भारतीय बजार जाने उपभोक्ता रोक्न सस्तो बजार – Nepal Press

भारतीय बजार जाने उपभोक्ता रोक्न सस्तो बजार

रुपन्देही । सीमा पारी रहेको भारतीय बजारमा नेपाली उपभोक्ताको बढ्दो भीड रोक्नका लागि यहाँका व्यवसायिक संस्थाले सक्रियता बढाउन थालेका छन् । अन्य समयमा भन्दा चाडपर्वमा उपभोक्ता भारतीय बजारमा बढी जान थालेपछि संस्थागतरुपमै सिद्धार्थनगर उद्योग बाणिज्य संघ रुपन्देहीले यस्तो अभियान थालेको हो ।

भारतीय बजारमा भन्दा यहाँको बजारमा अधिकांश वस्तु गुणस्तरका हुने र मूल्य पनि धेरै फरक नपर्ने भएपनि उपभोक्ताको सचेतना नभएका कारण सीमा क्षेत्रका नेपाली बजारभन्दा भारतीय बजारमा भीड लाग्ने गरेको व्यवसायीको तर्क छ ।

उपभोक्ताले थोरै वस्तु भन्सार नतिरी ल्याउँदा केही चल्तीका वस्तुमा मूल्य कम परेपनि अधिकांश वस्तुमा मूल्य फरक नपर्ने तर खुला सिमाना, उपभोक्ताको सचेतनाको कमी र सरकारी निकायको कमजोरीका कारण नेपाली उपभोक्ता भारतीय बजारमा भीड लागेको गुनासो यहाँका व्यवसायीको छ ।

यही विषयलाई ध्यान दिएर उद्योग वाणिज्य संघले भैरहवामा सस्तो बजार संचालनको तयारी गरेको छ । असोज ११ गतेदेखि १४ गतेसम्म चल्ने यो बजारले उपभोक्तालाई धेरै विषयमा जानकारी दिने अध्यक्ष भीष्म न्यौपानेले बताए ।

चाडपर्वहरुमा आमउपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले सस्तो बजारको योजना अघि सारिएको उनले बताए । स्वदेशी तथा गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई सचेतना गराउने र खुला सिमानाका कारण आएका यस्ता समस्याबारे अन्य संस्थाहरुको पनि समन्वय आवश्यक रहेको उनले बताए ।

विभिन्न उद्योगी, व्यावसायीसंगको सहकार्यमा उपभोक्ताहरुलाई सर्वसुलभ रुपमा एकैथलोबाट सहज तरिकाले दैनिक उपभोग्य वस्तुहरु विक्री वितरण गरिने कार्यक्रम संयोजक अर्जुन कार्कीले बताए । यसले नेपाली बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरुको प्रचार प्रसार हुने र उपभोक्ताले सहजरुपमा उपभोग्य वस्तुहरु खरिद गर्न पाउने कार्कीको भनाइ छ ।

‘भारतीय सिमावर्ती बजारसंँगै सटेको भैरहवा छ, त्यसैले चुनौती छ, उपभोक्ताहरुको लर्को चाडपर्वका समयमा चौगुना बढी हुन्छ, चाडपर्वमा प्रयोग हुने खाद्यान्नलगायतका कपडा, जुत्ता,चप्पल, उपहारका सामान स्वदेशकै र त्यो पनि स्थानीय उपभोग हाम्रा उपभोक्ताले गरुन् भन्ने हाम्रो अभियान हो’ व्यवसायी ठाकुरकुमार श्रेष्ठले भने ।

‘चाडपर्वमा स्वदेशी बजार सुनसान र सिमावर्ती भारतीय बजार गुलजार हुने गरेको पाइन्छ, त्यसैले उपभोक्ताहरु सचेत हुनुपर्छ सस्तोको नाममा गुणस्तरहीन सामान ल्याएको र पछि मात्र जानकारी पाएको अवस्था छ’– श्रेष्ठले भने । गुणस्तरीय सामान स्वदेशमै त्यो पनि एमआरपिमै पाइन्छ भने किन पारी जानु पर्दछ र एकाध सामान सस्तो होला तर सबै सस्तो हँुदैन, त्यो सन्देश दिन आवश्यक छ।’ व्यवसायी नेत्रप्रसाद आचार्यले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *