ओलीको आरोप- कांग्रेसले उद्योगधन्दा बेचेर खायो, अर्थतन्त्रको पाङ्ग्रा फुस्कायो (भिडिओ) – Nepal Press

ओलीको आरोप- कांग्रेसले उद्योगधन्दा बेचेर खायो, अर्थतन्त्रको पाङ्ग्रा फुस्कायो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४६ सालयता २१ वर्ष सरकार चलाएको कांग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको आरोप लगाएका छन् । एमाले सरकारमा पुग्नासाथ विकासका काम गरिहाल्छ भनेर कांग्रेस अहिले आत्तिएको पनि उनको दाबी छ ।

आज आयोजित युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले एमाले देशको रथ तान्छौँ भन्ने पाँच दलीय गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काइदिएको बताए ।

‘देशको रथ तानिँदैन यिनीहरूबाट । यिनीहरूले १४ महिनामा अर्थतन्त्रको पाङ्ग्रा फुस्काए र समाजलाई कलहतिर लगे । सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने, यिनीहरूको उद्देश्य त्यत्ति हो । यस अवस्थाबाट देशलाई एमालेले जोगाउनेछ,’ ओलीले भने ।

कांग्रेसले ४६ सालपछि २१ वर्ष सरकारमा रहेर देशका लागि केही नगरेको उनले आरोप लगाए ।

‘२१ वर्ष कांग्रेसले सरकार चलाएर के गर्यो रु ३८ वटा कि ४२ वटा उद्योग बेचेर खायो । हेटौंडा कागज कारखानादेखि हरिसिद्धि, छालाजुत्ता… जे भट्यो बेचेर खायो । कांग्रेस किन आत्तिएको छ भने एमाले सरकारमा पुग्यो कि विकास गरिहाल्छ,’ ओलीले भने ।

एमालेले जहाँ पाइला टेक्यो त्यहाँ यहाँ परिवर्तन आइहाल्ने उनले दाबी गरे । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ देशबाट गरिबी उन्मुलन गर्ने ओलीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर