निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै – Nepal Press

निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्दै

काठमाडौं । निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्न लागेको हो ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यस्ता मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।

थुनुवा÷कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रवक्ता शर्माले भने, ‘अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । अस्थायी मतदात नामावलीमा नाम समावेश गर्न ९प्रदेशरजिल्ला निर्वाचन अधिकारी०को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्नेछ ।’

अस्थायी मतदाताको विवरण रुजु गरी कात्तिक १ गते सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

यस्तै कात्तिक ४ गते प्राप्त निवेदनमाथी जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने कार्यतालिका रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनका अनुसार दाबी विरोधको निवेदनमाथि कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

संकलित अस्थायी मतदाता नामावली तथा निर्धारित मापदण्डका आधारमा अस्थायी मतदान केन्द्रको सिफारिस जिल्ला तहमा रहेको अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिले गर्ने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *