गठबन्धनमा कांग्रेसलाई सकस : नेता ‘सेटल’ गर्न क्षेत्र हेरफेरको तयारी – Nepal Press
सुदूरपश्चिम प्रदेश

गठबन्धनमा कांग्रेसलाई सकस : नेता ‘सेटल’ गर्न क्षेत्र हेरफेरको तयारी

कैलाली । आसन्न प्रतिनिधिसभा चुनावका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको नाम कैलाली र डडेल्धुरासहित पाँच जिल्लाबाट सिफारिस भयो । डडेल्धुरामा लगातार चौथो पटक समानुपातिकको सूचीमा परेकी आरजु कैलाली ५, बर्दिया,२ बाँके ३ र बागलुङ २ बाट प्रत्यक्षमा सिफारिस भइन् ।

सिफारिस भएका जिल्लामध्ये गठबन्धनबाट टिकटका लागि उनले चाहेको ठाउँमा जान सक्थिन् । पाँच जिल्लामध्ये जुनसुकै क्षेत्र ‘सेफ जोन’ मानेर आरजु जहाँ जान पनि मनस्थितिमा रहेको उनीनिकट स्रोतले बताएको छ । तर, डडेल्धुराबाट लगातार दुई पटकसम्म समानुपातिक सांसद भएकी आरजु कैलाली झर्दा समेत ‘टुरिस्ट’ को आरोप झेलेपछि अन्य क्षेत्र रोज्न नसकेको बताइन्छ ।

‘उहाँ अन्तिमसम्म कैलाली ५ बाटै उम्मेदवार बन्ने कुरा थियो तर, अन्तिममा किन ब्याक हुनुभयो थाहा भएन’, उनीनिकट स्रोतले भन्छ’, अझै पनि समानुपातिकको बन्दसूची फाइनल नहुँदासम्म भन्न सकिन्न ।’

पाँचदलीय गठबन्धन हुँदा कांग्रेसका केही नेताहरूलाई आफ्नै क्षेत्र छोड्नु पर्ने बाध्यता आइलाग्दा पनि आरजुले भने पाँच क्षेत्रमा विकल्प पाएकी थिइन् । तर, कांग्रेसमा त्यस्तो अवसर सबैलाई हुँदैन । यसरी अवसर नपाउनेमध्ये सुदूरपश्चिम प्रदेशकै सभापति वीरबहादुर बलायर छन् । दोस्रो संविधानसभा र ७४ मा लडेको क्षेत्र बलायरलाई अहिले गठबन्धनका कारण त्याग गर्नुपर्ने बाध्यता आएको छ ।

दोस्रो संविधानसभामा बलायर डोटी १ बाट विजयी भएका थिए । पुन:संरचनामा डोटी एउटा मात्रै क्षेत्र बन्यो । त्यसपछि २०७४ मा बलायर वाम गठबन्धनका उम्मेदवार प्रेम आलेसँग १ हजार ६३२ मतले पराजित भए । आले ३२ हजार ५१० मत पाएर विजयी हुँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए । पहिलो प्रतिनिधिसभामा जोसँग बलायर पराजित भएका थिए दोस्रोमा उनैलाई बलायरले क्षेत्र खाली गर्नुपर्ने बाध्यता आइलागेको छ ।

गठबन्धनमा भागबण्डा टुंगिएको छैन । डोटीमा नेकपा एसका आलेलाई सुरक्षित गर्नुपर्ने बाध्यता छ । त्यही भएर बलायर उनलाई छाडेर कैलाली ४ झर्न तयार भएका छन् । आफू कैलाली ४ मा आउने कुरा करिब निश्चित भइसकेको बलायरले नेपाल प्रेसलाई बताए ।

गठबन्धनका कारण बलायर मात्र होइन अघिल्लो पटकसम्म लड्दै आएको क्षेत्र नपाउने ‘जोखिम’ मा सुदूरपश्चिम कांग्रेसका अन्य नेता पनि छन् ।

गठबन्धनले सीट मिलाउँदा नेताहरूको क्षेत्र हेरफेर हुने कुरा सामान्य भएको कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टबताउँछन् । तर, सम्बन्धित क्षेत्रमा भने मिलाउन सकस भइरहेको उनको भनाइ छ ।

डोटीको बाध्यताबारे भट्ट भन्छन्, ‘केन्द्रले गरेको निर्णय भन्दा हामी बाहिर जाने कुरा आउँदैन । कैलाली ४ मा केही समस्या भइरहेको छ । तर, केन्द्रको निर्णय मान्नु पर्छ भन्नेमा हामी लाग्छौँ ।’

तर, डोटी कांग्रेसले भने यसकुरामा चित्त बुझाएको छैन । ‘यहाँ एक-दुई जना नेताको व्यवस्थापनको कुरा ठुलो होइन पार्टीले जित्ने कुरा प्रधान हो’ कांग्रेसबाट बलायरसँगै सिफारिसमा परेका प्रदेशसभा सदस्य भरत खड्काले भने ‘गठबन्धनका नाममा नेता व्यवस्थापन गर्ने कुरा राम्रो होइन ।’

उनले पटक पटक प्रधानमन्त्रीलाई भेटेर डोटी कांग्रेसले छोड्न नहुने बताउँदै आएको स्मरण गरे ।

‘यहाँ पालिकादेखि जिल्लासम्म हामी ब्याक नहुने निर्णय भएको छ’ उनले भने ‘हामीले प्रधानमन्त्री तथा पार्टी सभापतिलाई पनि यो कुरा जानकारी गराएका थियौँ तर, अहिले त्यो सुझाव कार्यान्वयन नभएको जस्तो लागेको छ ।’

स्थानीय तहमा वडाध्यक्षले पाएको मतमा यो क्षेत्र नेपाली कांग्रेसको मतभार अगाडि छ । कांग्रेस ३४ हजार ४७, २४ हजार ९१६, माओवादी ७ हजार ७८९, नेकपा एस ३ हजार २०५ र राप्रपाको ९८७ मत छ ।

कैलाली- ४ बा बलायर आउने भएपछि यहाँका अघिल्लो पटकका उम्मेदवार सुनिल भण्डारीले पनि आफ्नो क्षेत्र खाली गर्नुपर्ने बाध्यतामा देखिएका छन् । ७४ मा भण्डारी लेखराज भट्टसँग करिब १० हजार ३९९ हजार मतान्तरले पराजित भएका थिए । ३१ हजार ३५९ सहित भट्ट विजयी हुँदा भण्डारीले २० हजार ६९० मत पाएका थिए । अहिले नेकपा एमालेबाट पुन: भट्ट मैदानमा आउने निश्चित छ ।

कैलाली-५ मा जान भण्डारी तयार रहेको बताइएपनि उनीसँगै प्रतिनिधिसभा सदस्यमा सिफारिस भएका प्रकाश बम भने त्यो निर्णय मान्न नहुने बताउँछन् ।

‘आफ्नो क्षेत्र गठबन्धनको अर्को पार्टीलाई दिलायर अरुको क्षेत्र ओगट्न खोज्नु उम्मेदवार बन्न खोज्नु गलत हो’ उलने भने, ‘कैलाली ४ डम्पिङ साइड होइन । हामी अरु नेतालाई यहाँ ल्याउने कुराको शसक्त विरोध गर्छौं ।’

उनले कैलाली ४ बाट नेपाली कांग्रेसको उम्मेदवार आफैं हुने दाबी गरे । कांग्रेस जिल्ला उपसभापति रहेको बम उपसभापति निर्वाचनमा दोस्रो चरणमा झिनो मतले पराजित भएका थिए ।

नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महर अहिले संसदीय निर्वाचनमा डेब्यू गर्ने तयारीमा छन् । उनको थलो डडेल्धुरा हो । डडेल्धुरामा स्वयम् प्रधानमन्त्री तथा कांग्रेस सभापति नै लड्ने भएपछि महरले चाहना राख्ने कुरै भएन । उनले चाहना राखेको क्षेत्र डडेल्धुराको प्रदेशसभा क हो । तर, त्यहाँ गठबन्धन हुँदा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टले पाउने भएपछि महरले दाबी गरेनन् । त्यसैमाथि कांग्रेसभित्रै पर्शुराम नगरपालिकाका पूर्वमेयर तथा जिल्ला पार्टी सभापति भीम साउद दाबेदार छन् । साउद महरको ससुरा पर्छन् । त्यसपछि कैलाली ४ रोज्ने निधो गरेका महरको यहाँ पनि सम्भावना सकिएको छ ।

२०७० सालमा तत्कालीन कैलाली-६ बाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भए । उनले डडेल्धुरा रोजेपछि उप निर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझाले जिते । तर, २०७४ सालमा ओझाले फेरि टिकट पाएनन् । यो क्षेत्रमा देउवापत्नी आरजु राणा लडिन् र एमाले उम्मेदवार नारदमुनि रानासँग ५ हजार बढी मतले पराजित भएकी थिइन् ।

अहिले राणाले समानुपातिक रोजेपछि काङ्ग्रेसबाट उहाँ उम्मेदवारको खोजी भइरहेको छ । स्रोतका अनुसार कैलाली ५ मा कैलाली ४ बाट टिकट नपाउने देखिएका सुनिल भण्डारीले चुनाव लड्ने सम्भावना देखिएको छ ।

२०४८ देखि अघिल्लो पटकबाहेक लगातार पाँच पटकसम्म संसद यात्रा गरेका रामजनम चौधरीले पनि यसपटक आफ्नो क्षेत्र छोड्ने भएका छन् । २०४८, २०५१ र २०५६ सालमा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसबाट विजयी भएका चौधरीले २०७० सालमा क्षेत्र नम्बर ३ रोजे । दोस्रो संविधानसभामा क्षेत्र नम्बर ३ बाट पनि विजयी भएका चौधरी अघिल्लो पटक क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनका तर्फबाट तत्कालीन माओवादी केन्द्रका गौरीशङ्कर चौधरीसँग ४ हजार ४ सय मतले पराजित भएका थिए । तत्कालीन माओवादीका चौधरीले २४ हजार ८७३ मत पाउँदा कांग्रेसका चौधरीले २० हजार ४७३ मत पाएका थिए ।

२०७० अघिसम्म क्षेत्र नम्बर २ रोजेर ३ मा सरेका चौधरीको रोजाइमा यो पटक क्षेत्र नम्बर १ परेको छ । अहिले क्षेत्र नम्बर ३ करिब माओवादीले पाउने पक्का जस्तै भइसकेको छ । लगातार २ पटकसम्म लडेको क्षेत्र यस पटक गठबन्धनमा माओवादी केन्द्रको भागमा पर्ने देखिएपछि क्षेत्र नम्बर १ रोजेको उनी निकट स्रोतले दाबी गरेको छ ।

यति हुँदा पनि कैलाली १ बाट उनलाई चुनाव जित्न सहज छैन । यहाँ रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति निकै बलियो अवस्थामा रहेको छ । अघिल्लो पटक रेशम चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत ल्याइन् । काङ्ग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् । वैशाख ३० गतेको स्थानीय तह निर्माणको परिणाम अनुसार पनि उहाँ चौधरीको पार्टी नागरिक उन्मुक्ति बलियो अवस्थामा देखिएको छ ।

अहिले यहाँ नागरिक उन्मुक्तिबाट रेशम चौधरिकी पत्नी रन्तिजा श्रेष्ठ चौधरी उम्मेदवार बन्दै छिन् । उनी नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष हुन् । वैशाख ३० गतेको मत परिणाम अनुसार पनि यहाँ नागरिक उन्मुक्ति निकै बलियो अवस्था देखिएको छ ।

वैशाख ३० को चुनावमा वडाध्यक्षले पाएको मतको आधारमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाएका थिए । एमाले उम्मेदवारले १० हजार ३२२ मत पाउँदा माओवादीले ६ हजार ९३० मत पाएको देखिएको छ । त्यस्तै राप्रपाले ३ हजार ५६१ मत, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत हो । नेकपा एसकी केन्द्रीय सचिव मदनकुमारी शाह गरिमा पनि यसै क्षेत्रकी हुन् । तर, यहाँ नेकपा एकीकृत समाजवादी कमजोर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर