म दोहोरिन सक्ने उनले बताए । डेंगु भएका बिरामीको हतपति ज्वरो घट्दैन । त्यसैले दिनमा ४ पटकसम्म सिटामोल खानुपर्ने डा. पुनको भनाइ छ ।

अहिले भयावह अवस्था आइसके पनि सरकार खासै रोकथामतिर नलागेको उनी गुनासो गर्छन् ।

उनी भन्छन्, ‘रोकथामको लागि कुनै प्रतिकार्य गरेको देखिँदैन र गरिएन पनि ।’

अहिले डेंगुका लक्षण देखिएका विरामीहरू घरमै बस्न रुचाएको देखिएको उनको भनाइ छ । त्यसको एउटै कारण भनेको डेंगुको विशेष औषधी हुँदैन । अस्पताल गएर पनि सिटामोटल नै खाने हो भने र घरमै बसिरहेका छन् बिरामी । त्यसैले अस्पतालमा चाप भए पनि कोभिडको बेलाजस्ता अस्तव्यस्त अवस्था छैन ।

लक्षणहरू कडा भए पनि डेंगुलाई कोरोनाजस्तो खतरानाक भने मानिँदैन । कोरोनाले धेरैलाई सामान्य लक्षण देखिए पनि कसैकसैलाई केही दिनमै सिकिस्त बनाएर मृत्युको मुखमा पनि पुर्‍याउन सक्छ । त्यसैले यो एउटा अविश्वनीय रोग हो । डेंगुमा पनि खेलबाड गरे मृत्यु हुन सक्छ, यद्यपि, यसको मृत्युदर भने अत्यन्त न्यून छ ।

७६ जिल्लामा फैलियो, २९ को मृत्यु

हुन त नेपालमा डेंगु पहिलोपटक फैलिएको होइन् । सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेको थियो । त्यसयता बर्सेनि डेंगुको संक्रमण देखिँदै र बढ्दै आएको छ ।

खासगरी, सन् २००६, २०१०, २०१२/१३, २०१७ र २०१९ मा डेंगुले प्रकोपकै रूप लिएको संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् । उनका अनुसार तराई-मधेसमा बढी देखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौंजस्ता पहाडी जिल्लाहरूमा देखिएको थियो । सन् २०१९ मा त डेंगुको प्रकोप नै उत्पन्न भयो ।

यो वर्षमा सुरूवातदेखि नै बिरामीको चाप बढेको छ । सुरूमा संक्रमितहरूलाई लक्षणहरू सामान्य थियो । बिस्तारै कडा-कडा लक्षण देखापरेको चिकित्सहरू बताउँछन् । चिकित्सकका अनुसार लामखुट्टले टोक्नेबित्तिकै ज्वरो आउँदैन । डेंगुको लक्षण देखिन १० देखि १२ दिन लाग्छ ।

समुदायस्तरमा १० हजार मानिस डेंगुबाट संक्रमित भए भने १ हजार जनामा लक्षण देखापर्ने उनको भनाइ छ । जसमध्ये ५ सयजना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को ५ सयजनामा डेंगु ज्वरोका लक्षण देखिन्छन् ।

गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, खुट्टा सुनिनेजस्ता लक्षणहरू देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।

गत जुलाईबाट सुरू भएको डेंगु हालसम्म ७६ जिल्लामा फैलिइसकेको छ भने देशभरमा २९ जनाले ज्यान गुमाएका छन् । डेंगुबाट सबैभन्दा प्रभावित बागमती र प्रदेश र लुम्बिनी प्रदेश हुन् । वागमती प्रदेशमा हालसम्म ११ जनाको डेंगुको कारण मृत्यु भइसकेको छ । हाल २५ हजार ३५२ जना भन्दा बढी संक्रमित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी काठमाडौं, ललितपुर मकनापुर दाङ र भक्तपुरमा एक हजारभन्दा बढी डेंगुका विरामी भेटिएका छन् । हुम्ला र डोल्पामा समेत डेंगुका बिरामी भेटिएका छन् ।

कसरी गर्ने नियन्त्रण ?

डेंगु सार्ने लामखुट्टे ८ सय मिटरसम्म उड्नसक्ने भएकाले घरको माथिल्लो तलामा पनि उत्तिकै जोखिम हुने विज्ञहरूको भनाइ छ । डेंगु सार्ने माध्यम के हो भनेर बुझ्न लामखुट्टेको व्यवहार बुझ्न जरुरी रहेको डा. बास्तोला बताउँछन् ।

विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट ‘डेंगु’ को संक्रमण फैलिने गर्छ । लामखुट्टे धेरै पाइने तराई-मधेसमा मात्र होइन हिमाली क्षेत्रमा समेत डेंगुको संक्रमण बढ्दै गएको छ ।

डेंगु सार्ने लामखुट्टे बिहान घाम झुल्कने बेला र बेलुका घाम अस्ताउने बेला सक्रिय हुन्छन् । डा. बास्तोलाका अनुसार घरबाहिर मात्र नभई घरभित्रै पनि यस्ता प्रजातिको लामखुट्टे हुन सक्छन् ।

डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । साँझ-बिहान बढी सतर्क रहनुपर्छ । घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ-बिहान सकेसम्म बाहिर ननिस्कने, निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्न सुझाव दिन्छन् डा. बास्तोला ।

सफा पानीमा, पानी जमेको ठाउँमा फुल पार्ने भएकाले डेंगु रोकथामका लागि सबैभन्दा महत्वपूर्ण काम लामखुट्टेको लार्भा नष्ट गर्नु हो । आम सर्वसाधारणले बुझेर लार्भा नष्ट गर्न सकेमा मात्र डेंगु नियन्त्रण हुने बास्तोलाले बताए ।

उनी भन्छन्, ‘मेरै घरमा लामखुट्टेको फ्याक्ट्री छ भनेर सर्वसाधरणले नबुझेसम्म सरकारले गरेको प्रयास असफल हुन्छ । सर्वसाधारणको साथ नभइ सरकार एक्लैले यो महामारी नियन्त्रण गर्न सक्दैन ।’

कस्ताे अवस्थामा  बिरामीकाे मृत्यु हुन्छ ?

डा. पुनका अनुसार एउटा स्वास्थ्य मानिसमा डेढ लाखदेखि ४ लाख सम्म माइक्रोलिटरसम्म प्लेटलेट्स हुन्छ । तर डेंगुले शरीरमा प्लेटलेट्सको मात्रा घटाएर २० हजारसम्म पुयाउँछ । प्लेटलेट्सको कमीले रगत जम्न सक्दैन । बिरामीको ज्यानै जाने जोखिम हुन्छ । यसलाई डेंगु सक सिन्ड्रम पनि भन्निछ । मान्छे सक (अचेत हुने अवस्था)मा गइसकेको हुन्छ। त्यो अवस्थामा पनि उपचार पाएन भने व्यक्तिको मृत्युसम्म हुनसक्छ।

दसैँमा झन् जोखिम

अबको डेढ महिनासम्म डेंगुको जोखिम रहेको महाशाखाले जनाएको छ । लामखुट्टेको प्रजनन गर्ने समय कात्तिक मसान्तसम्म हुने भएकाले र जाडो पनि सुरू हुने भएकाले कात्तिक मसान्तसम्म जोखिम हुने महाशाखा प्रमुख डा. चुम्मनलाल दास बताउँछन् । त्यसपछि बिस्तारै केस घट्दै जान्छ भन्ने अनुमान महाशाखाको छ । दसैँको समयमा गाउँगाउँसम्म सर्नसक्ने उनले बताए ।

डा. दासले भने, ‘७६ जिल्लामा लामखुट्टे छ भन्ने पुष्टि भएको छ । धेरै केस काठमाडौं उपत्यकामा भएको हुनाले दसैँमा जाँदा अझ बढी सर्नसक्ने सम्भावना त रहने नै भयो ।’

के गर्दैछ सरकार ?

डेंगुको संक्रमण तीव्र भएपछि सरकारले केही दिनअघि सुचना निकालेर कर्मचारीहरूलाई कार्यालयमा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गरेको थियो । त्यसबाहेक सरकारबाट कुनै ठोस कदम नचालेको भन्दै आलोचना भइरहेको छ ।

तर, इपिडियोलोजियो तथा रोग नियन्त्रण महाशाखा भने अहिलेसम्म गरेको कामको फेहरिस्त लामो भएको दाबी गर्छ । अहिले सबै स्थानीय तह, वडा तहसम्म पुगेर लार्भा नष्ट गर्न पहिलो प्राथमिकता दिइएको महाशाखा प्रमुख दास बताउँछन् ।

उनी भन्छन्, ‘अहिले लार्भा नष्ट गरौं भन्ने अभियान गाउँ-गाउँ, टोलटोलसम्म पुर्‍याइएको छ । त्यसका लागि बजेट समेत छुट्याइएको छ ।’

उनी पनि डा. बास्तोलाको भनाइमा सहमति जनाउँछन् । जबसम्म नागरिक आफैं सचेत हुदैनन्, तबसम्म सरकार एक्लैको प्रयासले डेंगु नियन्त्रण नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर