यसवर्षको सोह्रश्राद्ध आजबाट सकिँदै – Nepal Press

यसवर्षको सोह्रश्राद्ध आजबाट सकिँदै

काठमाडौं । पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज औँसीका दिन पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यसवर्षको सोह्रश्राद्ध विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ ।

पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको धार्मिक महत्वका नदी र तलाउतटमा आज अन्तिम तर्पण दिँदै पितृ विसर्जन गर्दैछन् ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू धर्मावलम्बी आज तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् ।

पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध भाद्र २६ गतेदेखि शुरु भएको थियो । सोह्र श्राद्ध हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ ।

बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि हिन्दुहरुको महान पर्व बडादशैं सुरु हुँदैछ । भोलि घरघरमा घटस्थापना गरी जमरा राखेपछि दशैं सुरु हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *