राष्ट्रपतिविरुद्ध गठबन्धनकै जनमोर्चाले किन गरेन विज्ञप्तिमा हस्ताक्षर ? – Nepal Press

राष्ट्रपतिविरुद्ध गठबन्धनकै जनमोर्चाले किन गरेन विज्ञप्तिमा हस्ताक्षर ?

विधेयक राष्ट्रिय हितमा नरहेको केसीको दाबी

कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सत्तारुढ गठबन्धनका चार दलले आज संयुक्त विज्ञप्ति निकालेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिविरुद्ध सत्ता गठबन्धनमा दलहरूले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गर्दा राष्ट्रिय जनमोर्चाले भने असहमति जनाएको थियो । नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै चार दल विरोधमा उत्रिँदा गठबन्धन भित्रै रहेको जनमोर्चाले भने राष्ट्रपतिको कदमलाई मौन समर्थन गरेको छ । गठबन्धनमा रहेको भन्दैमा सबै विषयमा एक मत हुन नसकिने जनमोर्चाको ठहर छ । आफूहरू विगत देखि नै नागरिकता विधेयकको विरुद्धमा रहेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय हितमा नरहेको बताए । उनले आफूहरू नागरिकता विधेयक र एमसीसी पारित नगर्न गठबन्धनका नबसेको प्रस्ट पारे ।

‘नागरिकता सम्बन्धी विधेयकबाट विदेशीलाई वंशजको आधारमा नागरिकता दिन हुँदैन भन्ने हाम्रो धारण नयाँ होइन ’ उनले नेपाल प्रेसलाई भने ‘हामी गठबन्धनमा बसेको नागरिकता विधेयक र एमसीसी पारित गर्न होइन ।’ राष्ट्रपतिले पहिलो पटक विधेयक छलफल गर्न भन्दै फिर्ता गर्दा आफूहरूले स्वगत गरेको केसीले स्मरण गराए ।

उनले यो गठबन्धन यस्ता विधेयकहरू पारित गर्न मात्र नभई असंवैधानिक कदम र चुनावी तालमेलका लागि मात्रै भएको उनले प्रस्ट पारे । राष्ट्रिय जनमोर्चालाई पनि जोडेर मिडियाले पाँच दलीय सत्ता गठबन्धनको भनेका प्रति केसीले गुनासो गरे ।

‘मिडियाहरूले हामीलाई पाँच दलीय सत्ता गठबन्धन भन्छन् । राष्ट्रिय जनमोर्चा सत्तामै छैन केको सत्ता गठबन्धन’ उनले भने ‘कार्यगत एकता भनेको जे कुरामा सहमति हुन्छ त्यसमा मात्र सहकार्य हुने कुरा हो ।’ चार दलले आफ्नो नीतिअनुसार राष्ट्रपतिविरुद्ध विज्ञप्ति जारी गरेको भन्दै केसीले आफ्नो पार्टी त्यसको विपक्षमा रहेको जनाए । ‘चार दलले पनि त्यो गर्न नहुने हो’ केसीले भने ।

 


प्रतिक्रिया

One thought on “राष्ट्रपतिविरुद्ध गठबन्धनकै जनमोर्चाले किन गरेन विज्ञप्तिमा हस्ताक्षर ?

  1. कहिलेकाही वुद्वी फिर्छ यसको पनि । अनि तिनै भारतीय दलालहरूको पुच्छर चाहिँ किन बन्नु नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर