गोठाटार गोलीकाण्ड : जन्मकैद पाएका लाल मोहम्मद ९ वर्ष जेल बसेर छुटेका थिए – Nepal Press

गोठाटार गोलीकाण्ड : जन्मकैद पाएका लाल मोहम्मद ९ वर्ष जेल बसेर छुटेका थिए

हत्या गर्न यसअघि पनि आएका थिए 'सार्पसुटर'

काठमाडौं । गोठाटारमा सोमबार साँझ गोली हानी हत्या भएका लाल मोहम्मद हत्या अभियोगमा जन्मकैद पाएर ६ वर्षअघि सजाय मिना भई छुटेका थिए । मोहम्मद २०७३ जेठ १५ गते गणतन्त्र दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा पाएर छुटेका हुन् ।

जेल बसेको झण्डै ८ वर्ष ९ महिनापछि उनी असल चालचलन भएको भन्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बाँकी ११ वर्षभन्दा बढी कैद सजाय छुट भएर कैद मुक्त भएका थिए ।

स्रोतका अनुसार जेलबाट छुटेलगत्तै मोहम्मदलाई मार्न भनेर भारतबाट दुईजना सुटर उनी बस्ने गरेको गोठाटार क्षेत्रमा आइपुगेको थियो । त्यसबारे चाल पाएपछि मोहम्मदको परिवारले नै समातेर स्थानीय प्रहरीलाई बुझाएको थियो । पक्राउ परेका ती व्यक्तिमाथि पछि प्रहरीको प्रतिआतंकवाद हेर्ने विशेष ब्युरोले पनि अुनसन्धान गरेको थियो । एक साताअघि मात्र आफूलाई गोली हानेको जस्तो लागेको भन्दै सुरक्षा पाउँ भनी मोहम्मदले काँडाघारी प्रहरीमा निवेदन दिएको प्रहरी स्रोत बताउँछ । त्यसका लागि उनले आफूले लगाएको सर्टको डढेको पछाडिको भाग पनि देखाएका थिए ।

मोहम्मद गोठाटारमा गार्मेन्ट फ्याक्ट्री सञ्चालन गरेर बसिरहेका थिए । सोमबार साँझ गाडीबाट उत्रिएलगत्तै उनलाई एक व्यक्तिले गाडीको वरिपरि लखेटी गोली प्रहार गरेको थियो ।

टाउको, कोख र तिघ्रामा गोली लागेका मोहम्मदको राति नै उपचारका क्रममा मृत्यु भइसकेको छ । प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल बरामद गरेपनि संलग्नलाई पक्राउ गर्न सकेको छैन । यद्यपि घटनामा प्रयोग भएको मोटरसाइकलको पहिचान खुलेको बताइएको छ ।

‘सार्पसुटर’ थिए मोहम्मद, युवती प्रयोग गरेर समातिएको थियो

२०६४ असार २० साँझ अनामनगर धोबिखोलामा बाराका बलराम पटुवाको गोली हानी हत्या भयो । उनको टाउकोमा पाँच गोली हानिएको थियो । प्रहरी अनुसन्धानमा पटुवा भारतीय नक्कली नोट कारोबारी भएको खुल्यो । उनलाई इल्ताफ आलमले मार्न लगाएको प्रहरीको दावी थियो। र घटनामा प्रयोग भएका सुटर थिए लाल मोहम्मद। उनी एक्लैले पटुवाको टाउकोमा पाँच गोली प्रहार गरेका थिए ।

घटनाको केही साताअघि मात्र प्रहरीले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित दुईजनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार गिरोहको माथिल्लो लेयरसम्म प्रहरी नपुगोस् भने इल्ताफले पटुवाको हत्या गर्न लगाएका थिए ।

पटुवा पक्राउ परे आफूहरू पनि फस्न सक्ने भएकाले इल्ताफले लाल मोहम्मदलाई प्रयोग गरेर उनको हत्या गर्न लगाएको प्रहरीको दाबि थियो । त्यसअघि पनि लाल मोहम्मद नक्कली भारतीय जाली नोट कारोबारमा प्रत्यक्ष अप्रत्यक्ष जोडिएको एक अधिकारी बताउँछन् । चलाख स्वभावका मोहम्मदलाई पक्राउ गर्न प्रहरीलाई करिब तीन साता लाग्यो । उनी सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए । युवतीसँग लालायीत देखिने सूचना पाएपछि प्रहरीले मोहम्मदलाई पक्राउ गर्न युवती नै प्रयोग गरिएको थियो । तर, उनले भेट्नका लागि युवतीलाई सर्वोच्च अदालत बोलाएका थिए ।

सर्वोच्च अदालतको क्यान्टिनमा कुराकानी गरेपछि युवतीलाई बिदा गर्न गेटसम्म आउनेक्रममा तयारी अवस्थामा रहेको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

मोहम्मदलाई तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले २०६४ साल साउन ९ गते पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर