शेरधनसँगको तेस्रो भेटबारे सुदनको जवाफ- जनता हामी दुवैको बही बोकेर बसेका छन् (भिडिओ) – Nepal Press
नेपाल टक

शेरधनसँगको तेस्रो भेटबारे सुदनको जवाफ- जनता हामी दुवैको बही बोकेर बसेका छन् (भिडिओ)

प्रदेशको नाम राख्न नसकेकोमा किरातीको टिप्पणी- शेरधनको खुट्टा परालको जस्तो रहेछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराती शीर्ष नेतृत्वप्रति तीखो प्रश्न गर्ने नेतामध्ये पर्छन् । २०६४ सालमा एमालेका नेता शेरधन राईलाई पराजित गरेर पहिलोपटक भोजपुरबाट सांसद निर्वाचित किराती २०७० सालमा उनै राईसँग पराजित भए । २०७४ सालमा दोस्रोपटक सदन छिरेका उनी अहिले ह्याट्रिकको दाउमा छन् । 

तर, भोजपुर माओवादीकै भागमा पर्ने देखिए पनि टिकट कसले पाउने भन्नेमा पार्टीले निर्णय गरिसकेको छैन । किरातीसँगै माओवादी केन्द्रकै केन्द्रीय सदस्य अजम्बर काङमाङ पनि उम्मेदवारका बलिया दाबेदार हुन् । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका उमेशजंग रायमाझीले पनि आकांक्षा देखाएका छन् । यदि किरातीले टिकट लिएर गएको खण्डमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईसँग चुनावी मैदानमा तेस्रो भेट पक्का जस्तै देखिएको छ ।

भर्खरै ‘पलपलको मुत्यु’ नामक आत्मकथा सार्वजनिक गरेका उनै किरातीसँग भोजपुरको आन्तरिक राजनीति, गठबन्धनको प्रभाव, माओवादीको पोजिसनलगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

– तपाईंको आत्मकथा ‘पलपलको मुत्यु’ चुनावको मुखमा सार्वजनिक भयो । आत्मकथा भन्नासाथ उमेरको एउटा चरणमा पुगेपछि आफूले गरेका तमाम कामको झूट नबोलिकन उल्लेख गरिने कथालाई बुझ्ने गरिन्छ । तर, तपाईंले ४० हाराहारीमै ल्याउनुभयो है ?

पहिला पहिला हाम्रो पुर्खाले खोला तर्दा किनारमा गएर सुरुवाल खोल्थे र काँधमा सुरुवाल लगाएर खोला तर्थे । पछि झोलुंगे पुल आयो । अहिले त मोटरेबल पक्की पुल छ । त्यसमाथि गाडी कुद्छ । सुरुवाल खोलिरहन पर्दैन । मैले चाहिँ आत्मकथाभन्दा पनि संस्मरणात्मक जिन्दगीका अनुभवलाई सार्वजनिक गरुँ भनेर धेरै साथीहरुले प्रेरणा दिएकाले ल्याएको हुँ । हाम्रो किराँती समुदायमा विजुवा भन्ने एउटा प्रचलन छ । विजुवा बाँचिञ्जेल आफ्नो ज्ञान कसैलाई दिँदैन । मरिसकेपछि ढोल ढ्यांग्रोसँगै त्यो ज्ञान गाडिन्छ । त्यसकारणले मसँग ठूलो ज्ञान त छैन, अनुभवको एउटा श्रंखला छ, रुचि हुनेलाई पढ्दा हानिकारक छैन कि भनेर ल्याएको हो ।

– मंसिर ४ को चुनावको सरगर्मी छ । आत्मकथा विमोचनमा प्रमुख वक्ताको रुपमा प्रचण्डलाई झिकाउनुभयो । यो विशुद्ध आत्मकथा विमोचन हो कि चुनावका लागि रणनीतिक तयारी हो ?

यो किताबको विमोचन हो । अरु कुरा सबै संयोग हुन् । परिभाषा त विभिन्न ढंगले लाग्ला । त्यो परिभाषा गर्न सक्ने योग्यता भएका मान्छेहरु समाजमा धेरै छन् ।

– भनेपछि आसन्न चुनाव र टिकटसँग यसको साइनो सम्बन्ध छैन ? चुनावको मुखमा यो किताब आउनु, पार्टी अध्यक्ष आएर विमोचन गर्नु संयोगमात्रै हो ?

प्रकारान्तरले त्यसमा साइनो सम्बन्ध राख्न गएछ भने मलाई समस्या छैन । नियतले चुनावसँग जोडिएको होइन । यी सारा संयोग हुन् ।

– चुनावकै कुरा गर्दा १० वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएर अहिलेसम्म १४ वटा सरकार बन्यो । १४ वटा सरकारमा नेकपा माओवादीबाट मात्रै सयको हाराहारीमा मन्त्री बनिसकेका रहेछन् । पाँच दलीय सत्ता गठबन्धनले सरकार गठन गर्दैगर्दा मन्त्रीको सूचीमा तपाईंको नाम पनि बडो चर्चाको विषय थियो । तर, तपाईं मन्त्री बन्नुभएन । दुई-दुई पटक सांसद भएको तपाईंले पार्टीले केन्द्रीय सदस्यको झण्डै एकतिहाइलाई मन्त्री बनाइसक्दा पनि मन्त्री बन्ने अवसर नपाउनुभएको हो ?

मलाई व्यक्तिगत पदको निम्ति मरिमेटेर हिँड्ने तिर्खा छैन । भोलि के हुन्छ थाहा छैन । जुन समयदेखि राजनीतिमा लागियो, त्यसमा व्यक्तिगत पदको निम्ति कहिल्यै पनि कुमार बन्ने आँट पनि गरिएन । आफ्नो रगतमा त्यो प्रवृत्ति पनि रहेनछ भन्ने लाग्छ ।

म एकदमै तल्लो धरातलको भूईंको मान्छे । यो देशमा परिवर्तन होस्, जनताले मुक्ति पाओस् भनेर लागेको हो । सानो मान्छेको सपना सानै हुँदोरहेछ । सांसद त धेरै ठूलो कुरा हो । तर, म भूईंको मान्छे, दुईपटक सांसद बनेँ । जनताले जिताए । पार्टीले टिकट दियो । कुनै परिचय नभएको मान्छे दुई-दुई पटक देशको सांसद हुनु आफैंमा उसको ठूलो सफलता होला । म परिवर्तनको आन्दोलनमा लागेर सांसद त भएँ । तर, हामी जस्तो मान्छे सांसद भए पनि आम मान्छेको जीवनमा हामीले के कस्तो परिवर्तन गर्‍यौं त ?

जहाँसम्म मन्त्रीको सूची सयभन्दा बढी नै भयो । यसमाथि पार्टीले समीक्षा गर्ला । मलाई लाग्छ, ६० प्रतिशत मन्त्री, राजदूत खाएका मान्छे हाम्रो पार्टीमा छैनन् पनि होला । माओले भनेका थिए, हामी नितान्त एउटा प्रक्रियामा आएका छौं । ढोका थुन्यौं भने कोही मान्छे छिर्न पाउँदैनन् । खोल्यौं भने फोहोर पनि पस्छन् । त्यसकारणले ढोका पनि खुलै राखौं, जाली पनि राखौं भन्ने थियो । हामीले ढोका खुला राख्यौं, विभिन्न फोहोरहरू आँधीहुरी जसरी पसेर, पार्टीबाट अवसर लुटेर आज पार्टीकै सत्तोसराप गर्दै किनारामा बसेर रमिता हेर्ने वा अर्को पक्षमा लाग्ने पनि देखिएको छ । जहाँसम्म सयवटा सूचीमा म परिनँ, त्यसमा मेरो कुनै गुनासो छैन ।

– सय वरिपरि मन्त्री बन्दा यसवेलासम्म १४ सरकारमध्ये १० सरकारमा त माओवादी सहभागी भयो । तीनवटा सरकार त पार्टीकै नेतृत्वमा बन्यो । तर, तपाईं चाहिँ सयमै पर्नुभएन है ?

मलाई के खुशी लाग्छ भने मलाई मन्त्री बनाउनुस् भनेर कतै सम्झौता गरिनँ । त्यो सम्झौता नगर्नु नै मेरो राजनीतिक जीवनको ठूलो नैतिक मूल्य र शक्तिको रुपमा आफूलाई सम्झेको छु । सायद त्यसरी लेनदेनमा लाग्नुपरेको भए कतै न कतै मैले सम्झौता गर्नुपर्थ्यो ।

– तपाईं क्याबिनेटमा छिर्ने सम्भावना त आसन्न चुनावपछि पनि होला नि ?

भोलि आवश्यकता परेछ भने भइहाल्यो । तर, त्यस्तो सपना छैन । अहिले पनि मैले टिकट पाउनैपर्छ, मै उठ्नुपर्छ, मबाहेक अरु छँदैछैन भनेको छैन ।

– भोजपुरमा माओवादीबाट अजम्बर काङमाङ राई पनि सिफारिस हुनुभएको छ । कांग्रेसबाट २०७४ सालमा तपाईंले नै पराजित गर्नुभएका उमेशजंग रायमाझी पनि हुनुहुन्छ । बाहिरबाट हेर्दा निकै सकसपूर्ण देखिन्छ नि ?

खाली काठमाडौंबाट मात्रै हेर्ने यो संस्कृति नै बसिसकेको छ । गाउँबाट पनि हेर्नुपर्छ कहिलेकाहीँ । मूर्खहरुले प्राप्त गरेको चिज पनि झगडा गरेर हराइ पठाउँछ । बुद्धिमानहरुले प्राप्त नहुने चिज पनि छलफल गरेर ल्याउन सक्छ । यो बुद्ध दर्शनलाई ख्याल गरेर हामी छलफलमै छौं । हाम्रो कुनै झगडा छैन । खासमा हामीले के छोड्दैछौं, के प्राप्त गर्दैछौं भनेर स्पष्ट छँदैछौं ।

सैद्धान्तिक रुपमा भोजपुर स्वतः माओवादीको संघ पर्ने देखिन्छ । तैपनि अझै बढी विजय सुनिश्चित छ भन्ने सवालमा हामी सिफारिसवाला क्यान्डिडेट बीचमा पनि छलफल भइरहेकै छ । हामी सबै विषयमा खुला छौं । जे गर्दा राम्रो हुन्छ, तलको फिडब्याकअनुसार शीर्ष नेताहरु पनि सहमत हुनुहुन्छ भन्ने कुरामा पनि छलफल गरिरहेका छौं ।

– टिकट तपाईँले पाए अघिल्लो चुनावमा आफैँलाई पराजित गरेको उम्मेदवारलाई के कारणले भोट हाल्ने ?

त्यो त अब अराजनीतिक सोच भयो । हामीले केका लागि राजनीति गरेको, केका लागि गठबन्धन गरेको ? विचारप्रति स्पष्ट भएपछि या अहिलेको परिस्थितिलाई विश्लेषण गरेर पार्टीले गठबन्धनको नीति लिएको छ । त्यो नीतिलाई हामीले दह्रोसँग सम्हाल्ने भइसकेपछि अथवा केन्द्रको नीतिलाई हामीले आत्मासात गर्ने भइसकेपछि कसले के गर्‍यो भन्नेतिर जाँदा त उतातिर टाउकाको मूल्यतिर जान्छ, जेलनेलतिर जान्छ, अनि झापा पुगिन्छ । मिल्ने ठाउँ नै हुँदैन ।

– नेपाली कांग्रेसका नेता-कार्यकर्ता बागीको रूपमा पनि अगाडि बढ्ने संकेत देखिएका छन् । स्थानीय निर्वाचनमा पनि त्यो देखियो । २०७४ सालको निर्वाचनमा पनि त्यस्तै परिदृश्य देखिन्थ्यो, असन्तुष्ट पक्ष बागी भइहाल्ने । यसको त्रास भोजपुरको सवालमा तपाईंलाई कतिको छ ?

देशव्यापी रुपमा कस्ता प्रवृत्ति प्रकट हुन्छ, पछि हेरौंला । तर, भोजपुरको हकमा त्यस्तो छैन । कैयौं मान्छेले हामीलाई पनि उचाल्छन् नि ! सुदन किराती एक्लै लड्दा पनि दश हजार स्वतन्त्र मत उसको छ भनेर मलाई पनि उचाल्छन् । तर, त्यो कुरामा हामी डुब्ने, बग्ने होइन । हामीले त वस्तुगत यथार्थमा उभिएर गठबन्धन आवश्यक किन हो भन्नेतिर जाने हो ?

यो देशमा संविधान च्यातिए, यो व्यवस्था झण्डै झण्डै समाप्त भयो । पटकपटक यो देशमा ‘कू’ हुन खोजे । यति धेरै जनताले सपना बुनेर दिएको भोटको अपमान भयो । यी तमाम कारणले प्रतिगमनविरुद्ध भएको गठबन्धन हो नि त यो । कुनै व्यक्ति विशेषलाई केन्द्रमा राखेर त्यस्तो सोच बनायौं भने स्वाभाविक रुपमा हामीले उद्देश्य छुँदैनौं । भोजपुरमा चाहिँ त्यो कसैमा पनि छैन ।

– सत्ता गठबन्धनबाट तपाईं आधिकारिक उम्मेदवार भएको खण्डमा पूर्वमुख्यमन्त्री शेरधनसँगको भेट पक्कापक्की जस्तै छ । यदि त्यसो भएमा यो तपाईंंको तेस्रो भेट हुनेछ । तेस्रो भेट कति रोमाञ्चक हुनेछ ?

तेस्रो प्रतिस्पर्धा सौहार्द, निष्पक्ष, धाँधलीरहित हुन्छ । जनता भनेको राजनीतिक कार्यकर्ताका निम्ति भगवान हुन् । हिजोको जस्तो स्थितिमा जनता छैनन् । कसले कति गर्‍यो भनेर फेहरिस्त बोकेर बस्नुभएको छ । मैले त्यसमा अरु थप कुरा गरिरहनुपर्छ जस्तो लाग्दैन ।

– तैपनि उम्मेदवारको रुपमा सिफारिस भइसकेपछि पार्टीले पनि जित्ने आधारहरु माग्ला । तपाईं जित्ने आधार के के छन् ?

पहिलो कुरा त गठबन्धनको मतभार बढी छ । दोस्रो कुरा, मसहित जोजो सिफारिस भएर आउनुभएको छ, सायद पार्टीले योग्य नै ठानेको छ । मेरै हकमा कुरा गर्दा म दुईपटकको सांसद हो । सांसद भइसकेपछि म गाउँगाउँ गएँ, जनताको दुःख देखें । त्यो कुरा संसदमा आवाज उठाएको छु । जनतासँग सरोकार रहने कामको निम्ति पुलको काम गरेको छु । म आफैं निर्णय गरेको ठाउँमा पुगेको छैन । तर मेरो र जनताको सम्बन्ध माछा र पानीको जस्तो छ । त्यो मेरो आधार हो ।

उहाँ(शेरधन)को कुरा गर्दा २५-२६ वर्षदेखि जनताले तीनपटक जिताउनुभयो । जनताले चाहेकोभन्दा पनि बढी संयोगले वा आफ्नो योग्यताले ठाउँमा पुग्नुभयो । तर, जिम्मेवारी, कार्यभारप्रति कति सफल हुनुभयो, जनताले हेरेका छन् ।

– तपाईं सांसदको रुपमा दुईपटक टेस्टेड भइसक्नुभयो । भलै मन्त्री हुन सक्नुभएन । दुईदुई पटक टेस्ट भइसकेको नेतालाई भोजपुरका जनताले किन फेरि टेस्ट गर्ने ?

मलाई संसदमा टेस्ट गरेको हो । सांसद नै मन्त्री बन्ने यो प्रणालीमा म मन्त्री भइनँ । विसंगति के भयो भने सांसदले सबै विकास गर्ने भन्ने भ्रम जनतामा पारिदिएको छ । यो धेरै दुर्भाग्यपूर्ण हो । तर, भोजपुरको इतिहास पल्टाएर हेर्दा २००७ सालपछिका सांसद र सुदन किरातीलाई जनताले फेहरिस्त पल्टाएर हेरिरहेका छन् । र, जनतासँग भेटेर, जनताको कुरा बोकेर संसदमा आफ्नो पदको पर्वाह नगरी बोल्ने सांसद म नै हो । तर, मै टिकट लिएर जान्छु भन्ने छैन । धेरैजना छौं । तर, अरु टेस्ट हुनुभएको छैन । स्वभावैले टेस्ट नभएको मान्छेलाई त हेर्न बाँकी नै छ ।

– बितेको २० वर्षदेखि शेरधन राई र सुदन किरातीले चुनावमा एक-अर्कालाई नजिकबाट नियालेकै होलान् । तर, गएको स्थानीय तहको तथ्यांक हेर्दा एमालेको २७ हजार, कांग्रेसको २३ हजार र माओवादीको १२ हजार हाराहारी मत रहेछ । माओवादीलाई भोजपुर अलि सकसपूर्ण हो र ?

राजनीतिले अति बनाएको थियो विगतमा । यो विरासत विस्तारै तोडिँदैछ । गाउँमा पनि २५-३५ प्रतिशत भोट मान्छेले स्वतन्त्र रुपमा दिनेवाला छन् । मैले त जन्मेदेखि त्यही चुनाव चिन्हमा भोट हालेको भन्ने मान्छे छैन । अहिले १८ वर्ष पुगेका मान्छेहरु राजतन्त्र सकिँदा जन्मिएकै थिएनन् । कुन चाहिँ नेताको चरित्र के हो, कुन नैतिक धरातलमा उभिएको छ, छ्यांगै देखेका छन् । गाउँमा पनि २५-३५ प्रतिशत चाहिँ हिजोको पार्टीको बन्धनले उनीहरुलाई बाँध्ने छैनन् । यो म गाउँमा गएर, जनतासँग बसेर बुझेको कुरा हो ।

– पार्टीकै उम्मेदवारलाई जाला भन्ने पनि हुँदैन नि त्यो मत ? स्वतन्त्र विकल्प पनि होला नि ?

त्यो मतले व्यक्ति, व्यक्तिको चरित्र, उसको जीवनशैली सबैलाई हेर्छ । स्वतन्त्र विकल्पको लागि अहिले पहाडमा देखिएको छैन । स्वतन्त्र भनेको चाहिँ एउटा बाउण्ड्रीभित्रको स्वतन्त्रको कुरा होला ।

– चुनावकै कुरा गर्दा तपाईंको पार्टी अध्यक्ष प्रचण्डले भन्नुभएको थियो, गाउँपालिकामा चुनाव लड्न दश करोड खर्च भएको रिपोर्ट आएको छ । संघ र प्रदेशको लागि पचासौं करोड खर्च गर्नुपर्ने देखियो । हामीसँग पैसा छैन । यो चुनाव कसरी लड्ने भनेर भन्दै हुनुहुन्थ्यो । अध्यक्षको भनाइ तपाईंहरुको हकमा लागु होला नि ?

यो चुनाव कुलीनतन्त्र जन्माउने प्रणाली हो । हामीले पहिला नै नोट अफ डिसेन्ट दिएका थियौं । यो निर्वाचन प्रणालीमा हामी जानु हुँदैन । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ । तर, यहाँ पार्टी राजनीति भयो । पार्टीले गल्ती गरे पनि पार्टीभित्रकै मान्छे रोज्नुपर्ने बाध्यता भयो । अर्को कुरा, यो सांसदहरु मन्त्री हुने व्यवस्था हटाइदिउँ । उसले नीतिको काम गर्छ । त्यो ज्ञानको केन्द्र होस् । कार्यकारी प्रत्यक्ष चुनिएर आएको प्रमुखले इच्छाअनुसार विज्ञ चुनोस्, उसले पाँच वर्ष राम्रोसँग काम गरोस् ।

बालेन्द्र साह स्वतन्त्र हो, उसको पक्षमा मान्छे छैन नि भित्र ! तर, ऊ के चाहिँ स्वतन्त्र छ भने उसलाई पार्टीको दबाब छैन । यहाँ दलको नेता प्रमुख भएको भए भत्काउन गयो, त्यो कांग्रेसको पर्छ कि कम्युनिष्टको पर्छ । अनि माथिबाट ज्याक हालेर गर्नै नदिने । कि पार्टी छाड्नुपर्ने, नत्र कारबाही गर्छ । यस्तो खालको परिस्थिति छ । त्यसो भएकाले खर्चबर्चको कुरा गर्दा भ्रष्टाचारको जन्म नै यहाँबाट हुन्छ ।

– आफ्नै पार्टी अध्यक्षले नै त्यसो भन्दैगर्दा र तपाईं चुनाव लड्न जाँदै गर्दा अर्थको तयारी पनि त्यही अनुपातमा गर्न पर्ला नि फेरि ?

त्यहीमात्रै मुख्य त होइन । जनप्रिय पनि हुनपर्‍यो । बालेन्द्रले कति खर्च गर्‍यो होला त ! हर्क साम्पाङले कति खर्च गर्‍यो होला त ! २०६४ सालमा मैले १० हजार खर्च गरेको थिएँ । पार्टीले मलाई चुनाव खर्च भनेर दश हजार दिएको थियो । मान्छेले गाउँगाउँबाट उठाएर आफैं चुनाव टारिदिए । मुख्य कुरा त एजेन्डा पनि रहेछ ।

हामी पुरानै एजेन्डामा तानिएपछि त जनता किन्नुपर्ने जस्तो स्थिति छ । तर, अब जनताले गम्भीरताका साथ बुझ्नुपर्छ । किनिएका मान्छेले उनीहरुलाई प्रयोग गर्ने हो । हामी किनिने होइन । हामीले देशको भविष्य निर्माणका निम्ति दशपटक सोचेर भोट दिनुपर्छ । जनताको चेतनास्तर पनि बढिरहेको छ । यो प्रणालीमाथि पनि देशव्यापी रुपमा छलफल सुरु भइसकेको छ ।

पैसा चाहिन्छ । तर, पैसामात्रै पनि होइन । एजेन्डा हो । जनतासँग उसको सम्बन्ध पनि हो । कस्तो भयो भने दुःख गरेको कार्यकर्ताले टिकट नपाउने, हेलिकोप्टर चढेर गएका डनहरुले, ठेकेदारहरुले टिकट पाउने त देखिरहनुभएको छ ! लाजमर्दो छ । अहिलेको सिफारिस हेर्नुस् त । त्यहीदेखि भ्रष्टाचार त सुरु भइहाल्यो नि ! इमानदार कार्यकर्ताले शीर ठाडो पारेर कसरी हिँड्नु के सडकमा ?

– भ्रष्टाचार भयो, चुनाव महँगो भयो पनि भनिरहनुभएको छ, यही निर्वाचनमै तपाईंहरु होमिइरहनुभएको छ । विरोधाभाष देखिँदैन ?

कता जाने त ? वनबास त जानुभएन । यही लडेर आफ्नो एजेन्डा स्थापित गरेर फेरि आउने होला नि ! जनयुद्ध त फेरि घोषणा गर्ने होइन होला ।

– यसपटकको चुनावमा तपाईंले प्रदेशतिर अलि चासो राख्नुभएको थियो रे ! प्रदेश गएर सरकार हाँक्ने तयारी पनि थियो रे ! तर, इन्द्रबहादुर आङ्बो पनि त्यही दौडमा भएपछि तपाईं ब्याक भएर संघतिर जानुभयो रे ! यो हल्ला कति सत्य हो ?

देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याइयो । तर, सुविधा चाहिँ हल्ला गर्नेमात्रै दिइयो । लोकतन्त्रमा त खान-लाउनको ग्यारेन्टी होस् । स्वास्थ्य र शिक्षाको ग्यारेन्टी होस् भनेर हामी लडेको हो । तर, यहाँ जे पनि हल्लामात्रै हुन्छ । अहिलेको मितिसम्म यो पद मलाई हुनुपर्छ भनेर कहिल्यै पदको पछि हिँडेको छैन । तर, इतिहास र परिस्थितिले आइपरेको जिम्मेवारी सम्हाल्दै हिँड्ने हो । मेरो जिम्मेवारी त भेल जस्तै, पानीजस्तै छ । जता बगाउँछ, त्यतै बग्ने हो ।

– त्यस हिसाबले प्रदेशतिर पनि बग्ने तरखर चाहिँ गर्नुभएको हो ?

प्रदेश ध्वस्त बनाइसकेको छ । क्रोनिक बनाएको छ । राजधानी लुम्बिनीबाट बुटवल सार्न मिल्ने । हाम्रा इटहरी सार्न नमिल्ने ? इटहरीमा प्रदेशको मुख्य कार्यालय राखेर आठ लेनको बाटो बनिरहेको धरान, चतरामा मन्त्रालयहरु विकास गरेको भए आगामी ३० वर्षपछि हाम्रो पूर्वको सहर कस्तो हुन्थ्यो होला ! चतरामा दुईचार वटा मन्त्रालय राख्न सकेको भए भोजपुर, खोटाङ, सोलुखुम्बुको जीवन पानीको बाटो भएर, किनारै किनारको बाटो भएर कसरी पालुवा हाल्थ्यो होला ! दीर्घकालीन सोच नै भएन ।

तेह्रथुममा गुराँसको राजधानी भन्छ । गृष्मकालीन राजधानी र वसन्तकालीन राजधानी बनाएको भए कस्तो राम्रो हुन्थ्यो होला ! अहिलेलाई ठूलो काम गर्नै पर्दैन, सोचको कुरा न हो । माथि तेह्रथुमको गुराँसको राजधानीमा चारकोठे घर बनाएर हाम्रो राजधानी यो पनि हो, वसन्त ऋतुमा यहाँबाट प्रशासन चल्छ भनेको भए । एउटा सुब्बालाई त्यहाँ राखेको भए । सारा फाइल त्यहाँ जम्मा गरेर एउटा मोटरसाइकलमा तल झारेर जनताको फाइल माथि नै पुर्‍याइदिएको भए । काम त सुरु हुन्थ्यो नि ! सोच त छैन । अहिलेलाई के हुन्छ, के प्राप्त गर्छौं भन्नेमात्रै प्रतिस्पर्धा चलेपछि के काम हुन्छ र !

– शेरधन राईले तीन वर्ष वरिपरि प्रदेश सरकार चलाए । तर, नामांकन गर्न सकेनन् । प्रदेशको नामांकनको विषयलाई कसरी हेरिरहनुभएको छ ?

बृहत छलफलद्वारा नै यो समाधान हुनुपर्छ । कसैको मुडको भरमा हुँदैन । सबैको आत्मसम्मान हुने गरी नै नामकरण गर्दा नै सहज ढंगले अगाडि बढ्छ । ठूलो छलफल, गोलमेच सम्मेलन गरेर जाँदा नै सल्टिन सक्छ ।

– कतिपयले किराँत लिम्बूवान भनिरहेका छन् । कतिपयले लिम्बूवान, किराँत छुट्टाछुट्टै भनिरहेका छन् नि ?

एउटा सम्मेलन गरेर जाऔं न । प्रदेशले बजेट छुट्याउन सक्छ । ठूल्ठूला बुद्धि भएका मान्छेलाई हायर गरौं, उनीहरुलाई सुनौं । आफैंमात्रै जान्ने भए के हुन्छ ? अर्को कुरा, लिडरसिप भनेको त आवश्यक पर्दा पदको जुवा हान्न सक्नुपर्छ । खाली माथि मालिकले के भन्छ, मालिकको अघि आएर षास्टांग दण्डवत गरेपछि तिनको मात्रै इच्छा पालना गर्नुपर्छ भन्ने दास मनोविज्ञान जब जन्मिन्छ, माखो मर्नेवाला छैन ।

– प्रदेश नामांकनको विषयमा लिम्बूहरु आन्दोलित छन् । किराँत अथवा राईहरु आन्दोलित छन् । अन्य भाषिक, सांस्कृतिक समुदाय पनि छन् । सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिएको स्थिति छ । यो त कम्तीमा पनि राई, लिम्बू समुदायबाट आएका राजनीतिक नेतृत्वको लाचारीपन न हो । सही तवरले व्यवस्थापन गरेको खण्डमा समाधान हुन्थ्यो होला नि ?

हो, परनिर्भर विचारका मान्छेहरुले नेतृत्व पाए । मालिकले इशारा गरेको भरमा आफ्नो कदम सार्नेहरु परे । यदि आफ्नो निर्णय लिन्छु, आवश्यक पर्दा मेरो पद प्रदेशको निम्ति जुवा हान्न सक्छु भन्ने मान्छे गएको भए हुन्थ्यो होला । सायद, सकिन्थ्यो पनि, जनताले मान्थे पनि । अनि जनतालाई शंकामात्रै हुने काम गरेपछि कहाँ हुन्छ त ? नेता भनेको त पारदर्शी हुनुप¥यो त ! जहिले इच्छाशक्ति भएको नेतृत्व आउँछ, उसले काम गर्ला !

– यदि शेरधन राईले चाहेको भए कस्तो परिस्थितिमा उहाँकै सरकार हुँदा नामाकंन टुंगिने थियो ?

उहाँले इतिहासदेखि अहिलेसम्मको जनताको मनोविज्ञानको सही विश्लेषण गरेर आफ्नो खुट्टा दह्रो उभिनुभएको भए सक्नुहुन्थ्यो । उहाँको खुट्टा परालको जस्तो रहेछ । पराश्रित भएपछि निर्णय गर्न नसक्नु भएको हो कि लाग्छ । प्रदेश नम्बर एक चाहिँ काठमाडौंमा कतै बस्ने शक्ति केन्द्रको कोटरी जस्तोमात्रै भयो, उपनिवेश जस्तै भयो ।

– नयाँ प्रदेश सरकार गठन हुँदा पनि त्यस्तो परिवर्तन देखिँदैन नि ?

फेरि त्यस्तो नहोस् । देश, काल र परिस्थितिअनुसार आँट गर्न सक्ने मान्छे नै त्यो कुर्सीमा हुनुपर्छ । कुर्सी भनेको जागिर खानका लागि होइन ।

– तपाईंहरुले एमालेसँग मिलेर नेकपाको नाममा तमाम क्रान्तिलाई समाहित गर्नुभएको स्थिति थियो । फेरि आ-आफ्नो बाटो लाग्नुभयो । तर पनि रामबहादुर थापा बादललगायत पार्टीका नेताहरु त्यतै छुट्नुभयो । यसले पार्टीमा क्षति गर्ला चुनावमा ?

कार्यकर्ता, जनताले छ्याङछ्याङ्ती देखिरहेका छन् । त्यो घोर अवसरवादको पराकाष्ठा हो । अब हिजो नेपाली क्रान्तिमा जनताका छोराछोरीलाई होम्नको निम्ति हजारौंको बलिदान भएको छ । त्यो त राक्षसी आत्मा हो । बरु विश्राम गरेर बस्न सक्छन् अब सक्दिनँ भनेर । तर, जसरी मन्त्री पदको लोभमा एकाएक हामीले हाम्रो मनमुटुभित्र ठडाएको धरोहर ढल्नुको कारण सबै कार्यकर्ता र जनताले बुझेका छन् ।

– त्यसको पछाडिको कारण चाहिँ तीन, साढे तीन दशकदेखि पार्टी अध्यक्ष प्रचण्डले एक्लै पार्टी चलाउनु, एकल रुपमा निर्णयहरु लागु गराउनु कारक हो भन्छन् नि ? प्रचण्डले एकल रुपमा पार्टी चलाउन खोज्नुको परिणति नेकपा विभाजनमा पनि देखियो भन्छन् नि ?

अर्को विकल्प दिनसक्ने मान्छे आउनुपर्‍यो नि त ! विचारमा विकल्प दिनसक्ने मान्छे आए त प्रचण्डले पनि छोड्नुहुन्थ्यो होला । मोहन वैद्यको विकल्पमा गएको यतिवेला युद्धमात्रै भन्थ्यो । युद्ध आवश्यकता हो त ? यतिखेर पनि कुनै हालतमा विश्राम गर्नु हुँदैन, राज्यसत्ता सिज गर्नुपर्छ भन्ने बाटो न हो उहाँको । त्यो बाटो गएर हुन्छ त ?

बाबुराम संयोगवश यता आउँदै हुनुहुन्छ । उहाँ एक्लै आउँदै हुनुहुन्न, ज्ञान पनि आउँदैछ । उहाँ त्यसै पनि ज्ञानको खानी हुनुहुन्छ । तर, धेरैवटा प्रयोगशालामा गएर थप ज्ञान लिएर आउँदै हुनुहुन्छ । उहाँले भन्नुभयो, मार्क्सवाद र पूँजीवाद काम लाग्दैन । नयाँ दर्शन निर्माण नयाँ शक्तिले गर्छ भनेर जानुभयो, त्यो पनि पार लागेन । त्यसैले हामीभित्र भएका विसंगतिलाई यहाँ बसेर त्यसलाई रिफाइन गर्नुपर्‍यो । बाहिर गएर, सरापेर इतिहास, जनता र सहिदलाई धोका दिएर जे काम भएको छ, त्यो समस्या हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर