सञ्चार उद्यमी सिंघानिया हत्या मुद्दा : उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर – Nepal Press

सञ्चार उद्यमी सिंघानिया हत्या मुद्दा : उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दामा जिल्ला अदालतको फैसलालाई उच्च अदालत जनकपुरले सदर गरेको छ ।

सिंघानिया हत्याका मुख्य योजनाकार भनिएका पूर्व राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलालाई आज उच्च अदालत जनकपुरले पनि सदर गरेको हो ।

उच्च अदालतको इजलास नम्बर ३ मा सिंघानिया हत्या मुद्दाको भदौं २९ गतेबाट सुनुवाइ सुरु भएको थियो । आठ दिनको सुनवाइपछि आज न्यायाधीशद्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले उक्त मुद्दामा जिल्लाकै फैसलालाई हुबहु सदर गरेको रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए ।

उक्त मुद्दामा जाहेरवालाको तर्फबाट अधिवक्ता विपिन झा र हेम बहादुर कार्की तथा सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका सहन्यायाधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादव बहस गरेका थिए । प्रतिवादी साहको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, श्यामकुमार मिश्र, धर्मेन्द्र शर्मा लगायतले बहस गरे ।

जनकपुर टुडेका मालिक सिंघानियाको ०६६ फागुन १७ मा होलीको दिन जनकपुरको शिव चोकमा गोली हानेर हत्या भएको थियो । सो मुद्दामा ०७६ असार १७ मा जिल्ला अदालत धनुषाले आरोपी सञ्जय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।

जिल्ला अदालतको फैसलामा असन्तुष्टि जनाउँदै प्रतिवादी साहले उच्च अदालत पुगेका थिए । तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेपछि उनी राहत पाउन सकेनन् । उनी अहिले जेल जीवन बिताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर