पत्रकार महासंघ सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेको प्रेस चौतारीको आरोप – Nepal Press

पत्रकार महासंघ सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेको प्रेस चौतारीको आरोप

काठमाडौं । प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारका समस्याप्रति उदासीन नेपाल पत्रकार महासंघ राष्ट्रपतिकाविरुद्ध सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेको भन्दै महासंघको साझा चरित्र कायम नराखे कठोर कदम चाल्ने चेतावनी दिएको छ ।

पत्रकार महासंघको बैठकले राष्ट्रपतिले असंवैधानिक कदम चालेको प्रस्ताव पारित गरे लगत्तै एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले पत्रकार महासंघ सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर राजनीतिक वक्तव्यबाजीमा उत्रिएको आरोप लगाएको छ ।

चौतारीका महासचिव हिरामान लामाले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिविरुद्ध संविधानको मर्यादाबाहिर गएर उपराष्ट्रपतिले वक्तव्य दिँदा,प्रधानमन्त्रीका आपत्तिजनक कार्य र प्रधान न्यायाधीशलाई नजरबन्द गर्दा केही नबोल्ने महासंघले आफ्नो स्वतन्त्र छवि कायम गर्न नसकेको आरोप लगाएका छन् ।

चौतारीका महासचिव लामाले भनेका छन्–महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका बैधानिक निकायमाथि यसै गरी निरन्तर आक्रमण गर्ने र नेपाली जनता तथा श्रमजीवी पत्रकारको शीर निहुराउने काम यथावत् राखे प्रेस चौतारी नेपाल कठोर कदम चाल्न बाध्य हुनेछ ।

चौतारीले सत्ता गठबन्धनमै आबद्ध दलका नेताले सञ्चालन गरेको टेली टेलिभिजनले लामो समयसम्म श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिई काम लगाइरहेको र तीन महिनादेखि उनीहरूले आन्दोलन गर्दा महासंघले पत्रकारलाई साथ नदिएको आरोप समेत लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर