प्रत्यक्षदर्शीको बयान : हवाइफायर गर्दै भागे आक्रमणकारी, हामी हेरेको हेर्‍यै भयौं (भिडिओसहित) – Nepal Press
गोठाटार गोलिकाण्ड

प्रत्यक्षदर्शीको बयान : हवाइफायर गर्दै भागे आक्रमणकारी, हामी हेरेको हेर्‍यै भयौं (भिडिओसहित)

‘गोली लागेपछि पनि १५/२० मिनेटससम्म मोबाइल चलाइरहेका थिए मोहम्मद’

काठमाडौं । सोमबार साँझ गोठाटारस्थित फ्याक्ट्रीसहितको डेरामा लाल मोहम्मदलाई कुरिरहेको परिवार मंगलबार साँझ भने उनको शवको प्रतिक्षामा थियो । घरवरिपरि छरछिमेकीहरु स्तब्ध मुद्रामा थिए ।

‘फिल्ममा मात्र यस्तो देखिएको थियो । वरिपरि त्यत्रो मान्छेहरु भएर पनि केही गर्न नसकिने रहेछ,’ घटनास्थलभन्दा करिब १० मिटर मात्र पर, सडकभन्दा पारिपट्टि खाजा पसल सञ्चालन गरिरहेकी अन्जना तिमल्सिनाले भनिन् ।

गौरिघाट-नारायणटार बाग्मती करिडोरबाट कृष्ण मन्दीर जाने बाटो करिब २० मिटर मात्र अगाडि बढेपछि सडक किनारमै रहेको मोहम्मदको गार्मेन्टमा सोमबार साँझ पौने ७ बजेतिर गाडीबाट झर्दा वरिपरिका पसलहरु सबै खुलै थिए । मानिसहरु आ-आफ्नो काममा व्यस्त थिए ।
‘म पनि खाजा पुर्‍याउन जाँदै थिए, एक्कासी पछाडिबाट पटका पट्केजस्तो आवाज आयो । पछाडि फर्केर हेर्दा एक व्यक्ती पेस्तोल तेर्स्याउँदै मोहम्मदलाई गाडी वरपरी लखेटिरहेका थिए । माथिबाट छोरी हाम्फालेपछि ती व्यक्ती त्यहाँबाट भागे,’ घटनालाई नजिकैबाट नियालेकी तिमल्सिनाले भनिन् । उनका अनुसार सडकको विपरित किनारमा रोकिराखेको मोटरसाइकलमा चढेर उनीहरु भागेका थिए ।

‘मोहम्मदकी छोरी तल झर्दा उनको खुट्टा फ्याक्चर भएछ, उनी धेरै दौडिन सकिनन् । बाइक स्टार्ट भएर कुद्न थालेपछि नजिकैको भाइले समात–समात भन्दै दौडिन खोज्दा मोटरसाइकलमा बसेका एक जनाले हवाइफायर गरे । त्यसपछि सबैजना झन् डरायौँ,’ उनले भनिन् ।
खासमा मोटरसाइकलमा तीनजना थिए भन्ने अनुमान उनीहरुले हवाइफायरकै आधारमा गरेका थिए ।

‘मोहम्मदलाई गोली हान्ने मान्छेले पेस्तोल त्यहीँ फ्याँकेका थिए । एक जना मोटरसाइकल हाँक्न रेडी भएर बसेका रहेछन् । अर्का व्यक्ती कहाँबाट आएर चढे पत्तै पाइएन । हवाइफायर गरेपछि मात्र थाहा भयो,’ अन्जनाले भनिन् ।

घटनास्थल आसपास थिए मन्दीप मन्डल पनि । पसल आइरहेका उनले केही पड्किएको आवाज सुने । सडकमा आइपुग्दा थाहा पाए– मोहम्मदलाई गोली प्रहार भएको रहेछ । मोहम्मदलाई सुरुमा सम्हाल्नेमा उनी पनि थिए ।

‘यति सिरियस होला भन्ने सुरुमा लागेको थिएन । उहाँ नर्मल नै देखिनु भएको थियो तर टाउको र जिउबाट रगत बग्न थालेपछि मात्र अलिक डर लाग्यो । मैले कपडाले बाँधिदिएँ । त्यसपछि उहाँ मोबाइल चलाइरहनु भएको थियो । मैले विस्तारै सास फेर्नुस्, रिल्याक्स हुनुस् भन्दा पनि मोबाइलमा आँखा डुलाइरहनु भएको थियो’, मण्डल भन्छन् । घटनाको १५/२० मिनेटपछि मात्र मोहम्मदलाई अस्पताल लगिएको थियो।
५ वर्षअघि मोहम्मदको परिवार गोठाटारस्थित त्यस ठाउँमा आएर बसेको हो । मोहम्मद आफैं गोलीकाण्डमा मुछिएर करिब ९ वर्ष जेल बसेपछि ५ वर्षअघि मात्र छुटेका हुन् । उनी जेलबाट छुटेपछि त्यहाँ आएर बस्न थालेको अनुमान गर्न सकिन्छ ।

दुई तल्ले घरको पहिलो तल्ला र छतमा बनाइएका केही कोठा भाडामा लिएर उनीहरु बस्छन् । पहिलो तल्लामा गार्मेन्ट छ । त्यहाँ कामदारहरु काम गर्छन् । मोहम्मदका दुई श्रीमतीबाट तीन छोरी र तीन छोरा छन् । श्रीमती, तीन छोरी, ज्वाई पनि त्यहीँ बस्छन् ।

जेठी श्रीमतीको मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका थिए । स्थानीयका अनुसार मोहम्मदले महिनौँदेखि घरको भाडा बुझाउन सकिरहेका थिएनन् । आर्थिक संकटकै कारण उनले भुँइतलामा रहेको पसल पनि केही समयअघि बन्द गरेका थिए ।

सोमबार साँझ मोहम्मदलाई गोली हान्दा घरमा पुरुष सदस्यहरु कोही पनि थिएनन् । दुई तल्लाबाट हाम्फालेकी कान्छी श्रीमतीतर्फकी जेठी छोरा मंगलबार खुट्टामा ब्यान्डेज गरेको अवस्थामा सहारामा हिँडिरहेकी थिइन् ।

नक्कली भारतीय नोटको कारोबारसँग जोडिएको गोलीकाण्डमा सुटरको भूमिकामा रहेको भन्दै अदालतबाट दोषी ठहर भएका मोहम्मदलाई व्यवसायिक सुटर प्रयोग गरेर योजनाबद्ध रुपमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तस्बिर/भिडिओ : नविन स्थापित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर