खबरदारी सभामा शेखर समूहका शीर्ष नेता र टिकट पाउने सम्भावितहरू अनुपस्थित – Nepal Press

खबरदारी सभामा शेखर समूहका शीर्ष नेता र टिकट पाउने सम्भावितहरू अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आज तामझामका साथ ‘खबरदारी’सभा गर्ने जनाएको थियो । हिजो मात्रै स्वयम्भूमा बसेको शीर्ष नेता, केन्द्रीय सदस्यलगायतका नेताकार्यकर्ताको बैठकले यस्तो भेलाको आह्वान गरेको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा न्यायोचित टिकट बाँडफाँटका लागि पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब बढाउनका लागि शेखर पक्षले यो भेलाको आयोजना गर्ने निर्णय गरेको थियो ।

जसमा टिकटको माग गर्दै देशभरका नेता कार्यकर्ता उपस्थित हुने भएकाले भेलामा हुने उपस्थितिले भेलाको उद्देश्य जबरजस्त स्थापित हुने अनुमान गरिएको थियो ।

आजलाई तोकिएको भेला नयाँबानेश्वरको थापागाउँमा रहेको बानेश्वर ब्यांक्वेटमा सुरु भएको छ । १ बजेलाई निर्धारण गरिएको भेला केही ढिलो गरी सुरु भइसकेको छ ।

तर, भेलामा शेखर समूहकै शीर्ष नेता उपस्थित छैनन् । समूहका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका समूहका शीर्ष नेता नै भेलामा उपस्थित छैनन् ।

भेलामा केन्द्रीय सदस्यको उपस्थिति पनि धेरै बाक्लो छैन । हालसम्म केन्द्रीय सदस्यहरू अजयबाबू सिवाकोटी, प्रतिमा गौतम, दिनेश कोइराला र प्रकाश स्नेही मात्र उपस्थित छन् । यस्तै युवा नेता गुरुराज घिमिरे, तरुण दलका पूर्व महामन्त्री भूपेन्द्रजंग शाही उपस्थित छन् ।

भेलाको अध्यक्षता नुवाकोट कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश नरसिंह केसीले गरेका छन् । यस्तै बागमती कांग्रेसका उपसभापति मोहन बस्नेत, नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यलगायतका दोस्रो तहका नेता मात्रै उपस्थित छन् ।

समूहका देशभरका नेताकार्यकर्ताहरूको उपस्थिति भने बाक्लो छ । यसरी उपस्थित हुनेहरू अक्सर टिकट पाउने सम्भावना नै नरहेकाहरू देखिएका छन् ।

कार्यक्रममा उपस्थित भएका केन्द्रीय सदस्यहरू पनि कोही पार्टीभित्रकै अर्का नेता र कोही गठबन्धनका कारण टिकट पाउने सम्भावना नभएका नेताहरू मात्रै रहेको भेलामा उपस्थित एक नेताले बताए ।

‘समूहको शीर्ष नेताहरू र टिकट पाउने सम्भावना भएका नेताहरू नै खबरदारी भेलामा उपस्थित छैनन् । हामी सम्भावना नै नभएकाहरू यहाँ आएका छौँ,’ भेलामा उपस्थित एक नेताले भने, ‘यसरी गरेको भेलाको के औचित्य रु हाम्रा समूहकै नेता र टिकट पाउनेहरू नै हाम्रो आवाज नसुन्ने देखियो ।’

सोही कुराको आशय तरुण दलका महामन्त्री शाहीले पनि देखाए । भेलामा मन्तव्य राख्दै उनले आफू २ पटक टिकट पाइसकेको बताउँदै उनले भने,‘म हाम्रै समूहका नेताहरूलाई भन्न चाहन्छु, शेखर कोइराला, धनराज गुरूङ, गगन थापाले, बद्री पाण्डेहरूले मात्रै टिकट पाएर हुँदैन । हाम्रो समूहका कम्तीमा ४० प्रतिशत नेताले टिकट पाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर