एमाले प्रवेश गर्दै लोसपाबाट कपिलवस्तुमा प्रदेश सांसद उम्मेदवार सिफारिस चौधरी – Nepal Press

एमाले प्रवेश गर्दै लोसपाबाट कपिलवस्तुमा प्रदेश सांसद उम्मेदवार सिफारिस चौधरी

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता मधुसुदन शरण चौधरी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि लोसपाबाट कपिलवस्तु क्षेत्र नं १ को प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस चौधरी एमाले प्रवेश गर्ने भएका हुन् ।

उनीसहितको टीमलाई पार्टी प्रवेश गराउन एमालेका वरिष्ठ नेतालाई असोज ११ गते कपिलवस्तु ल्याउने एमाले जिल्ला कमिटीले तयारी गरेको छ । एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले ११ गते ठूलो समूह पार्टी प्रवेश गर्ने कार्यक्रमको टुंगो लागेको र केन्द्रीय पदाधिकारीमध्ये प्रमुख अतिथि रहने कार्यक्रम तय गरिएको बताए ।

नेता चौधरीले नेपाल प्रेससँग कुरा गर्दै तराई मधेसका समस्या एमालेबाट पूरा हुने देखेर एमाले प्रवेश गर्न लागेको र आफूसहित ठूलो समूह ११ गते एमालेमा प्रवेश गर्ने जानकारी दिए ।

एमालेले यो निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस गरेको थिएन । यस क्षेत्रमा तुलनात्मक रुपमा कमजोर देखिएको एमाले मधुसुदनको प्रवेशसँगै केही मजबुत बन्ने आँकलन गरिएको छ ।

एमालेमा आएसँगै चौधरीलाई आसन्न निर्वाचनमा टिकट दिनसक्ने बताइएको छ । क्षेत्र १ को (क) मा भने यसअघि निर्वाचित विष्णु पन्थीलाई नै दोहोर्‍याउने एमालेको तयारी छ । सो क्षेत्रमा लोकप्रिय मानिएका पन्थीले संघमा आकांक्षा व्यक्त गरे पनि नेसपाका केन्द्रीय उपाध्यक्ष छोडेर एमाले आएका दानबहादुर चौधरीलाई व्यवस्थापन गर्न पन्थीलाई प्रदेशमै सिफारिस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर