ठगीका नयाँ-नयाँ आइडिया, आर्थिक लेनदेनमा कानूनी झमेला – Nepal Press

ठगीका नयाँ-नयाँ आइडिया, आर्थिक लेनदेनमा कानूनी झमेला

रुपन्देही । पश्चिम नवलपरासी र दाङका दुई जना व्यक्ति आफ्नै लगानीको रकम उठाउन खोज्दा मुद्दाको झमेलामा परेका छन् । लामो समयदेखि परिचित कम्पनी र व्यक्तिको विश्वासमा पर्दा आफूले लिनुपर्ने रकमको बलियो प्रमाण भए पनि अनावश्यक मुद्दाको झमेलामा परेको उनीहरुको गुनासो छ । उनीहरुले परिचित कम्पनी र व्यक्तिले ठगीका नयाँ आइडिया निकालेर आफूहरुलाई दुःख दिएको बताएका छन् । पश्चिम नवलपरासी र दाङका यी दुवै व्यक्ति अलग अलग क्षेत्रका उदाहरण हुन् ।

पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत बैशाख ३ मा लुप नेटवर्क लि.लाई पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका २ हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । तर, कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपूर्ति मुद्दाको झमेला खेप्नुपरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क लि.ले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई २ करोड ५० लाख रुपैयाँमा २०७९ बैशाख ३ मा खरिद गरेको थियो ।

खरिद सम्झौताअनुसार पहिलो किस्तावापत ७० लाख रुपैयाँ साउन १५ गते तिर्नुपर्ने थियो । लुप नेटवर्कले साउन १५ मा ७५ लाख, भदौ १५ मा २५ लाख, असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता भएको थियो ।

लुप नेटवर्कले सिटिजन्स बैंक इन्टरनेसनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पूर्वसञ्चालक प्रियव्रत श्रेष्ठलाई दियो । तर, खातामा रकम नभएपछि उक्त चेक साउन २९, ३१ र भदौ २ गते तीनपटक सम्म साटिएन । यसबीचमा श्रेष्ठले आफूलाई रकम अत्यावश्यक भएकाले खातामा रकम जम्मा गर्न आग्रह गरे । यही विषयमा दुई पक्षबीच विवाद पनि भयो । भदौ ६ गते दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौताअनुसार रकम भुक्तानी गर्ने सहमति भयो ।

तर, लुप नेटवर्कले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पुर्‍याएको भन्दै जिल्ला अदालतमा क्षतिपूर्तिको मुद्दा दर्ता गर्‍यो । प्रशासनमा मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठले लुप नेटवर्कका सञ्चालकले रकम नतिर्न आफूविरुद्ध योजनाबद्ध षड्यन्त्र गरेपछि भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुपविरुद्ध चेक अनादरको उजुरी दिएको बताउँछन् ।

चेक अनादरको उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख र डीएसपीले बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म आलटाल र बहानाबाजी गरेको श्रेष्ठको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि साँझ साढे ६ बजेमात्रै आफ्नो उजुरी दर्ता भएको उनले जानकारी दिए ।

‘कारोबारको ऋण तिर्न १७ वर्ष मेहनत गरेर राम्रोसँग चलेको कम्पनी बेचेको थिएँ । पैसा पाउने बेलामा घरको न घाटको भएर उल्टो क्षतिपूर्तिको मुद्दा खेप्नुपर्‍यो’, पत्रकार सम्मेलन गरेर श्रेष्ठले भने, ‘मलाई पीडामाथि पीडा र अन्याय भयो । प्रहरी प्रशासनको अनुसन्धानमा पनि शंका छ ।’

राष्ट्रिय अनुसन्धान विभागले लुप नेटवर्कको सुनवलस्थित कार्यालयको सीसीटीभी फुटेज हेर्दा सादा पोशाकमा गएका सई महेन्द्रराज काफ्लेले कम्पनीका कर्मचारी राजन कोइरालाबाट रकम लिएको देखिएकाले प्रहरी अनुसन्धानमाथि आशंका भएको श्रेष्ठले बताए । ‘प्रहरीले चेक बाउन्स मुद्दाको प्रतिवादीबाट रकम बुझेको सीसीटीभी फुटेज प्रमाण छ’, श्रेष्ठले भने, ‘यो घटनाको उच्चस्तरीय छानबिन गरी पीडितलाई छिटो न्याय दिनुपर्छ ।’

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्धको मुद्दामा पनि गुप्तासँग प्रहरीको मिलेमतो विषय सार्वजनिक भएकाले यो घटनामा पनि अनुसन्धान प्रभावित हुने डर रहेको श्रेष्ठले बताए ।

अग्नि सिमेन्ट, चामल र दाललगायतका उद्योगहरु चलाउँदै आएको एआरसीआईए (आर्सिआ) समूहअन्तर्गतको लुप नेटवर्कविरुद्ध ब्रोडलिंक कम्युनिकेसनले ९३ लाख र पश्चिम नवलपरासीकै शेरबहादुर गुप्ताले ४० लाख रुपैयाँ ठगेको भन्दै सम्बन्धित निकायमा मुद्दा दायर गरेका छन् ।

लुप नेटवर्कका सञ्चालक सतिश पोखरेलले श्रेष्ठले खरिद सम्झौताको आचारसंहिताविपरीत क्रियाकलाप गरेको र कम्पनीलाई हानी नोक्सानी हुने काम गरेकाले क्षतिपूर्तिको मुद्दा दिएको प्रतिक्रिया दिए । श्रेष्ठलाई लुप नेटवर्कमा २५ लाख रुपैयाँको शेयर पनि दिएकाले आफूहरु नै मर्कामा परेको पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी भोजराज पाण्डेले लुप नेटवर्कविरुद्ध चेक अनादर मुद्दामा अनुसन्धान जारी रहेको बताए । ‘बैंकसँग डिटेल मागिरहेका छौं । सबै विवरण आएपछि मात्रै सत्यतथ्य थाहा हुन्छ’, पाण्डेले भने ।

आफ्नै रकम माग्दा उल्टो संकट

दाङ जिल्लाको राप्ती गाउँपालिका- २ का सुर्जेबहादुर गुरुङले पटक-पटक गरेर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ८ विसनपुरका अहमद अब्दुल रउफलाई दिएको १४ लाख २५ हजार रुपैयाँ नपाएको भन्दै न्यायको अपील गरेका छन् । उनले रउफलाई दिएको रकमबाट १४ लाख २५ हजार रुपैयाँको चेक पाए पनि चेकमा रकम नभएको भन्दै कृषि विकास बैंको खाताको रकम कर्णाली विकास बैंकले बाउन्ससमेत गरेको छ ।

पीडित गुरुङले रउफलाई रकम दिए पनि उनले रकम नभएको चेक दिएको कारण अदालती प्रक्रियामा समेत ढिलाइ भएको भन्दै न्यायको लागि माग गरेका हुन् ।

लिएको रकम पटक-पटक गरी दिने भन्दै रउफले मौखिक सहमति गरे पनि रकम नदिएपछि गुरुङ अदालती प्रक्रियामा गएका थिए । कृषि विकास बैंंकले उनको खाता कालोसूचीमा समेत राखेको छ ।

यता कर्णाली विकास बैंकका शाखा प्रबन्धक गोपाल रोकाले बैंकमा रकम नभएपछि पटक-पटक रकम जम्मा गर्ने समय माग गरेर उपलब्ध गराइएको तर रकम पूरा नभएपछि चेक बाउन्सको प्रक्रियामा अगाडि बढेको बताए । उनले अहिले मुद्दा सरकारी वकिल कार्यालयमार्फत अदालतमा रहेको जानकारी दिए ।

यता चेक बाउन्स भएका रउफले पैसा लिएको र रकम नभएको कारण अदालतमा मुद्दा चलेको बताए । उनले गुरुङसँग लिएको रकम आफ्नो लागि नभई अरु कसैका लागि लिएको र उताबाट धोका भएपछि समय लागेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *