आम चुनाव : टिकटको दौडमा यी उद्योगी-व्यवसायी – Nepal Press

आम चुनाव : टिकटको दौडमा यी उद्योगी-व्यवसायी

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन ६१ दिन बाँकी छ । चुनावको काउनडाउन सुरू हुँदै गर्दा राजनीतिक दलमा टिकटका लागि आकांक्षीहरू पनि त्यत्तिकै बढेका छन् । विभिन्न क्षेत्रका व्यक्तित्वहरू टिकका लागि आतुर देखिन्छन् । यसैक्रममा ठूला दल एमाले, कांग्रेस, माओ‌वादीमा टिकटका लागि व्यवसायीको दौडधुप पनि त्यत्तिकै छ ।

एमाले र कांग्रेसमा तुलनात्मक रूपमा केही बढी आकांक्षी देखिएकोमा माओवादीबाट अहिले चर्चामा छैनन् । मधेसी दलबाट शून्य प्राय छ ।

एमालेबाट दुगडदेखि दुर्गा प्रसाईँसम्म

एमालेबाट उम्मेदवारको दौडमा मोतीलाल दुगडदेखि दुर्गा प्रसाईँसम्म चुनावी दौडमा रहेका छन् । नेकपाकालीन सरकारमा दुगड उद्योग राज्यमन्त्री बनेका थिए । उनी पार्टीको उद्योग विभाग प्रमुख समेत हुन् । आकांक्षी रहेको बताउँदै उनले जहाँबाट टिकट पाए पनि लड्न तयार रहेको बताए ।

त्यस्तै, एमाले उद्योग विभागकै उपप्रमुख दुर्गा प्रसाईँ पनि निर्वाचनको तयारीमा लागिसकेका छन् । झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष लड्ने तयारीमा रहेका प्रसाईँ मेडिकल व्यवसायी हुन् ।

अल्फाबिटाका सञ्चालक द्विराज शिवाकोटी पनि काठमाडौं- १ बाट आकांक्षी देखिएका छन् । यस क्षेत्रबाट उनीसहित ४ जनाको नाम सिफारिस भएको छ ।

एमालेबाट अर्का व्यवसायी लालप्रसाद साँवा लिम्बू झापा-४ बाट सिफारिसमा परेका छन् । २०७४ को उनले कांग्रेसका देउकुमार थेवेलाई झण्डै दोब्बर मतले जितेका थिए । लालप्रसाद मेनपावर र जलविद्युत् व्यवसायी हुन् ।

अर्बपति विनोद चौधरी पनि दाबेदार

कांग्रेसबाट पनि उम्मेदवारका लागि व्यवसाय पृष्ठभूमिका आधा दर्जन उम्मेदवार बन्ने चर्चा छ । यीमध्ये अर्बपति विनोद चौधरी नवलपुर-२ बाट लड्ने तयारीमा छन् । पाँचदलीय गठबन्धनमा उद्योग मन्त्री बन्ने चर्चा चलेपनि पार्टीभित्रै विरोध भयो । ७४ यता चौधरी समानुपातिक सांसद हुन् ।

२०६४ मा एमालेबाट समानुपातिकमा संविधानसभा सदस्य भएका चौधरी पछि कांग्रेसमा आएका हुन् । उनले यो पटक प्रत्यक्ष लड्ने घोषणा गरिसकेका छन् ।

यसभन्दा अघिको निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग पराजित मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मा पनि मोरङ ३ बाट उठ्ने चर्चामा छन् ।उनको नाम मोरङ ३ बाट एकल सिफारिस भएकाले कांग्रेसबाट टिकट पाउने लगभग निश्चित छ ।

राज्यमन्त्री उमेश श्रेष्ठ पनि आमामी निर्वाचनमा प्रत्यक्ष उठ्ने भएका छन् । चितवन-१ बाट लड्ने तयारीमा रहेका श्रेष्ठको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी छ ।

निर्माण व्यवसायी बहादुरसिंह, जिपछिरिङ लामा पनि टिकटका लागि दौडधुप गरिरहेका छन् ।

वागमती प्रदेशको मुख्यमन्त्रीको आकांक्षासहित इन्द्र बानियाँ मकवानपुर-२ ‘ख’ बाट प्रत्यक्ष लड्ने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर