प्रचण्ड-माधवलाई गुरुको चेतावनी : विद्रोहको चरणमा छौँ, कांग्रेसको भोटले जित्ने नसोचे हुन्छ (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवलाई गुरुको चेतावनी : विद्रोहको चरणमा छौँ, कांग्रेसको भोटले जित्ने नसोचे हुन्छ (भिडिओ)

‘विनम्रताको चरणबाट आक्रोशको चरणमा पुगेका छौँ, अब विद्रोहको चरण शुरु हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसभित्र अन्यायविरुद्ध विनम्रताको चरणबाट अब आक्रोशको चरण शुरु भएको भन्दै नेतृत्वले न्याय नगरे तेस्रो चरणमा विद्रोह हुने चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित शेखर कोइराला समूहको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व केन्द्रीय सदस्य तथा युवा नेता घिमिरेले समानुपातिकको बन्द सूची तत्काल नसच्याए आक्रोशबाट विद्रोहको चरण शुरु हुने बताए ।

देउवाले नै कांग्रेसमा ४० प्रतिशतको सुरुवात गरेको भन्दै आफूहरूले देउवाकै पथ पछ्याएको बताए । उनले कार्यकर्ताको न्यायका लागि आफू बलीमा चढ्न तयार भएको भन्दै अहिलेसम्म वडा सदस्यको पनि टिकट नपाएको र अब पनि टिकटको नाममा दास नबन्ने बताए ।

घिमिरेले भने–कार्यकर्तालाई न्याय नगर्ने शेरबहादुर देउवालाई जनताले न्याय दिँदैनन् । यो लडाइ न्यायको लागि हो । यो लोकतन्त्रको लागि लडाइ हो ।

नेता घिमिरेले गठबन्धनका नेताहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालहरूले पनि कांग्रेसको समस्या बुझ्नुपर्ने भन्दै कांग्रेस कार्यकर्तालाई रुवाएर गठबन्धनका उम्मेदवारले चुनाव नजित्ने चेतावनी दिए ।

घिमिरेले भने– म हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरुलाई पनि भन्न चाहन्छु हामी आक्रोशको चरणमा छौँ,यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,सन्देश पठाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागे जति सीट पाइँदैन र पाएजति सीट जितिँदैन । कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन ।

घिमिरेले राजाविरुद्ध छाती खोलेर गणतन्त्रको शंखघोष गर्ने आफूहरु रहेको भन्दै प्रचण्डले जस्तो जंगलबाट चौकी नहानेको बताए । उनले आफूहरूले एक आवाज दिँदा हजारौं विद्रोहमा उत्रिने भन्दै पार्टी सभापतिको मनपरी नचल्ने चेतावनी दिए ।


प्रतिक्रिया

One thought on “प्रचण्ड-माधवलाई गुरुको चेतावनी : विद्रोहको चरणमा छौँ, कांग्रेसको भोटले जित्ने नसोचे हुन्छ (भिडिओ)

  1. सधैं प्रचण्डलाई बोकेर काँग्रेसलाई सिध्याउने ? आफै लडनुपर्छ । तपाईको विचारसँग म पनि सहमत छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर