विदेहबाट ओलीको उद्घोष- एमालेको साथ, मधेसको विकास – Nepal Press

विदेहबाट ओलीको उद्घोष- एमालेको साथ, मधेसको विकास

विगतमा एमालेमुक्त मधेसको भ्रममा थियौँ, अब एमालेमय मधेस बनाउँछौ : उमाशंकर अरगरिया

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको भन्दै आफूले मधेसको विकास थालेपछि उनीहरू आत्तिएको आरोप लगाएका छन् ।

धनुषाको विदेह नगरपालिका तिनकोरियामा सोही जिल्लाका क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरियासहित करिब ४ हजार समर्थकलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब एमालेलाई कसैले रोक्न नसक्ने दाबी गरे । एमालेलाई साथ दिए मधेसको विकास हुने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले विगतमा कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको भन्दै ओलीले एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता र जनप्रतिनिधिहरूले तोड्ने बताए । उनले यसबीचमा मधेसबाट निर्वाचित ७ जना सांसदसहित १ लाख भन्दा बढी एमालेमा प्रवेश गरेको बताए ।

ओलीले भने– मधेसको विकास एमालेले थालेको छ । राजमार्गबाट सदरमुकाम जोड्ने सडक उन्नत एमालेले थाल्यो । रेलको लिक हामीले बनायौँ, रेल हामीले किनेर ल्यायौँ र आज त्यो आधुनिक रेल चढेर म यहाँ आएँ । अब फर्किँदा हुलाकी राजमार्गबाट जान्छु, त्यो पनि एमालेले सम्पन्न गर्छ ।

ओलीले रेलमार्ग सञ्चालन र विस्तारको नेतृत्व गरेकोमा एमाले सचिव तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई धन्यवाद दिए । सोही कार्यक्रममा लोसपाबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री अरगरियाले विगतमा एमाले मुक्त मधेस बनाउने भ्रममा आफूहरू परेको भन्दै अब एमालेमय मधेस बनाउने दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर