उपेन्द्र यादवकाे आराेप : ‘संरक्षक’बाटै संविधानको उल्लंघन भयो (भिडिओ) – Nepal Press

उपेन्द्र यादवकाे आराेप : ‘संरक्षक’बाटै संविधानको उल्लंघन भयो (भिडिओ)

हेटौँडा । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयकलाई पारित नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक काम गरेको दाबी गरेका छन् । बुधबार हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले संविधानको संरक्षकबाटै संविधानको उल्लंघन भएको आरोप लगाए ।

केपी ओलीको सरकारको पालामा हुबहु पारित भएको विधेयकलाई अहिले आएर रोक्नु असंवैधानिक काम भएको भन्दै उनले राष्ट्रपतिले लोकतान्त्रिक व्यवस्थाको अबहेलना गरेको बताए । उनले भने ‘विधेयकमा यो भएन, त्यो भएन भन्ने अधिकार राष्ट्रपतिको हैन, राष्ट्रपतिकोमा कुनै अप्सन छैन, राष्ट्रपतिले त सांसदले पारित गरेको कुरा प्रमाणित गर्नुपर्ने थियो, अझ गजबको के छ भने त्यही कुरा अघिल्लो केपी ओली नेतृत्वको सरकारले गर्दा पारित भयो, अहिले भएन, यो गलत हो ।’

राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको भन्दै यादवले आफ्नै देशका नागरिकको सन्तानलाई कहिलेसम्म अनागरिक बनाएर राखिन खोजिएको र यो उनीहरुको अधिकारको बर्खिलाफ भएको बताए । उनले भने, ‘नागरिकता नदिनु भनेको त अन्तर्राष्ट्रिय कानुनकै व्याख्या गर्ने हो भने पनि मानवतावादी कानुनको उल्लंघन पनि हो, कसैलाई नागरिकता र राष्ट्रियताविहिन बनाईराख्ने जुन कार्य हो त्यो अपराध पनि हो ।’

बाहिर हल्ला गरेजस्तो एक हातले सिन्दुर र अर्को हातले नागरिकता दिने प्रावधान विधेयकमा नरहेको बताउँदै उनले जनतालाई भ्रममा राखेर नागरिकता विधेयक रोकेमा आपत्ति जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर