रिलिजअघि विवादमा फस्यो प्रेमगीत ३, कलाकर्मी नै आराेप-प्रत्याराेपमा – Nepal Press

रिलिजअघि विवादमा फस्यो प्रेमगीत ३, कलाकर्मी नै आराेप-प्रत्याराेपमा

काठमाडौं । इन्डो-नेपाली फिल्मका रुपमा प्रचारित ‘प्रेमगीत ३’ रिलिजको संघारमा आइपुग्दा तीव्र विवादमा फसेको छ । चलचित्र हिन्दी भर्सनलाई लिएर कलाकर्मीहरु नै दुई धारमा बाँडिएका छन् र यसको केन्द्रमा छ चलचित्र विकास बोर्ड ।

नेपाली भाषामा निर्माण भएको यस चलचित्रलाई हिन्दीमा पनि डब गरिएको छ र भारतलगायत विश्वकै मेनस्ट्रिम मार्केटमा लैजाने दाबी गरिएको छ । विश्व बजारमा नेपाली चलचित्रको ढोका खुल्न सक्ने भएकाले ‘प्रेमगीत ३’ ले सबैको शुभेच्छा पाइरहेकै थियो । तर, माहोल तब बिग्रियो जब चलचित्रका नायक प्रदीप खड्काले तीन दिनअघि प्रेसमिटमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागे ।

बोर्डले हालै जारी गरेको एउटा सूचनामा खड्काले आपत्ति जनाएका थिए । सूचना थियो, राति ११ बजेपछि हलहरुमा कुनै पनि शो चलाउन नपाइने सम्बन्धमा । ‘प्रेमगीत ३’ लाई असफल पार्नकै लागि भुवन केसीले यो नियम लगाउन खोजेको उनले आरोप लगाएका थिए । खड्काले केसीको पढाइमाथि पनि प्रश्न उठाएर उनलाई राजीनामा दिनसमेत सुझाए ।

साथै ‘प्रेमगीत ३’ को हिन्दी भर्सनलाई ट्याक्स छुट दिन नखोजिएकोमा पनि उनको आपत्ति थियो । हिन्दीमा डब गरिए पनि यो चलचित्र नेपालीले नेपालमै बनाएकाले नेपाली चलचत्रिकै व्यवहार हुनुपर्ने उनको माग छ । बोर्डले नेपाली ‘प्रेमगीत ३’ लाई ट्याक्स छुट दिए पनि हिन्दी भर्सनका बारेमा निर्णय लिएको छैन ।

अहिले यही हिन्दी भर्सनलाई लिएर विवाद केन्द्रित छ । तर, आम मानिसले चाहिँ विवादको गाँठो नै नबुझिकन सतही प्रतिक्रिया दिइरहेका छन् र गालीगलौज गरिरहेका छन् । आक्रमणको तारोमा भुवन केसी परेका छन् । केहीले उनका छोरा अनमोल केसीको चलचित्र बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाएका छन् ।

प्रदीप खड्काको अभिव्यक्तिलाई बहुसंख्यक दर्शकले समर्थन गरेको देखिए पनि धेरै कलाकर्मीले भने सहज रुपमा पचाउन सकेनन् । भुवन केसीकै समकालीन अभिनेता सरोज खनालले प्रदीपको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । उनीजस्तो सुपरस्टार कलाकारले अग्रजहरुलाई सम्मान गर्नुपर्ने उनले बताए ।

एक अन्तर्वार्तामा खनालले भनेका छन्, ‘भुवन केसी भनेको विकास बोर्डको अध्यक्षमात्र होइन, आजको सिनेमा क्षेत्र यो स्थानमा ल्याइपुर्‍याउन उहाँको ठूलो हात छ । खड्का जस्तो आर्टिस्टले उहाँमाथि यो लेभलको आक्रोश व्यक्त गर्नु हुन्थेन ।’

खनालले दिएको यो सुझावमा ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेन भड्किए । उनले फेसबुकमा खनालप्रति कठोर आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘अमेरिकामा लुक्न ट्रेन्ड बसाल्ने मान्छेले यतिसम्म हावा अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेको थिएन ‘ एउटा रजतपटमा तपाईं मेरो रोजाइमा परेन भनेर जे मन लाग्यो तेही अभिव्यक्ति दिँदै हिँड्न पर्छ ? तपाईंको चलचित्र क्षेत्रमा योगदान भनेको अमेरिकामा कलाकार लुक्नुपर्छ भन्ने बसाली दिनुभयो आज त्यसको नतिजा अहिले राम्रो कामको लागि पनि कलाकारले भिसा पाउँदैनन ।’

सरोज खनाल कुनै जमानाका दिग्गज कलाकार हुन् । उनले धेरै चलचित्रमा छाप छाड्ने अभिनय गरेका छन् । तर, नेपालमा चलचित्र खेलेर भविष्य सुनिश्चित नभएको भन्दै उनी अमेरिका भासिएका थिए । लामो अमेरिका बसाइपश्चात केही वर्षअघि नेपाल फर्किएर फेरि फिल्म क्षेत्रमै सक्रिय छन् ।

सन्तोष सेनले खनालमाथि लगाएको आरोप चलचित्रकर्मीबीच चर्चाको विषय बनेको छ । उनको यस्तो आरोपलाई धेरैले रुचाएका छैनन् । यद्यपि खुलेर बोल्ने पक्षमा पनि कोही छैनन् । तर, अभिनेता तथा निर्माता दीपकराज गिरीलेहिम्मतसाथ मुख खोले । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सेनमाथि कडा प्रश्न तेर्स्याएका छन् ।

‘सबैलाई गाली गरेरै फिल्म चलाउने सोच हो ?’, गिरीको प्रश्न छ । उनले सेनलाई नियमबमोजिम हिन्दी भर्सनको कर तिर्न पनि सुझाव दिएका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले यस चलचित्रलाई तोकेकै समयमा हलमा लगाउन सबैले सघाउनुपर्ने राय व्यक्त गर्दै ‘प्रेमगीत ३’ प्रति सहानुभूति देखाएकी छन् ।

‘प्रेमगीत ३’ यही असोज ७ गते विश्वव्यापी रिलिज हुँदैछ । रिलिजको संघारामा झांगिएको विवादले चलचित्रलाई फाइदा वा बेफाइदा के होला आगामी दिनमा देखिनेछ । तर, दीर्घकालीन हिसाबले भने नेपाली चलचित्र क्षेत्रलाई यसले घाटा नै पुग्ने देखिन्छ । ‘प्रेमगीत ३’ प्रति सबैकाे सद्भाव हुँदाहुँदै पनि जुन तरिकाले यस चलचित्रका व्यक्तिहरु प्रस्तुत भइरहेका छन् त्यो भने स्वाभाविक नरहेको चलचित्रकर्मीहरु बताउँछन् ।

नाम नबताउने सर्तमा विकास बोर्डका एक पूर्वपदाधिकारीले भने, ‘नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन चलाउनैपर्ने बाध्यता किन पर्‍यो ? यदि चलाउने नै हो भने नियमानुसार ट्याक्स तिर्न किन आनाकानी ?’

उक्त चलचित्रलाई हिन्दीमा डब गर्दा नियमबमोजिम नेपाल सरकारसँग अनुमति नलिएको तथ्य निर्माण पक्षले स्वीकारिसकेको छ । यसका साथै अन्य केही डकुमेन्टहरु नपुगेकाले हिन्दी भर्सनको सेन्सर पास हुन नसकेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर