बच्चा जन्मिएपछि बलात्कार मुद्दामा एक जना पक्राउ – Nepal Press

बच्चा जन्मिएपछि बलात्कार मुद्दामा एक जना पक्राउ

तुलसीपुर । दाङमा बच्चा जन्मिएपछि बलात्कार मुद्दामा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १२ बनकट्टी निबासी ५० बर्षका नन्दलाल कवँर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

बच्चा जन्मेको ९ दिनपछि सोमबार प्रहरीमा उजुरी परेपछि प्रहरीले कवँरलाई पक्राउ गरेको हो । आरोपीले २०७८ माघ २७ गते राति आफ्नै नाता पर्ने १६ बर्षकी किशोरीलाई घरमा बलात्कार गरेको उजुरीमा उल्लेख छ । बलात्कारपछि किशोरीले गएको भदौ २५ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बच्चा जन्माएकी थिइन् ।

आइतबार बलात्कारको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘आफन्त भएकाले मिलाउन धेरै प्रयास गरेको देखिन्छ । गर्भ फाल्ने सम्भावना नभएपछि पुरुषलाई जिम्मा लगाउन खोज्दासमेत पुरुषले नमानेपछि घटना बाहिर आएको हो । यति ढिलो हुनु अशिक्षा पनि हो’, डिएसपी मल्लले भने ।

७ महिनामै बच्चाको जन्म भएकाले उनको आइसीयूमा राखेर उपचार भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका आरोपीविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *